|

बागलुङ : कोरोना महामारीका कारण अध्ययन-अध्यापन प्रभावित भएपछि बागलुङका पालिकाहरूले आ-आफ्नै तरिकाले वैकल्पिक सिकाई शुरू गरेका छन्‌। 

इन्टरनेट असुविधाका कारण अनलाइन कक्षा चलाउन पनि नसकेपछि विद्यालयहरूले टोल शिक्षा, घुम्ती विद्यालय र आंशिक कक्षा सञ्चालनमा ल्याएका हुन्‌। अभिभावक र स्थानीय सरकारसँगको समन्वयमा विद्यालयहरूले सिकाइका लागि उपयुक्त विधिहरूको प्रयोग गरिरहेका छन्।

गलकोट नगरपालिका-८ को शिव माध्यमिक विद्यालयले ११ वटा टोलमा वैकल्पिक शिक्षा अभियान नै चलाएको छ। विद्यालयले बालबालिकाको चाप घटाउन ११ टोल छानेको थियो। स्कुलसम्म आउजाउ गर्न लामो बाटो हिँड्नुपर्ने विद्यार्थीलाई घरनजिकै कक्षा चलेपछि सहज भएको छ।

विद्यालयका प्रधानाध्यापक हरि चालिसेले शिक्षक र व्यवस्थापन समितिमा आफूले योजना सुनाएपछि सहमति जुटेको र गत असारबाटै यी विधिमार्फत धमाधम पढाउन थालिएको जानकारी दिए।

बडिगाड गाउँपालिका-१ को त्रिभूवन माध्यमिक विद्यालयले पनि असारदेखि नै टोल शिक्षा चलाउँदै आएको छ। गाउँपालिका सिल भएको बेलाबाहेक कक्षा चलिरहेको प्रअ ढालमणि भण्डारीले बताए।

‘शैक्षिकशत्र खेर जान नदिनका लागि यो विधि ल्याइएको हो,’ उनले भने, ‘परीक्षा पनि लिन भनिएको रहेछ, हामीले आन्तरिक रुपमा पनि तयारी गरेका थियौं।’ पालिकाका अन्य विद्यालयमा भने अझै अन्यौल रहेको उनले जानकारी दिए। जिल्लाका अधिकांश विद्यालयहरूमा महामारीका बेला कसरी विद्यार्थीलाई पढाउने भन्नबारे अन्योलकै स्थिति कायम छ।

शिक्षा मन्त्रालयले असोज १ देखि लागू हुने गरी सिकाइ सहजीकरण निर्देशिका जारी गरेको छ। उक्त निर्देशिकामा ती विद्यालयले झै कक्षा चलाउन भनिएको छ। सोहीअनुसार परीक्षासमेत लिने व्यवस्था गरेकोले अब सबै विद्यालयलाई अनिवार्य टोल शिक्षा संचालन गर्ने बाध्यता भएको छ। 

जैमिनी नगरपालिकाले हरेक टोलमा रहेका प्राथमिक विद्यालय भवनमा सबै बालबालिका जम्मा पारेर पढाउने व्यवस्थापन गर्ने भनेको छ। सोहीअनुसार तयारी थालिएको विद्यालयका शिक्षकहरूले जानकारी दिएका छन्‌।

ढोरपाटन नगरपालिकामा पढाइका सूचक पुरा गर्न कठिन भएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए। 'बुर्तीवाङ बजारमा सहज वातावरण छ, तर ग्रामीण क्षेत्रमा असाध्यै समस्या छ,’ उनले भने, ‘विद्यालय नियमित चलेकै समयमा पनि पढाइको गुणस्तर बढाउन नसकेका स्थानमा अनलाइन र रेडियोको कक्षा चलाउन सकिएको छैन।’ 

बरेङमा निर्देशिका अनुसारको काम गर्ने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए। ‘हामीले विद्यालय खोलेर पढाएका थियौं, यो निर्देशिकाले विद्यालय बन्द गर्नुपर्ने भयो,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.