‘व्यापार छैन, कोठाभाडा तिर्नै गाह्रो’

|

काठमाडौं : लकडाउन अघिसम्म रामजी पत्थरकारले बनाएका सिलौटा किन्न र हेर्न ग्राहकको घुइँचो लाग्थ्यो। छिनो र ढुंगा खेलाउँदै जीवन निखारिरहेका रामजी ग्राहकले सिलौटो किन्दा निकै खुशी हुन्थे। 

तर, अहिले उनको अनुहारमा त्यति धेरै उज्यालो छैन। तर, पनि घन र छिनो समाउन छोडेका छैनन्। बुटवल घर भई चावहिलमा बस्दै रामजी बिहानै चावहिल चोकमा आउँछन्‌, ढुंगामा घन र छिनोको कौशल देखाउँछन्‌।

कहिले दिनको एउटा सिलौटा बनाइसक्दा पनि एक जना पनि ग्राहक बुझ्न आउँदैनन्। फेरी ती सबै सिलौटा बोकेर डेरामा लान्छन्‌। ​ ती गह्रुँगा ढुंगा र सामान बोकेर अर्को दिन बिहानै फेरि चोकमै आइपुग्छन्‌। सडक किनारमा श्रम गरेर खाने लाखौं मानिसहरूलाई झैं उनलाई पनि कोरोनाले पिरोलेको छ।

‘कोरोनाका कारण अहिले ग्राहक आउने गरेका छैनन्‌, व्यापार पनि छैन, यो पापी पेट पाल्नै गाह्रो भैसक्यो,’ रामजी भन्छन्‌, 'व्यापार नभएकै कारण सात महिनादेखि कोठाभाडा तिर्न सकेको छैन, अब कहाँबाट पैसा ल्याएर तिर्ने? चिन्तामा छु।’

उनको रोजीरोटी भनेकै सिलौटाहरु हुन्‌। तर, कोभिड १९–का कारण व्यापार चौपट बनाइदिएको छ। पहिले परिवार पालेर पनि महिनामा १० हजार रुपैयाँसम्म बचत गर्थे उनी। तर, अहिले दिनको सय रुपैयाँ पनि जोगाउन सकिरहेका छैनन्।

सिलौटो बनाउने बाहेक रामजीसँग अन्य सीप खासै छैन। त्यसैले यो काम छाड्दा उनलाई झनै मुस्किल पर्नेवाला छ। 

उनले बनाएका सिलौटाको मूल्य चार सय रुपैयाँबाट शुरू हुन्छ। सिलौटा बनाउन त्यति सजिलो छैन।हातमा चोटैचोट पारेरै भएपनि ढुंगा कुँदिरहन्छन्‌। ‘आमाबुबा पहिलेदेखि नै यही पेशामा हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यसैले मैले पनि यही पेशा लिएँ, तर अहिले लकडाउनले गर्दा परिवार पाल्नै गाह्रो भएको छ।’

यतिखेर ढुंगा जम्मा गर्न पनि सकस छ। पहिला भारतबाट ढुंगा ल्याउने गरेका थिए। तर, अहिले नाका बन्द भएका कारण ल्याउन सकेका छैनन्। अहिले बुटवलबाट ल्याउने गरेका छन्‌। तर, यो संकटको बेला त्यहाँबाट पनि ल्याउन उनलाई सकस छ। 

नगरपालिकाको डर

उनले बनाएका धेरै सिलौटा काठमाडौं महानगरपालिकाले जफत गरेर लगिसकेको छ। त्यसो त उनी नगरपालिकाबाट त्रसित छन्‌। कहिँकतै गाडीको हर्न र सिटी बजेको बेला पनि उनी झस्किन्छन्‌। उठेर यताउती पनि हेर्ने गर्छन्‌। उनले भने, ‘यहाँ त खाली ठाउँ भएकाले बसेको हुँ। तर, नगरपालिकाले सबै समान उठाएर लैजान्र्छ। फिर्ता नै दिँदैन। मैले सडकमा कुनै अवरोध त गरेको छैन, तर यहाँ राख्न दिँदैनन्‌, सडककै निर्भर हामीजस्ता मानिसलाई निकै मुस्किल हुने गरेको छ।’  

सिलौटा व्यापार नभएपनि दशैँ नजिकिँदै छ। आउँदै गरेका चाडबाडले उनलाई अर्को चिन्ता थपिदिएको छ। ‘दशैँ आइसक्यो!’ निकै आत्तिएजस्ता देखिने उनले भने, ‘छोराछोरी नयाँ लुगा लगाउनुपर्छ भन्छन्‌। ​दशैँ कसरी टार्ने हो? कसरी छोराछोरीको इच्छालाई पूरा गरिदिनुपर्ने हो, थाहा छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.