|

धादिङ : धादिङ अस्पताल धादिङले ६ दिनअघि बन्द गरेको ओपिडी सेवा सोमबार देखि खुलाएको छ। अस्पतालको ओपिडी शाखामा कार्यरत एक चिकित्सकलाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालले असोज ७ गतेबाट ओपिडी शाखाको सेवाहरु बन्द गरेको थियो। 

कोरोना संक्रमित देखिएका स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका ३५ जना अन्य स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि सोमबारदेखि अस्पतालका सेवाहरु सञ्चालन गरिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए। 

धादिङमा आइतबार २ वर्षीय एक बालकमा कोरोना संक्रमण देखिएको छ। धादिङको गल्छी गाउँपालिका वडा नं ७ का २ वर्षीय बालकमा कोरोना पुष्टि भएको गल्छी गाउँपालिका स्वास्थ्य शाखाका उपप्रमुख शिव पौडेलले बताए। जिल्लामा संक्रमितको संख्या ४ सय १३ पुगेको छ।

धादिङको १३ वटै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन्। जसमा नीलकण्ठ नगरपालिकामा १ सय ८ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ७१  जना, गल्छी गाउँपालिकामा ६७ जना र ज्वालामुखी गाउँपालिकामा ४४ जना छन्।

यसैगरी धुनीबेसीमा २१ जना, थाक्रेमा २० जना, बेनिघाटरोराङमा १५ जना, सिद्धलेक र नेत्रावती डबजोङमा १३/१३ जना, गजुरीमा ११ जना, गंगाजमुनामा १२ जना, खनियाबासमा ४ जना, रुवीभ्यालीमा २ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ गरी ४ सय १३ जना रहेका स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले बताए।

संक्रमितको संख्या पछिल्ला दिनमा घट्दै गए पनि जोखिम भने कायमै रहेको हेल्थ असिष्टेन्ट रिजाल बताउँछन्। जम्मा संक्रमितमध्ये २ सय ६९ जनाको धादिङमा स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको र बाँकी १ सय ४४ जनाको भने जिल्लाबाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

धादिङमा कोरोना संक्रमणबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.