कैदैबन्दीमध्ये एक तिहाई बलात्कार घटनाका

|

कपिलवस्तु : जिल्ला कारागार कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्। ३५२ क्षमता रहेको कारागारमा ४१५ जना कैदीबन्दी राखिएको छ। 

क्षमताभन्दा बढी कैदैबन्दी हुँदा कोच्चिएर बस्नुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ। शौचालय जान पालो पर्खनुपर्ने बाध्यता रहेको छ। कारागारमा १८ वटा शौचालय छन्। कारागाको दुई ब्लकमध्ये पहिलोमा १८० र दोस्रोमा १७२ जना अट्ने क्षमता छ।

कारागारमा रहेकामध्ये ३१० जना कैदी र १०५ जना थुनुवा रहेको कारागारका जेलर राकेश पाण्डेले जानकारी दिए। तीमध्ये २३ कैदी भारतीय नागरिक हुन्। कारागारमा सबैभन्दा बढी बलात्कार घटनाका थुनुवा र कैदी रहेका छन्।

बलात्कार घटनाका १०४ कैदी र २५ जना थुनुवा रहेका छन्। उक्त संख्या कुल संख्याको करिब एक तिहाई हो। यसैगरी कर्तव्य ज्यान सम्बन्धी मुद्दाका ७३ कैदी र २१ जना थुनुवा तथा लागु औषधसम्बन्धी मुद्दामा ७२ जना कैदी र २६ जना थुनुवा र अन्य मुद्दाका ६१ कैदी र ३३ थुनुवा रहेका छन्। बलात्कारका चार, कर्तव्य ज्यानमा एक र लागु औषधका आठ कैदी र अन्य केसका १० कैदी भारतीय नागरिक रहेका छन्।

कोरोनाविरुद्ध सतर्कता

कारागारका स्वास्थ्यकर्मी लेखनाथ पौडेलका अनुसार कारागारभित्र कोरोना संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको छ। कारागारका कैदीबन्दीसँग परिवार र अन्यसँग भेटघाट बन्द गरिएको छ। नयाँ आउने कैदीबन्दीको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्र कारागारमा राख्ने गरिएको छ।

कार्यालयमा क्वारेन्टाईनको व्यवस्था गरिएको छ। कार्यालय प्रवेश गर्ने गर्दा तापक्रम जाँच गर्ने, स्यानिटाइजर लगाएर मात्र भित्र प्रवेश गर्न दिइएको छ। कारागारभित्र अहिलेसम्म कोरोना संक्रमिति फेला परेको छैन। १२ जना कर्मचारीको दरबन्दी रहेको कारागारमा अहिले नौजना मात्र कार्यरत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.