|

म्याग्दी : गत आर्थिक वर्ष २०७५/७६ मा म्याग्दीबाट ११ सय मेट्रिक टन आलु निर्यात गरेर ६ करोड रुपैयाँ भित्रिएको छ।

जिल्लाको कुल खेतीयोग्य ५ सय ९३ हेक्टरमा ३ हजार ८९५ टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए।

‘म्याग्दी आलुमा आत्मनिर्भर छ, आलुखेती गर्ने किसानको संख्या हरेक वर्ष थपिँदै गएको छ,’ पाण्डेले भने। वर्षेनी ६ करोड रुपैयाँबराबरको आलु जिल्लाबाट निर्यात हुने गरेको उनले बताए। उनका अनुसार जिल्लामा उत्पादन हुने गरेकोमध्ये ७० प्रतिशत आलु जिल्ला बाहिर खपत हुने गरेको छ।

म्याग्दीलाई आलु जोन बनाउन उपयुक्त रहेको अधिकृत पाण्डेको भनाई छ। जिल्लाको माथिल्लो क्षेत्रमा उत्पादन हुने आलु पोखरा र काठमाडौंसम्म बजार रहेकाले किसानले खेतबारीबाटै बिक्री गर्ने गरेका छन्। म्याग्दीमा प्रतिहेक्टर १२.७ टन आलु उत्पादन हुन्छ। हिमाली र माथिल्लो क्षेत्रमा लगाउने गरिएको बर्खे आलु पछिल्लो समय तल्लो क्षेत्रमा समेत लगाउन थालिएको छ। 

अनुकूल माटो भएको ठाउँमा राष्ट्रिय औषध उत्पादकत्व १३.५ टन प्रतिहेक्टर नै उत्पादन हुने गरेको केन्द्रले जनाएको छ। प्रतिकेजी ५० देखि १ सय रुपैयाँसम्म बिक्री हुन्छ। घरायसी र स्थानीय बजारमा विक्री हुने आलुको तथ्याङ्क कार्यालयमा उपलब्ध छैन्। आलु निर्यातबाट एउटै गाउँमा तीन करोड रुपैयाँसम्म भित्रिएको केन्द्रले जनाएको छ। 

जिल्लाको अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगंगा गापाको पाखापानी, मंगला गापाको हिँदी आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ। जिल्ला भित्रका सबै ६ वटै स्थानीय तहमा घरायसी बाहेक निर्यात गर्ने गरी आलु उत्पादन हुने गरेको छ। 

कृषि ज्ञान केन्द्रमार्फत म्याग्दीमा एउटा मात्रै ब्लक रहेको छ। पकेट क्षेत्रमा १० हेक्टर र ब्लकमा एक सय हेक्टरमा आलु खेती गर्नुपर्नेमा दुवै हुनुपर्ने भएकाले धेरै उत्पादन हुने अन्नपूर्णको शिख, हिस्तान र राम्चेलाई आलुको ब्लक बनाइएको छ भने स्थानीय तहले समेत पकेटक्षेत्र घोषणा गरेको छ।

चालु आर्थिक वर्षमा म्याग्दी र मुस्ताङमा आलु खेतीका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रतिहेक्टर जमिनमा ६० हजार रुपैयाँ अनुदान रहेको केन्द्रले जनाएको छ। यता यसवर्ष आलु उत्पादन बढ्ने अनुमान गरिएको हिँदीका लकबहादुर पुर्जाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.