उच्च रक्तचाप र मधुमेहका बिरामी उच्च जोखिममा

|

मानव शरीरमा मुटु सबैभन्दा महत्वपूर्ण अंग हो। मुटु स्वस्थ हुँदा मानव शरीरका अन्य अंगसमेत स्वस्थ्य हुन्छन्। मुटु बन्द भए मानवशरीरको स्वाभाविक मृत्यु हुन्छ। प्रदेश १ राजधानी विराटनगरमा अवस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा.राजीव श्रेष्ठ मुटु बचाउन आफ्नो दिनचर्यालाई ध्यान दिनुपर्ने बताउँछन्। मुटुलाई स्वस्थ राख्‍न गर्नुपर्ने के के गर्नुपर्छ? यी र यस्तै प्रश्‍नसहित विश्‍व मुटु दिवस (सेप्टेम्बर २९) को अवसर पारेर डा.श्रेष्ठसँग थाहाखबरकर्मी ध्रुव भट्टराईले गरेको संक्षिप्त कुराकानी :

मुटु स्वस्थ्य राख्‍न अपनाउनुपर्ने उपाय के-के हुन्?

मुटु स्वस्थ राख्‍न विभिन्‍न उपाय अपनाउनुपर्छ। मानवको दिनचर्याले यसलाई निकै असर पार्छ। हामीले आफ्नो दिनचर्यामा व्यायाम र अभ्यासलाई अनिवार्य समावेश गर्नुपर्छ। कम्तिमा दैनिक ३० मिनेट लम्किएर हिँड्नुपर्छ। अथवा सकिएन भने पनि कम्तीमा हप्तामा ५ दिन त ३० मिनेट लम्किएर हिँड्नुपर्ने हुन्छ। यसले गर्दा शरीरमा भएका सबै अंगहरूमा समान रूपमा रक्तसञ्चार हुन्छ।

यसो गर्दा कोषिकाहरु स्वस्थ हुन्छन्। कालान्तरमा गएर मुटुसम्बन्धी रोग लाग्‍ने सम्भावना नै कम हुन्छ। अर्को हामीले खानपिनमा एकदमै ध्यान दिनुपर्छ। चिल्लो बढी भएका खाना, रातो मासु, डिप फ्राई गरेका खाना, जंकफुड आदिमा नराम्रो कोलेस्टेरोलको मात्रा प्रचुर हुन्छ।​

चुरोटले हाम्रो मुटुको नसामा भएको भित्री पत्रलाई पातलो बनाइदिन्छ। यसले त्यो पत्र पातलो भएर फुट्ने सम्भावना बढी हुन्छ। जसको कारणले त्यहाँ गएर रगत जमेर हृदयाघात हुने हुन्छ। 

कुन उमेर समूहका मानिसहरु मुटुका समस्या देखिएका छन्?

पहिले पहिले ५० वर्षमाथिका मानिसहरुमा मुटुका समस्याहरु जस्तै, हृदयाघात, उच्च रक्तचाप देखिन्थे। तर, अहिले आएर ३०-३५ वर्षभन्दा मुनिका युवामा पनि मुटुका समस्याहरु देखिन थालेको छ। यसको कारण चाहिँ उच्च रक्तचाप, मधुमेह, हृदयाघात हो।

हामीले आफ्नो दिनचर्यामा व्यायाम र अभ्यासलाई अनिवार्य समावेश गर्नुपर्छ। कम्तिमा दैनिक ३० मिनेट लम्किएर हिँड्नुपर्छ। अथवा सकिएन भने पनि कम्तीमा हप्तामा ५ दिन त ३० मिनेट लम्किएर हिँड्नुपर्ने हुन्छ। यसले गर्दा शरीरमा भएका सबै अंगहरूमा समान रूपमा रक्तसञ्चार हुन्छ।

मद्यपान, धुम्रपानको अम्मली धेरै नै भए सानै उमेरमा पनि मुटुरोग लाग्नसक्छ। ३०/३५ वर्षमा पनि मानिसहरु हार्ट अट्याक भएर मर्ने गरेका छन्। कसैलाई ९० वर्षको हुँदासम्म पनि हार्ट अट्याक हुँदैन। खानपान ख्याल नगर्ने, धेरै हिँडडुल नगर्ने, शारीरिक अभ्यास हुने गतिविधि नगर्दा पनि मुटुमा समस्या देखिन सक्छ।

‘कार्डियाक एरेस्ट’ पछिल्लो समय बढिरहेको देखिन्छ। यसको मुख्य कारण के होला?

मुटु अचानक बन्द भएर बिरामीको मृत्यु हुने रोगलाई कार्डियाक एरेस्ट भनिन्छ। मुटुको चाल गडबड भएर, हार्ट अट्याक भएर, मुटु एकदम कम चलेर वा मुटु चल्न बन्द भएर कार्डियाक एरेस्ट हुन्छ। समग्रमा भन्दा मुटु बन्द भएपछि हुने मृत्युलाई कार्डियाक एरेस्ट भनिन्छ। अर्को भनेको कार्डियोमायोप्याथिको कारणले पनि हुन्छ जुन चाहिँ पहिचान नभएको हुन सक्छ। 

कार्डियाक एरेस्ट र हार्ट अट्याकमा के फरक छ?

सामान्यतया यी दुवै रोगलाई मानिसहरूले एकै जस्तो बुझे पनि दुवै फरक कुरा हुन्। हाम्रो मुटुमा एक विद्युतीय प्रणाली हुन्छ। यसले गर्दा मुटु चल्ने हुन्छ। त्यसमा गडबडी आयो भने मुटु अचानक छिटो चलेर एक्कासी बन्द हुनसक्छ। अथवा मुटु धेरै समयसम्म नचलेर वा बिस्तारै चल्ने हुँदा पनि हार्ट ब्लक हुन्छ। त्यस्तो बेलामा पनि कार्डियाक एरेस्ट हुनसक्छ।

​कार्डियाक एरेस्ट भइहाले तत्काल बचाउनका लागि के गर्न सकिन्छ?

आजभोलि सिपिआर (कार्डियो पल्मोनरी रिसक्सिटेसन) भनेको कृत्रिम रुपमा मुखले श्वास दिने, मुटुलाई थिचेर मुटुलगायत शरीरका अन्य अंगलाई चाहिने रक्तसञ्चार प्रवाह गराई शरीरका मुटुलगायत अन्य कोषहरुलाई काम गर्नबाट जोगाउने हो। समयमै यस यन्त्रको प्रयोगले मुटुको चालको विद्युतीय गडबडीलाई ‘सक’ दिएर सच्याउने काम गरी बिरामीको ज्यान बचाउन सकिन्छ। ​

सामान्यतया यी दुवै रोगलाई मानिसहरूले एकै जस्तो बुझे पनि दुवै फरक कुरा हुन्। हार्ट अट्याक भएर पनि कार्डियाक एरेस्ट हुनसक्छ। हार्ट अट्याक कार्डियाक एरेस्टको एउटा कारण बन्नसक्छ। तर, कार्डियाक एरेस्ट नै भने होइन। तर, समयमै यी यस्ता बिरामीहरुलाई क्याथ ल्याब भएको अस्पतालमा पुर्‍याए बचाउन सकिन्छ। 

अहिले कोरोना माहामारीको बेला मुटुरोगीहरू कतिको जोखिममा छन्?

विश्‍व नै आक्रान्त छ, अहिले कोरोनाले। र यो समयमा मुटु रोगीहरु प्रि-जोखिममै छन्। एक त उच्च रक्तचाप, मधुमेह साथै यी रोगहरूले समेत मुटु रोग हुने गर्छ। तसर्थ उनीहरु हाल जोखिममै छन्। 

उच्च रक्तचापसँग मुटुको कस्तो सम्बन्ध छ?

उच्च रक्तचापको मुटुसँग प्रत्यक्ष सम्बन्ध छ। यो एक किसिमको अर्लाम (पूर्वसङ्केत) हो। उच्च रक्तचाप हुनु भनेको अब चाहिँ तिम्रो शरीरको सिस्टमले राम्ररी काम गर्न छाडेको छ है, समयमै सजग हुनुपर्यो भनेर आफ्नै शरीरले चेतावनी र संकेत दिएको हो।

विश्‍व नै आक्रान्त छ, अहिले कोरोनाले। र यो समयमा मुटु रोगीहरु प्रि-जोखिममै छन्। एक त उच्च रक्तचाप, मधुमेह साथै यी रोगहरूले समेत मुटु रोग हुने गर्छ। तसर्थ उनीहरु हाल जोखिममै छन्। 

उच्च रक्तचापका बिरामीमा हार्ट अट्याक बढ्ने जोखिम बढ्छ। मुटु, किड्नी फेल हुनसक्छ। दिमागमा रगत जमेर पक्षघात हुनसक्छ। यसरी हेर्दा उच्च रक्तचापको खाली मुटुसँग मात्र हैन शरीरका सबै महत्वपूर्ण अंगसँग सम्बन्ध हुन्छ। उच्च रक्तचाप ढोकामात्र हो। त्यो ढोका खुले त्यहाँबाट विभिन्न रोगहरू शरीरमा सजिलै भित्र जान सक्छन्। सुरुमै त्यो ढोका बन्द गर्दिन सके ती जटिल प्रकृतिका रोगहरु शरीरसम्म पुग्ने बाटो नै बन्द हुन्छ।

मुटु रोग लागेको के–के संकेतहरुले थाहा पाउन सकिन्छ?

मुटु रोगमा मुटुको धमनी, रक्तनलीहरूमा समस्या, हार्ट अट्याक आदि पर्दछन्l मुटुले काम गर्न छाड्न लागेको छ भने श्वास फेर्न गाह्रो हुन्छ। मुटुमा केही गडबडी हुन लागेको छ भने अचानक बेहोस हुने, खुट्टाहरू सुन्निने, मुटुको ढुकढुकी बढ्ने हुन्छ। यी सबै मुटुसम्बन्धी रोग लागेका लक्षण हुन्।

मुटु रोग लाग्‍न नदिन कसरी सजग हुन सकिन्छ?

आफूलाई स्वस्थ्य राख्न दैनिक ३० मिनेट हिँड्ने, खानपिनमा चिल्लो पदार्थको प्रयोग कम गर्ने, जंक फुडहरुको प्रयोग कम गर्ने, खानामा नुनको मात्रा ठिक्क राख्ने, हरियो सागसब्जी दैनिक खाने, दिनमा एकपटक जसरी पनि फलफूल खाने, प्रेसर तथा कोलेस्टेरोलसँग सम्बन्धित रोगहरू भए त्यसलाई समयमा नै उपचार गर्ने, अम्मलहरू सबै छाड्ने वा सुरुमा नै त्यस्तो अम्मलमा नपर्ने गर्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.