व्यवसासी भन्छन्- इन्धन खर्च पनि उठेन

|

बुटबल : सरकारले असोज १ देखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि बुटवल बसपार्क क्षेत्रमा यात्रुको चहलपहल खासै देखिएको छैन। यातायात व्यवसायीले करिब ६ महिनादेखि थन्किएका सवारी साधानलाई मर्मत सम्भार गरी सञ्चालनमा ल्याएका छन्।  तर, गाडी यात्रा गर्ने यात्रुहरू नहुँदा व्यवसायी/सवारी धनी निरास छन्।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले झण्डै ६ महिनापछि व्यवसायीले सरकारको निर्देशनबमोजिम सुरक्षा सतर्कता अपनाएर गाडी सञ्चालनमा ल्याएको बताए। ‘लामो समयसम्म लकडाउन भएका कारण पार्किङमा थन्किएका गाडीहरु मर्मत नगर्दासम्म सञ्चालन गर्न सक्ने अवस्था छैन। व्यवसायीले गाडी चलाउन सुरु गरे पनि सवारीको मर्मतलगायतका चुनौतीहरु भने यथावत नै रहेका छन्,’ उनले भने। ‘कोरोना जोखिमबीच सुरक्षा सतर्कता अपनाएर सवारी साधन सञ्चालन गरे पनि यात्रु नहुँदा खर्चसमेत उठाउन मुस्किल परेको छ। ३७ जना यात्रुको सिट क्षमता भएका गाडीले ९/१० जना मात्र यात्रु बोकेर हिँडेका छन्।’

लामो लकडाउनपछि कोरोना संक्रमणको त्रासबीच गाडी सञ्चालन भएकाले गाडीमा यात्रुहरुको संख्या अत्यन्तै कम रहेको र पहिलेजस्तै सहज रुपमा यातायात सञ्चालन गर्न समय लाग्ने व्यवसायीहरु बताउँछन्। सरकारले यातायात व्यवसायीहरुमा परेको मर्कालाई सहज रुपमा नलिएको उनीहरुको गुनासो छ। सरकारले हवाई सेवामा सिट क्षमताअनुसार पूरै यात्रु राख्न पाउने नियम बनाए पनि सार्वजनिक यातायातमा ५० प्रतिशत मात्र यात्रु बोक्न पाउने नियम बनाएको छ।

‘लकडाउनको समयमा लामो समयसम्म गाडीहरु खुला आकाशमुनि सार्वजनिक स्थान वा बसपार्कमा रहे,’ गाडी धनी नारायणप्रसाद भण्डारीले भने, ‘घाम र पानीले धेरै गाडीहरुमा इञ्जिन खराबदेखि अन्य विभिन्न समस्या देखिएका छन्।’ भण्डारीका टवटा वातावरण अनुकुलीत (एसी) बस छन्। उनका गाडी भैरहवा–बुटवल–काठमाडौं रुटमा चल्छन्। लकडाउन हुनुभन्दा अघि कमाइ राम्रै रहे पनि लकडाउन भएपछि गाडी थन्किए, जसले गर्दा बैंकको किस्तासमेत तिर्न समस्या परेको उनको गुनासो छ। ‘सरकारले लकडाउन खोले पनि यात्रु नहुँदा उनका सबै गाडी चलेका छैनन्, चलेका गाडीमा यात्रु नहुँदा खर्चसमेत उठाउन सकिएको छैन,’ उनले भने, ‘आम्दानी भन्दा पनि सेवाका लागि मात्र गाडी सञ्चालन भएका छन्।’

अर्का गाडी धनी महेशकुमार कोइरालाको गुनासो पनि उस्तै छ। कोइरालाका पाँचवटा गाडी छन्। तीमध्ये चारवटा बुटवल–काठमाडौं रुटमा र एउटा बुटवल–पोखरा रुटमा चल्छन्। तर, अहिले यात्रु नहुँदा नम्बर परे पनि धेरै रुट मिस भइरहेको उनले बताए। ‘सार्वजनिक यातायातमा चढ्ने भनेको सामान्य परिवारका, आफ्ना साधन नभएका र विद्यार्थी हुन्,’ उनले भने, ‘लकडाउनमा धेरै विद्यार्थी गाउँ घरमै छन्। कोरोना त्रासका कारण सार्वजनिक बस चढ्नेको संख्या अत्यन्तै कम रहेको छ।’

पश्चिम नेपाल बस व्यवसायी प्रालि मातहतमा दुई हजार ४०० वटा गाडी आवद्ध छन्। तीमध्ये अहिले ५० प्रतिशतभन्दा कम मात्र सञ्चालनमा रहेको बुटवलस्थित बस काउण्टरमा कार्यरत नरबहादुर रजाली मगरले बताए। ‘मानिसहरू कोरोना त्रासका कारण अत्यावश्यक काम भएमात्रै सार्वजनिक बस चढ्ने गरेका छन्,’ उनले भने, ‘कोरोनाको जाखिम नभएको भए चाडपर्वको यो समयमा बसपार्क क्षेत्रमा अत्याधिक भिडभाड हुने गथ्र्यो, विगतका वर्षहरुमा टिकट काउण्टरमा यात्रुको चापले खाजा खानेसमेत समय हुँदैन थियो।’

झण्डै ६ महिनासम्म आफ्नो रोजगार गुमाएर बस्नुपर्ने समस्या हल हुने भएपछि खुसी भए पनि सोचेजस्तो पहिलेजस्तो आम्दानी नभएको बुटवल–तम्घास रुटमा चल्ने बसका चालक राजु थापाले बताउँछन्। लकडाउन बढिरहँदा गाडी चलाउन नपाएपछि आम्दानीको अन्य स्रोत नहुँदा घरपरिवार चलाउन समस्या परेको थियो। चाडपर्व नजिकिँदै छन्। गाडी चलेपछि केही कमाइ होला र चाडबाड मनाउँला भन्ने सोचे पनि सोचेजस्तो कमाई नभएको उनले बताए। ‘९/१० जनामात्र यात्रु बोकेर कमाएको पैसा साहुलाई दिनु कि आफूले राख्नु?’ उनले भने, ‘गाडीमा तेल हाल्ने पैसासमेत उठाउन हम्मेहम्मे परेको छ।’

लामो तथा छोटो दूरीका सार्वजनिक गाडी चल्न थालेसँगै गाडीको आवागमनसमेत बढेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। योेसँगै कोभिड–१९ को जोखिम थप बढेको छ। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले सार्वजानिक यातायात सञ्चालन भएपछि चेकजाँचमा थप कडाइ गरेको बताए। ‘सबै यातायात व्यवसायी तथा सवारी चालकहरुलाई ट्राफिक नियमको पालनामा ध्यान दिन आग्रह गरेका छौँ,’ उनले भने, ‘लामो समयपछि खुलेको सार्वजानिक यातायातमा लापरवाही गरेको पाहिएमा कडा कारबाही गर्छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.