भगवानको सेवा र प्रार्थना गर्नुपर्छ किनभने भगवान, मन्दिर नभएको भए हाम्रा जति पनि इच्छा थिए ति पूरा हुँदैनथे। हरेक धर्म र सम्प्रदायमा आफ्नै मान्यता र आस्था हुन्छन् उनीहरूका आफ्नै देवी देवता हुन्छन्। कोहि नभएपनि भगवान छन् भन्ने भरोसा हुन्छ व्यक्तिमा। दीन दु:खीको सेवा नै भगवानको सेवा हो।
सबैतिर बजार खुल्ला हुने, आवतजावत खुल्ला हुने भगवानको मन्दिर खोलेर दर्शन गर्न, सेवा गर्न नपाइने? एकातिर जुमबाट बहस चलिरहँदा टिभीमा समाचार आइरहेको थियो- पशुपतिनाथ मन्दिर परिसरमा भेला भएर मन्दिर खोल्नुपर्छ, ८ महिना भैसक्यो भगवानको सेवा गर्न पाएको छैन भनेर भएको भीडभाडमा उत्रिनेलाई प्रहरीले लाठीचार्ज गर्नुपर्यो।
भगवानलाई भोग लगाउन पाएको छैन, भगवान भोकै हुनुहुन्छ। एकातिर अन्तराष्ट्रिय संस्थाले महामारीमा कसरी बच्ने सचेतनाको संवाद गरिरहँदा बिचमा धर्मप्रति आस्थावान व्यक्तिको आवाज निस्केको थियो यो। भगवानलाई नै थुनेपछि के धर्म हुन्छ ? अरू तिर कोरोना नसर्ने, मन्दिरमा, भगवान भएको ठाउँमा कोरोना कसरी सर्छ ? तर्कमा दम भएको महसुस गर्दै थिए वक्ता आफैं।
चमत्कार कि विश्वास ?
जुम र भर्चुअल संवादकै समय छ। धेरैतिरबाट निमन्त्रणा आउँछ, कसैको चित्त नदुखोस् भन्ने हेतुले, आफ्नै साथीभाइको मन राख्ने हेतुले अनि कतिपय सही जानकारी पनि हुन्छ र मौका मिल्दा आफ्ना सुझाव र जिज्ञासाले पनि ठाउँ पाउँछन् भन्ने हेतुले समय मिलेसम्म जुम खोलेर पृष्ठभूमिमा आफ्ना काम पनि सँगै गर्ने आजकलको नयाँ शैली भएको छ प्राय सबैको।
अकबर र विरबलको कथा छ गजबको। एकदिन अकबरले भने सबैमा धार्मिक आस्था हुनुपर्दछ। सेवा भावबाट गरेको कर्ममा नै भगवानको आशीर्वाद प्राप्त हुन्छ। अरू मन्त्रीले पनि अकबरको कुरालाई समर्थन गरे तर विरबल यसमा राजी भएनन्।
अकबरले भने मन्दिर, मूर्ति, सेवा र भक्ति विना कसरी आस्था कायम हुन्छ ? एक महिना भित्रमा मलाई प्रमाणित गरेर देखाऊ। विरबल हस् भनेर हिँडे। उनले आफ्ना सहकर्मीलाई एक महिनाभित्र मन्दिर बनाउने र त्यहाँ कसको मूर्ति राख्ने भन्ने बारेमा चाहिँ कानेखुसी गरेर बताए। त्यो मन्दिर तयार भएपनि ढोका भने बन्द नै रहने बताए।
एक महिना भित्रमा मन्दिर तयार भयो, मन्दिर तयार भइसके पछि दर्शनार्थीको भिड लाग्यो। मन्दिरको ढोकामा आएर प्रार्थना गर्ने सबैले आफ्ना इच्छा पूरा भएको बताए। मान्छेको भिड दिनदिनै बढ्न थाल्यो, टाढाटाढाका मान्छे पनि आउन थाले। त्यो ठाउँको नाम फैलिन थाल्यो। यो कुरा अकबरको दरबारमा पनि फैलियो। उनले सबै मन्त्रीहरुलाई भने- हामी पनि भोलि मन्दिर दर्शन गर्न जानुपर्छ र प्रार्थना गर्नुपर्छ। हाम्रो सिमानामा आक्रमण गर्नेको हार होस्।
अकबरले फेरि विरबलतिर हेरे र भने- विरबल मन्दिर बनेर यतिधेरै प्रचार भइसकेछ। तिमीलाई केहि थाहा छ ? हुनत तिमी मन्दिर, मूर्ति र भगवान नमान्ने मान्छे ? तिमीले एक महिनाको परीक्षाको समय लिएका थियौ के भयो ? विरबलले भने- महाराज मन्दिरको प्रतिष्ठाको बारेमा त मैले पनि सुनेको छु तर जाने फुर्सद पाएको छैन। भोलि हजुरसँगै जानुपर्ला। भोलिपल्ट राजा अकबरको साथमा दरवारको टोली नै मन्दिर दर्शन गर्न पुग्यो।
मन्दिरमा मानिसको भिडभाड देखेर अकबर विरबलसँग खुसी व्यक्त गर्दै थिए। त्यहि बिचमा एकजना सेनापति अकबरको छेउमा आए र भने महाराज- सिमानाको युद्धमा हाम्रो जित भयो।
अकबरले फेरि विरबललाई आफ्नो आस्थाबारे प्रष्ट पार्न खोजे। विरबलले भने पुजारीलाई मन्दिरको साँचो खोलेर त्यहाँ भित्र बन्द भगवानको मूर्ति राजा सामु ल्याउन अह्राए। पूजारीले एउटा कपडाले छोपेर ल्याएको चिज मूर्ति नभएर अकबरकै कार्यालयमा राख्ने गरेको फूलदानी पो छ !
मैले नै यो मन्दिर बनाउन लगाए। भगवान र मूर्तिप्रति हजुरको जुन आस्था छ त्यो वास्तविकता हो या अन्धविश्वास, विश्वासको शक्ति हो या वास्तविकता थाहा पाउनु थियो महाराज ! विश्वास नै ठूलो चमत्कार हो अरू चमत्कार केहि हुँदैन।
दु:ख स्थायी हो या हाम्रो अपेक्षा स्थायी ?
हामीलाई लाग्छ दु:ख र परिस्थिति सधैं एकपछि अर्को गर्दै आइरहेको हुन्छ। जीवनमा दु:ख कहिल्यै सकिएन। परिस्थिति र भौतिक वस्तुहरू आफैंमा स्थायी छैनन् तर हामी सोच्छौँ ति स्थायी हुन्।
प्रेमी प्रेमिकाको प्रेम र सम्बन्ध सोचे झैं हुनुपर्छ भन्ने ठान्दछौं। नोकरी र पदोन्नति आफैंले चाहे जस्तो हुनुपर्छ जस्तो लाग्छ। साथीभाई इष्टमित्रको सम्बन्ध, उनीहरूबाट हामीले पाएको र पाउने सहयोग निरन्तर हुनुपर्छ भन्ने सोच्छौं। बाहिरी वातावरणदेखि लिएर परिस्थिति अनुकूल हुनुपर्छ भन्ने लाग्छ।
अस्तित्त्वगत रूपमा परिस्थिति कहिले के हुन्छ हामीले वकालत गर्न सक्दैनौं। कतिपय परिस्थितिहरू हाम्रो अंक गणित र हाम्रो सोचले मात्र चल्दैन। हरेक परिस्थितिलाई हाम्रो मनस्थितिले सम्हाल्नुपर्छ। दृष्टिको आफ्नै नियम हुन्छ त्यसमा हाम्रो दृष्टि कसरी प्रस्तुत हुने भन्ने कुराको ख्याल गर्नुपर्छ जसलाई सजगताको कला भनिन्छ।
मानिसलाई आश्चर्यचकित बनाउने पक्ष के हो ?
एउटा सभामा बहस चल्दै थियो- मानिसलाई आश्चर्य चकित बनाउने पक्ष के होला? एकजना फकिरले भन्नुभयो- मानिसलाई आश्चर्य चकित बनाउने पक्ष मानिस नै हो।
अपवाद बाहेक, मानिस आफ्नो उमेरको २५ वर्षसम्म शिक्षामा खर्च गर्छ। प्रेम, अपनत्व र सुरक्षाको आवश्यकता महसुस गर्छ अनि परिवार बनाउँछ। आफूले आर्जन गरेको योग्यता र शैक्षिक ज्ञानको प्रयोग गर्दै रोजीरोटी र धन कमाउनमा करिव ५०-५५ वर्षको उमेर बिताउछ।
मानसिक तनाव, मनोभावनामा नकारात्मकता र स्वास्थ्यमा समेत खराबी आउँछ। अनि जीवनभर कमाएको धन अस्पतालमा भर्ना भएर उपचारमा सकिन्छ। भविष्यको चिन्ता र जोगाड गर्दागर्दै वर्तमानको जीवन बाँच्न बिर्सन्छ। उमेर छँदा र ऊर्जा अनि आर्जन हुँदाहुँदै जीवन अन्तिम क्षणमा आइपुग्छ। यतिन्जेल जीवन छुट्छ भन्ने सम्झनैं सक्दैन। आफ्नै परिवारको अनुभव र वरपरका व्यक्तिको जीवनबाट पनि सिक्नुपर्छ भन्ने बोध भएको हुँदैन। जागृति, प्रफुल्लता, पूर्णता, सन्तोष जस्ता गुण त वर्तमानको जीवनमा मात्र बोध गर्दै जीवन बाँच्न सहज बनाउँछ। तर मानिसले यो कला भुल्छ।
प्रेम र भय
प्रेमकै कारण मानिसले जीवन प्राप्त गर्दछ तर प्रेम गरेको व्यक्ति समाजले देख्न सक्दैन। युद्धका सिनेमा बन्छन्, धार्मिक विवादका इतिहास लेखिन्छन् र तिनलाई समाजले महत्त्व दिएर हेर्छन्। तर कुनै प्रेमिल जोडीले प्रेम गरेको समाजलाई मान्य हुँदैन। प्रेमले अश्लीलताको परिचय पाएको हुन्छ।
युद्धका लागि भय नहुने प्रेमको लागि भय उत्पन्न हुने कस्तो सोचाई होला ? प्रेमका सिनेमा, प्रेमका उपन्यास अरूलाई लुकाएर हेर्नु र पढ्नुपर्ने, कलह, झगडामा सबैको चासो हुने? उत्सुकता, स्वतन्त्र र प्रेमपूर्ण जीवन जिउन खोज्नेले अनुशासनहीनको विशेषण पाउने !
अरूको बारेमा जान्ने र बुझ्ने र परिवर्तन गर्नखोज्ने समय प्रशस्त हुने, स्वयंलाई जान्ने र बुझ्ने चेत कहिले आउने ? शैक्षिक, राजनैतिक, सामाजिक सुधार, उत्प्रेरणा र परिवर्तनका कार्यक्रम होउन् या समानता र अधिकारका बहस सबैको निचोड हुन्छ- समस्या, समस्या जताततै समस्या अनि रूपान्तरण अरूबाट हुनुपर्छ, दोस्रो सुध्रिनुपर्छ। आफ्नो स्व-पहिचान र स्व-मूल्यांकन कहिले हुने होला?
तपाईंको ईमेल गोप्य राखिनेछ ।