|

काठमाडौं : नेपाल-भारत सीमामा सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालतर्फका बोर्डर आउट पोस्ट (बीओपी) मा ढुंगा हान्‍न छाडेको छ।

भारतमा कोरोना महामारी फैलिएपछि खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्न खोज्नेहरूलाई रोक्दा भारतीय एसएसबीले त्यहाँका मानिस परिचालन गरी बीओपीमा ढुंगामुढा र आक्रमण गर्ने गरेको थियो। चैत ११ गते लकडाउन भएयता नेपाल आउने भारतीय नागरिकहरुले सशस्त्र प्रहरीको अस्थायी क्याम्पमा ११ पटक आक्रमण गरिसकेका छन्। नेपालका बीओपीमा भारतीय नागरिकले मात्रै नभई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पनि आक्रमण गर्ने गरेको थियो।

तर यतिखेर सशस्त्रले सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाएसँगै भारतीय पक्षले बीओपीमा आक्रमण गर्न छाडेको छ। सशस्त्र प्रहरीका डिआइजी एवम्‌ प्रवक्ता राजु अर्यालले भने, ‘दुई महिना भयो, शान्त छ। हाम्रो टोलीले आफ्नो ड्युटी गरिरहेको छ।’

१६३ ठाउँमा सशस्त्रको क्याम्प 

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको १६३ वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भइसकेको अर्याल बताउँछन्।

‘सीमा विवाद भएको क्षेत्रमा सीमा रक्षाका लागि सशस्त्रको बीओपी स्थापना हुनेक्रम छ। अहिलेसम्म १६३ ठाउँमा बसिसक्यो,’ उनले भने, ‘सरकारले ५०० वटा बीओपी राख्ने भनेको छ, हामी बिस्तारै बढाउँदै छौँ।’

सशस्त्रका अधिकांश क्याम्पहरू हावाहुरी आउँदा पनि उडाउने खालका अस्थायी छन्। सरकाले भारतीय एसएसबी रहेका सीमा क्षेत्रको नेपाल तर्फ सशस्त्रको बीओपी राख्न निर्णय धेरै अघि गरिसकेको हो। 

हुम्लाको नाम्खामा बीओपी राख्ने ठाउँ खोजिँदै

चीनले सीमा मिचेर भवन बनाएको भनिएको हुम्लाको नाम्खामा सशस्त्र प्रहरीले बीओपी स्थापना गर्ने भएको छ। अर्यालका अनुसार लाप्चा लेकमा अब छिटै बीओपी स्थापना हुनेछ।

सशस्त्र प्रहरीको टोलीले सीमाको स्थलगत अवलोकन गरेर १२ नम्बर सीमा स्तम्भभन्दा २५  किलोमिटर नेपालतर्फको टाक्ची भ्यालीमा बीओपी स्थापना गर्ने तयारी छ। ‘यहीँ स्थापना हुने भन्ने त पक्का भइसकेको छैन,’ अर्यालले भने, ‘बीओपी स्थापना चाहिँ अब छिटै हुन्छ। हाम्रो टोलीले निरीक्षण गरिरहेको छ।’ 

सशस्त्रका अनुसार बीओपी स्थापना हुने क्षेत्र समुन्द्र सतहबाट चार हजार मिटरभन्दा माथि हुनेछ। चीनसँगै सीमा जोडिएको हुम्लाकै हिल्सा नाकामा भने गत असार ६ गते सशस्त्रको बीओपी स्थापना भइसकेको छ।

सशस्त्र प्रहरीका इन्स्पेक्टर सुरज केसी नेतृत्वमा २२ जना सुरक्षाकर्मी तैनाथ छन्। उनीहरु नियमित सीमा स्तम्भ भएको क्षेत्रमा गस्ती गरिरहेका छन्। हिल्साको बीओपी भने पक्की भवनमा छ। तीन हजार ६ सय मिटर उचाइमा रहेको उक्त पोष्टमा हिउँदयाममा पनि सशस्त्र बस्नेछ।  

सुस्तातिर कस्तो छ ? 

नवलपरासीको सुस्ता पनि नेपालको सबैभन्दा धेरै सीमा मिचिएको क्षेत्र हो। ‘सुस्तालाई घेरेर भारतले सेनाको सातवटा क्याम्प राखेको छ,’ सुस्ता गाउँपलिकाका प्रमुख रामप्रसाद पाण्डेयले भने, ‘नेपालको भने बल्ल २ वटा छ। दुई वटै भएपनि जनतालाई धेरै राहत भएको छ। नत्र उताबाट आएर जनतालाई दु:ख दिएर हैरान पार्थे। अहिले कोरोनाले यता आउन नपाएर पो हो कि खै अहिले त शान्त भएको छ।’

भारतीय क्याम्पहरू भारततर्फ छैनन्, नेपालकै दशगजा भन्दा ७ किलो मिटर नेपालतर्फ नै भारतीय सीमा सुरक्षा बलको क्याम्पहरू छन्।​ सुस्ताबासीलाई नेपाल सरकारले २०३१ सालमै लालपुर्जा दिएको २५६ बिगाहा जमिन पनि भारतले हडपेको छ। यो भूमि नेपालीले भोगचलन गर्न पाएका छैनन्।   

कालापानीमा के हुँदैछ ? 

भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेसँगै भूमि फिर्ता ल्याउने चुनौती उत्तिकै छ।

भारतले अतिक्रमण गरेर सेना राखेको कालापानी क्षेत्रभन्दा करिब १२ किलोमिटर दक्षिणस्थित रणनीतिक महत्वको उक्त ठाउँमा बाह्रै महिना सशस्त्र प्रहरी तैनाथ गर्ने गरी भवन यही हप्ता गृहमन्त्री रामबहादुर थापा (बादल) ले  शिलान्यास गरेका छन्।

अहिले त्यहाँ सशस्त्रको टोली भाडाको घरमा क्याम्प राखेर बसेको छ। नेपाली सुरक्षाकर्मी सीमा क्षेत्रमा खटिएपछि भारतीय सुरक्षाकर्मीले पनि निगरानी बढाएको स्थानीयले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.