काठमाडौं महानगरले सबैभन्दा बढी ८ करोड खर्च गर्‍यो

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले कोरोना नियन्त्रणको लागि साढे आठ करोड रुपैयाँ खर्च गरिसकेको छ। कोरोना रोकथामका लागि भन्दै प्रत्येक वडालाई  महानगरले बजेट छुट्याएको थियो। समयमै बजेट विनियोजन गरिएको भएपनि कोरोना नियन्त्रण नभई झनै ब्यापक रुपमा फैलिएको छ।

महानगरले कोरोना नियन्त्रणको लागि छुट्याएको साढे आठ करोड रुपैयाँ रकम राहत वितरण गरेर सकिएको महानगरका प्रशासनिक प्रमुख नमराज ढकालले बताए। उनका अनुसार वडामा ५ करोड ६८ लाख बजेट वितरण गरिएको थियो। दोस्रो चरणमा पुनः १ करोड थपेको र केन्द्रबाट छुट्टै १ करोड विभिन्न कार्यक्रमा खर्च भएको छ।

१ लाख ४ हजार घर परिवारलाई राहत वितरण र दुई लाख ६६ हजार मानिसलाई विभिन्न संघ संस्था मिलेर खाना खुवाइएको ढकालले जानकारी दिए।

'स्यानेटाइजर, मास्क र राहत वितरण गरेर धेरै खर्च भएको छ। लकडाउन लम्बिदै गएकोले महानगर बासीलाई बढी सहयोग गरिएको थियो,' उनले भने, 'थोरै समयमात्र लकडाउन हुन्छ भन्ने सोचेको भएपनि आशा गरेबमोजिम भन्दा बढी लकडाउन भएकोले महानगरको बढी खर्च भएको छ।'

महानगरपालिका भित्र कोरोना संक्रमितको पहिचान गरी कन्ट्रयाक ट्रेसिङ कोरोना परीक्षण पहिलो प्राथमिकतामा रहेको उनको भनाइ छ। महानगरपालिका भित्र रहेका मानिसलाई राहत भन्दा पनि परीक्षणको दायरा बनाउनलाई महानगरले जोड दिएको उनले प्रस्ट पारे।

ललितपुर महानगरपालिकाले ४ करोड खर्चियो

ललितपुर महानगरपालिकामा संक्रमितको संख्या एक हजार चार सय चार जना पुगेको छ। महानगरपालिकाभित्र सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ। संक्रमितको संख्या बढ्दै जाँदा खर्च गरेअनुसार महानगरपालिकाले कोरोना नियन्त्रण गर्न सकेको छैन।

हालसम्म महानगरपालिकाले ४ करोड रुपैयाँ खर्च गरिसकेको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा महानगरबासीलाई राहत प्रदान गर्दा बढी खर्च भएको छ।

कीट र पीसीआर मेसिन खरिदमा ५० लाख रुपैयाँभन्दा बढी खर्च भएको उनले जानकारी दिए। एन्फा र वडा २६ मा क्वारेन्टाइन बनाउँदा पनि रकम खर्च गरिएको थियो। कोरोना नियन्त्रणको लागि महानगरले गरेको खर्च विवरण पूर्ण रुपमा निकाल्न अझै बाँकी रहेको उनले सुनाए।

मध्यपुर ठिमीले कन्ट्रयाक ट्रेसिङ दर घटायो

मध्यपुर ठिमी नगरपालिकामा सात सय ७३ जनालाई कोरोना संक्रमण भएको छ। नगरपालिकाले कोरोना नियन्त्रण गर्नको लागि ४ करोड ५० लाख रुपैयाँ खर्चिइसकेको छ। 

नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार १ करोड ४ लाख, स्यानिटाइजर,मास्क र पीपीईका लागि १८ लाख र अस्पताललाई पीसीआर परीक्षण गर्ने मेसिनको लागि एक करोड २० लाख रुपैयाँ खर्च भएको छ।

कीट खरिदमा मात्रै नगरपालिकाले ४० लाख रुपैयाँ खर्चिएको छ। अस्पतालमा भेन्टिलेटर निर्माण गरी प्रदान गर्दा ५० लाख रुपैयाँ खर्च भइसकेको छ। आइसोलेसनमा २५ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए।

पछिल्लो समयमा नगरपालिका भित्र कोरोना संक्रमितको संख्या घटेकोले कन्ट्रयाक ट्रेसिङको संख्या घटाइएको उनले बताए।

काठमाडौंमा धेरै सक्रिय संक्रमित

काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको संख्या आठ हजार सात सय ६६ पुगेको छ। १३ हजार सात सय ५६ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ। यो समाचार तयार पार्दासम्म काठमाडौं स्वास्थ्य कार्यालयबाट प्राप्त तथ्यांकअनुसार महानगरपालिकाभित्र सक्रिय संक्रमितको तीन हजार नौ सय ५१ पुगेको छ।

लकडाउनको सुरुवाती चरणमा महानगरपालिकाको सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको थियो। मुलुकभर कुल संक्रमितको संख्या ७६ हजार दुई सय ५८ पुग्दा महानगरपालिकाको ३२ वडामा संक्रमित रहेका छन्। दुई हजार सात सय ५३ संक्रमित होम आइसोलेसनमा बसी उपचार गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.