बलात्कारजस्तो जघन्य अपराध पनि गाउँमै मिलाइन्थ्यो

|

धनगढी : बझाङको मष्टा गाउँपालिका–२ खिकालाको (सिममाडौं) मन्दिर क्षेत्र। दलित र गैरदलितले पूजा गर्ने त्यही मन्दिरभित्र १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भयो। 

मन्दिरजस्तो पवित्रस्थलमा दलित बालिकाको बीभत्स हत्या भएको छ। दलितमाथि भइरहेको हिंसा नौलो होइन। विभिन्न बहानामा दलितमाथि चरम सामाजिक, सांस्कृतिक विभेद र यसको आधारमा भौतिक हिंसा भइरहेकै छन्। यद्यपि यो घटना र यससँग जोडिएको क्रुरताले दलितहरूको अवस्थाबारे देशव्यापी चिन्ता र चासो बढाएको छ।

खिकालामा दलित समुदायको बाहुल्यता छ। वडाध्यक्ष शेरबहादुर खड्का अनुसार खिकालाका ५२ घरधुरीमध्ये ३६ परिवार दलित छन्। दलितले दैनिकी गुजार्न त्यहाँका गैरदलितसँगै खलो मागी खानुपर्ने स्थिति छ। 

दलित समुदायका पुरुषहरू प्रायः सबै भारतमा छन्। गाउँमा दलितका महिला र बालबालिका मात्रै हुँदा गैरदलितको हुकुम चलेको देखिन्छ। यही हुकुमी मानसिकताले १२ वर्षीया बालिकाको बलात्कारपछि बीभत्स हत्या भएको भन्न कुनै आइतबार कुर्न पर्दैन। 

दलितको कमजोर सामाजिक हैसियत आपराधिक आक्रमणको आधार बन्न पुगेको स्पष्ट देखिन्छ। दलित बालिकाको बलात्कारपछि हत्यासँगै अहिले घटनामाथि दलित अधिकारसँग जोडेर बहस भइरहेको छ। तर खिकालाका लागि भने यो नयाँ होइन। प्रहरीले बालिकाको बलात्कारपछि हत्यामा संलग्न रहेको भन्दै सार्वजनिक गरेका राजेन्द्र बोहराले गाउँमा दलित समुदायमाथि पटकपटक जघन्य अपराध गर्दै आइरहेका घटना नै प्रमाण हुन्। 

दलित बालकको पनि हत्या

गत मंसिरमा खिकालाकै एक ११ वर्षीय बालक विमल कामी मृत अवस्थामा भेटिएका थिए। सिम मन्दिरभन्दा गाउँ जाने बाटोमा मृत भेटिएका विमलको कानमा लगाएका मुन्द्रा लुटिएका थिए। मृतक बालकका बुवाका अनुसार विमलको पनि निधार र घाँटीमा चोटपटक थियो।

सम्झनाको हत्याबारे अनुसन्धानमा गएको प्रहरीले विमलको हत्या भएको घटना पत्ता लगाएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्का अनुसार गोठालो गएको बेला नजिकै रहेको सल्लाको रूखबाट लड्यो होला भन्ने सबैले अनुमान लगाएछन्। गाउँलेले विमलको शवलाई गाडिदिए। 

शव गाडेपछि सम्झनाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले सार्वजनिक गरेका बोहराले विमलको पनि हत्या आफैंले गरेको र सुन पनि चोरेका भन्ने गरेका स्थानीयहरू बताउँछन्। ती बालकका पनि बुबाआमा पनि भारतमै थिए। 

दलित बालिकालाई बलात्कार, गाउँमै मिलापत्र  

साउन २९ गते खिकालाकै दलित परिवारकी सीता कामी (नाम परिवर्तित) लाई बोहराले बलात्कार गरेको घटना गाउँमै मिलाएको पाइएको छ। पानीघट्टभित्र आफूमाथि जबरर्जस्ती करणी गरेको भन्दै ती बालिकाले जिल्ला प्रहरी कार्यालय बझाङमा जाहेरीसमेत दिएकी छन्। बलात्कारपछि हत्या आरोपमा प्रहरीले सार्वजनिक गरेको बोहरा हिरासतमै रहेका बेला उनीमाथि बलात्कारको मुद्दा दर्ता भएको हो। 

प्रहरीले पनि यो घटनाबारे पीडितको बयान लिइसकेको छ। उनले बयानमा मरणासन्न हुनेगरी आफ्नो घाँटी चेपेको, अनुहारमा मुक्का प्रहार गरेको र कानमा भएका सुनका गहना दिने भए देऊ, नत्र मारेर खोलामा बगाइदिन्छु भन्दै जबरजस्तीकरणी गरेको बताएकी छन्।

प्रहरीका अनुसार राजेन्द्रका बुबाआमा र केही गैरदलित व्यक्तिले उक्त घटना मिलाएको देखिन्छ। 

दलित परिवारमा लुटपाट

आरोपित राजेन्द्र खिकालाको दलित परिवारमा दिनहुँ लुटपाट गर्थे। कसैले वृद्धभत्ता वा कसैले बालपोषण भत्ता बुझेको थाहा पाएपछि त्यो घर जुनसुकै हालतमा तोडफोड गरी चोरी गर्ने गरेको प्रहरीसँग स्थानीयले बताएका छन्। 

गाउँमा चोर्न बाँकी कुनै घर नै नरहेको दलितहरू बताउँछन्।, ‘गहना लगाएकी महिला बाटोमा देखे। तेरो कानको गहना लुट्छु भन्दै धम्की दिन्थ्यो’, उनीहरू भन्छन्। 

वडाध्यक्ष भन्छन्, ‘घटनाले ठूलो रूप लिन हुँदैन्थ्यो’

सम्झानाको बलात्कारपछि बीभत्स हत्या भएको घटनाले अहिले देशभर विरोधका कार्यक्रम भइरहेका छन्। उक्त घटनाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमै चर्चा पाएको छ। 

मन्दिरभित्र क्षतविक्षत अवस्थामा बालिकाको शव भेटिँदा मात्रै यो घटना बाहिरियो। त्यो शव गाडिएको वा मन्दिर नजिकैको खोलामा फ्याँकिएको भए घटनाले अर्कै मोड लिनसक्ने सम्भावना औंल्याइएको छ।

तर मष्टा गाउँपालिका–२ खिकालाका वडाध्यक्ष शेरबहादुर खड्काले घटनाले ठूलो रुप लिन नहुने बताएका छन्। ‘यसले सबैलाई अप्ठ्यारो पारेमा पारिदियो, वडाध्यक्ष खड्काले भने दलित र गैरदलितमा हुने ससाना झैंझगडा, गालीबेइज्जती जस्ता समस्या गाउँमै मिलाइन्थ्यो।’

‘यो घटना ठूलो थियो, वडा कार्यालयमा आएको भए पनि मिलाउन सकिने अवस्था थिएन, प्रहरीलाई त जसरी पनि खबर गथ्र्यौं, तर हामीभन्दा पहिले घटनास्थलमा प्रहरी पुग्यो,’ उनले भने, ‘घटनालाई यस्तो ठूलो रुपमा लिन नहुने हो।’

७ दिनपछि उठ्यो सम्झनाको शव

सम्झना कामीको शव झण्डै ७ दिनपछि परिवारले बुझेका छन्। घटनामा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउने विषयमा प्रहरीबाट चित्तबुझ्दो जवाफ नआएको भन्दै शव उठाउन नमानेका परिवारले आज मंगलबार शव बुझेका हुन्। 

सर्वदलीय सर्वपक्षीय बैठकले प्रहरीले घटनाको गम्भीरतासाथ अनुसन्धान गर्ने र पीडित परिवारलाई सरकारले राहत दिने सहमतिमा शव उठाइएको डिएसपी खड्काले जानकारी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.