|

काभ्रे : अब काभ्रेमा पनि विद्युतीय बस सञ्चालन हुने भएको छ। धुलिखेल नगरपालिकाको सहकार्यमा सुन्दर यातायात प्रालिले व्यावसायिक रुपमा धुलिखेल–काठमाडौँ विद्युतीय बस सञ्चालन गर्ने गरी परीक्षण गरेको हो। 

नेपालकै पहिलो विद्युतीय बस सेवा सञ्चालन गर्दै आएको सुन्दर यातायातले काठमाडौँदेखि काभ्रेको धुलिखेलसम्म विद्युतीय बस परीक्षण गरिएको थियो। जसमा परीक्षण सफल भएका छन्।

सरकारको विद्युतीय सवारी साधनको प्रयोगलाई उच्च प्राथमिकता दिने नीतिसँगै काठमाडौँमा करिब डेढ वर्षदेखि सञ्चालन गरिरहेका सुन्दर यातायातको विद्युतीय बसलाई जिल्लाको धुलिखेलसम्म नियमति रुपमा आउने गरी नगरपालिकाले आवश्यक सहजीकरण गरिदिएको धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यञ्जुले बताए।

त्यस्तै धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले यसअघि काठमाडौँ र भक्तपुरमा सञ्चालन गर्दै आएको विद्युतीय बसलाई धुलिखेलसम्म सञ्चालन गर्ने गरी नगरपालिकाको समन्वय गरेको बताए।

‘विद्युतीय बसको लागि आवश्यक चार्जिङ स्टेशन उपलब्ध गर्नेबारे छलफल भइरहेको छ,’ उनले भने, ‘हामीले छनोट गरेको ३ रोपनी जग्गामा नमिल्ने भएकोले अन्य ठाउँमा खोज्ने कार्य भइरहेका छन्। केही दिनभित्र नै सबै कुराको व्यवस्था हुनेछ।’

त्यसैगरी सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले काभ्रेको धुलिखेलसम्म पहिलो पटक गरिएको विद्युतीय बस परीक्षण सफल भएको थाहाखबरलाई जानकारी दिए। ‘परीक्षण सफल भएता पनि तत्काल नियमति रुपमा विद्युतीय बस धुलिखेलसम्म सञ्चालन गर्न गर्न कठिन छ’, उनले भने, ‘विद्युतीय बसका लागि आवश्यक चार्जिङ स्टेशन, रुट व्यवस्थान, दर्ता, पार्किङ स्थल लगायतका पुर्वाधारको समस्या छ, तर नगरपालिकाले चार्जिङ स्टेशनको व्यवस्था छिट्टै गर्ने प्रतिबद्धता गरेका छन्।

प्रतिबद्धता अनुसार नै काम अघि बढेमा विद्युतीय बस छिट्टै दिवा र रात्रि सेवा नियमित सञ्चालन हुनेछ।’  त्यस्तै उनले थपे, ‘नगरपालिकाले चार्जिङ स्टेशन राख्ने ठाउँ उपलब्ध गर्ने बित्तिकै हामीले चार्जिङ स्टेशन राख्ने काम सम्पन्न गरी विद्युतीय बस सञ्चालनमा ल्याइ हाल्ने छौँ।’ 

पहिलो दिन गरिएको विद्युतीय बस परीक्षणमा नगरपालिकाका मेयर व्यञ्जु लगायतका जनप्रतिनिधिसहित ७० जना सवार रहेका थिए। विद्युतीय बसलाई निरन्तर सञ्चालन ल्याउने सकेमा काभ्रेको धुलिखेलसम्मको रुट उपत्यका बाहिर सञ्चालन हुने पहिलो बन्ने छ।
 
दिउँसो मात्रै चल्ने

काठमाडौँदेखि काभ्रेको धुलिखेलसम्म सञ्चालन हुने भनिएको विद्युतीय बस दिनको समयमा मात्रै सञ्चालन हुने सुन्दर यातायातका अध्यक्ष थापाले जानकारी दिए। उनले जोर बिजोरको कारण पनि केही समस्या भइरहेको बताए।

उनको अनुसार चार्जिङ स्टेशन निर्माण नभएसम्म दिउँसोको समयमा मात्रै विद्युतीय बस सञ्चालन हुनेछ। चार्जिङ स्टेशनविना बस सञ्चालनको लागि पर्याप्त चार्ज नपुग्ने भएकाले रातको समयमा बस सञ्चालन नगर्ने सुन्दर यातायातले जनाएको छ। विद्युतीय सवारी सधान सञ्चालनको रुट अनुमतिको लागि यातायात कार्यायलमा निवेदन दिइसकेको र कार्यालयले पनि सकारात्मक प्रतिक्रिया दिएको थापाको भनाइ छ।

यसअघि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालन भइरहेको विद्युतीय बसलाई नै जिल्लाको धुलिखेलसम्म ल्याएको हो। सुन्दर यातायातका अध्यक्ष थापाले कुनै नयाँ बस थपेको नभइ काठमाडौँदेखि सूर्यविनायकमा सञ्चालन भइरहेको विद्युतीय बसलाई नै धुलिखेलसम्म पु¥याएको बताए।

पार्किङ स्थल, चार्जिङ पोर्ट र त्यसमा पनि ४२० किलोवाट विद्युत् चाहिने भएकाले तत्काल यी कुराको सम्भव नभएकाले दिनको समयमा मात्रै सञ्चालन गर्ने सुन्दर यातायातले जनाएको छ। 

यसअघि काठमाडौँ र भक्तपुरमा सञ्चालन

सुन्दर यातायात प्रा.लिले सुरुमा काठमाडौँ चक्रपथ र भित्री रुटमा विद्युतीय बस सञ्चालन गरेको थियो। अहिले उक्त विद्युतीय बस भक्तपुरको सूर्यविनायकसम्म सञ्चालन भइरहेका छन्। आजबाट विद्युतीय बस सूर्यविनायक हुँदै धुलिखेलसम्म व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरिरहेको छ। 

काठमाडौँको चक्रपथका साथै काठमाडौंका भित्री रुटमा समेत विद्युतीय बस सञ्चालन हुने गरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबमा विद्युतीय बसको शुभारम्भ गरेका थिए। 

बुटबलदेखि झापासम्म सञ्चालन हुनेगरी विद्युतीय बस सञ्चालन तयारी भइरहेको सुन्दर यातायातका अध्यक्ष थापाले जानकारी दिए। उनको अनुसार सुन्दर यातायातको आफ्नै खर्चमा बुटवलमा चार्जिङ स्टेशन निर्माण भइसकेको र झापामा निर्माणाधीन छ।

सरकारको असहयोग

चौतर्फी चुनौतीबीच पनि विद्युतीय बस सञ्चालन भइरहको सुन्दर यातायातका अध्यक्ष थापाले बताए। नीतिगत समस्या देखाउँदै सम्बन्धित निकायले विद्युतीय दर्ताका लागि असहयोग गरेको उनको गुनासो छ। 

यस्तै सरकारले चार्जिङ स्टेशनको परयुनिट ४ रुपैयाँ ४० पैसा तोकिए पनि शुल्क लिने बेला ८ रुपैयाँ ४० पैसाको दरले लिने गरेको बताए। ‘सरकारले सार्वजानिक सूचना निकाल्ने बेला एउटा विद्युत् दररेट र बिल पठाउने बेला अर्काे दररेट गरेको छ,’ उनले भने, ‘सरकारले सहजीकरण गर्दै लैजानु पर्नेमा झन् कडाइ गरिहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.