|

भद्रपुर (झापा) : कोरोना भाइरस संक्रमणको महामारीले होटल व्यवसायीहरू पेशा नै छाड्ने अवस्थामा पुगेका बेला झापाको मेची नगरमा पाँचतारे (फाइभ स्टार) होटल सञ्चालनमा आएको छ। 

मेचीनगर-८ स्थित धुलाबारीको निन्दा नदी नजिकै करिब डेढ अर्ब रुपैयाँ लगानी गरी ‘होटेल मेची क्राउन बाई द पीक’ खोलिएको हो। यो झापाकै पहिलो पाँचतारे होटल हो। 

पूर्वी नाका काँकडभिट्टालाई लक्षित गरी सञ्चालनमा आएको पाँचतारे होटल आठ बिघा क्षेत्रफलमा फैलिएको छ। फराकिलो बगैँचा (पार्क), पानीको विशाल फोहोरा, हावा घर, हेलिप्याड, पाँच सयभन्दा धेरै सवारी अट्ने पार्किङ, स्वीमिङ पूलसहितको निकै आकर्षक होटल खोलिएको अध्यक्ष पवित्रा कुमार कार्कीले जानकारी दिए। 

उनका अनुसार होटलमा १०५ वटा शयन कक्ष रहेको छ। जसमा पाँचवटा मेची सुइट्स, १० वटा एगजुकेटिभ, १९ वटा मेची क्लब र ७१ वटा डिलक्स रुम छ।

सम्पन्न वर्गलाई लक्षित गरेर सुरु गरिएको होटलमा नेपाली ४० प्रतिशत र ६० प्रतिशत विदेशी सेवाग्राही आउने अनुमान गरिएको उनले बताए। विवाह, बैठक, सम्मेलन, सेमिनार जस्ता कार्यक्रमका लागि पनि होटलमा सुविधा सम्पन्न हलहरू रहेको छ।

होटलमा दुई वटा रेस्टुरेन्ट रहेको होटलका जर्नल मेनेजर नितेश पोखरेलले बताए। नेपालमै सबैभन्दा ठुलो क्यासिनोको रुपमा भेगास क्यासिनो यो होटलमा चाँडै सञ्चालनमा आउने उनले बताए। क्यासिनो सञ्चालनमा आएपछि करिब नौ सय नेपालीहरूले प्रत्यक्ष रोजगार पाउने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.