|

बैतडी : नेपाल-भारत सीमानाका झुलाघाट बन्द भएपछि समस्या परेका सीमापारी झुलाघाटका व्यापारीले उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतको पुत्ला दहन गरेका छन्।  

असोज ९ गतेदेखि चरणवद्ध आन्दोलनमा उत्रेका व्यापारीले आज मुख्यमन्त्री रावतको पुत्ला दहन गरेका हुन्। 

असोज १२ गतेदेखि अनसनमा कसेका व्यापारीहरुले यसअघि असोज ९ गते प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतलाई ज्ञापनपत्र पनि पठाएका थिए।  

सीमानाका नजिक पिपल चोकमा अनसन जारी राखेका व्यापारीहरुले आज मुख्यमन्त्रीको पुत्ला दहन गरेका झुलाघाटबाट भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिए। नेपाली ग्राहकले चलेको झुलाघाटबाट बजार नाका बन्द भएपछि ठप्प छ।  

कोरोना कहरका कारण गरिएको लकडाउनले व्यापार व्यवसाय ठप्प रहेको भन्दै आर्थिक प्याकेजको घोषणा गर्नुपर्ने, बैंक ब्याज मिनाहा गर्नुपर्ने, पानी र बिजुलीको बिल मिनाहा गर्नुपर्ने उनीहरुको माग रहेको छ।  

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाका झुलाघाट बन्द हुँदा भारतीय व्यापारी समस्यामा परेका हुन्। नेपाली ग्राहकले चलेको भारतको झुलाघाट बजार सुनसान छ।  

भारतले देशभर लकडाउन खुला गरेको भएपनि सीमा पुल नखुल्दा आफ्नो रोजीरोटी खोसिएको व्यापारीहरू बताउँछन्। ऋण निकालेर व्यापार गरिरहेकाहरुलाई झुलाघाट नाका बन्द हुँदा निकै समस्या भएको झुलाघाट व्यापार संघका अध्यक्ष जगदीशचन्द्र जोशीले बताए।

६ महिनादेखि व्यापार व्यवसाय चौपट रहेकाले उनीहरु अनसन बस्न बाध्य भएका हुन्।  माग पुरा नहुन्जेलसम्मलाई अनसन जारी रहने व्यापारीले बताएका पत्रकार भट्टले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.