मापदण्ड मान्‍नुपरे गाडी थन्काउने व्यवसायीको चेतावनी, नियमनकारी निकाय गैरजिम्मेवार

|

जनकपुरधाम : कोरोना भाइरसका कारण गत चैत ११ मा जारी भएको लकडाउनपछि बन्द रहका लामो तथा छोटो दूरीका सार्वजनिक सवारी असोज १ गतेबाट सञ्चालनमा आए। 

सरकारले कोरोनो संक्रमणको जोखिम कायमै रहेको भन्दै लामो दूरीको यातायात सञ्चालनका लागि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने निर्णय गर्‍यो।सर्तअनुसार ५० प्रतिशत मात्रै यात्रु बोक्न पाइने, प्रत्येक १ पंक्तिको सिटमा १ जना मात्रै राख्न पाइने, स्यानिटाइजर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने छ।

तर प्रदेश २ मा सञ्चालनमा आएका सवारी सञ्चालकले यस्ता कुनै मापदण्ड पालना गरेका छैनन्। जनकपुर बसपार्क पुग्दा बसका चालक मास्कसमेत लगाएका देखिँदैन्थे। यात्रुहरुले त झन् कोरोनालाई वास्ता नै नगरको देखिन्थ्यो। भाडासमेत मनपरी असुल गरिररहेको पाइएको थियो। बस संचालनमा आएको १५ दिन बित्न लाग्दा पनि कुनै सवारीमा स्यानिटाइज गरिएका थिएनन्। 

सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्डको धज्जी उडाउँदा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ। बर्दिबासबाट आएका बसका एक चालकले मास्क लगाउन बिर्सिएको बताए। नाम बताउन नचाहेका उनले भने, ‘मास्क लगाउँछु। राखेको पनि छु। तर अहिले खै कता गयो।’ 

सवारीसाधनहरुले स्वास्थ्य मापदण्ड पालना गरेका छ वा छैन भनेर सरकोकारवाला निकायले अनुगमनसमेत गर्ने गरेको पाइएको थिएन। मापदण्ड पालना गराउन न ट्राफिकले मतलब राखेका थिए न त प्रमुख जिल्ला अधिकारीले नै। ट्राफिक प्रहरी धनुषाका प्रमुख इन्स्पेक्टर पर्शुराम घिमिरेले सवारी साधनले मापदण्ड पालना गरेको/नगरेको विषयमा अनभिज्ञता जनाए।

उनले भने, ‘लामो दूरीको एउटा सवारीमा चेकगर्दा स्यानिटाइज गरेको र मास्क लगाएको देखेँ। तर छोटो दूरीका सवारी साधनलाई चेक गरिएको छैन। म यसबारे बुझ्छु।’ लामो दूरीका सवारीले पनि स्यानिटाइज गरिरहेका छैन नि भन्ने जिज्ञासामा उनले थपे, ‘ठिक छ म बुझ्छु।’

सवारीसाधनले सरकारले तोकेको मापदण्ड पालना नगरेको विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसँग सम्पर्क गर्दा हुन सकेन। 

‘मापदण्ड पालना गरेर सवारी चलाउन सकिँदैन’

बस व्यावसायी संघ जनकपुरका अध्यक्ष मनोज चौधरीले सरकारले तोकेको मापदण्ड पूरा गर्न नसकिने बताए। उनले भने, ‘सरकारले हाम्रो माग पूरा गर्न सकेन। झन् आधा सिटमा मात्र यात्रु राख्न भनेको छ। अनि कसरी गाडीमा स्यानिटाइज गर्न सक्छौं? सम्भव नै छैन।’

‘करिब ६ महिनाभन्दा बढी सवारीसाधन नचल्दा सवारी साधन बिग्रियो’, उनले भने, ‘गाडी मर्मत गराउन सरकारसँग हामीले २ देखि ४ लाख रुपैयाँ माग गरेका थियौं। तर माग सम्बोधन नगरी सवारी चलाउने निर्णय गर्‍यो। यसमा हाम्रो गम्भीर आपत्ति छ। सरकारले माग पूरा गर्नुपर्छ।’

‘मानौं जनकपुर–भिट्ठामोड १८ किलोमिटर छ। यहाँबाट भिट्ठामोडसम्म गाडी लिएर गई फर्किदा ५ सय रुपैयाँ बाँच्छ कि बाँच्दैन थाहा छैन। तर त्यहाँबाट फर्केपछि गाडी डिसइन्फेक्सन गर्दा सम्भव छ। व्यावसायी मर्छन् कि मर्दैन? अनि त्यसमा पनि पिपिई लगाउन कसरी सम्भव छ?’ उनले उल्टै प्रश्न तेर्स्याए।

सम्बन्धित निकायले सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने दबाब दिएमा गाडी नै नचलाउने उनले चेतावनी दिए। भने, ‘व्यवसायीलाई पनि आम्दानी भयो भने न गाडी चलाउँछ। तर घाटा लाग्न थाल्यो भने गाडी कसरी चलाउने? मापदण्ड पूरा गर्न भन्यो भने गाडी थन्काउँछौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.