एकचौथाइ सदस्यहरूको हस्ताक्षर संकलनको तयारी

|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक असोज १९ गते बस्दै छ। उक्त बैठकमा सभापति शेरबहादुर देउवाले नै संसदको विशेष अधिवेशन आह्वान गर्ने प्रस्ताव राख्ने छन्। केन्द्रीय समितिले अनुमोदन गरेपछि कांग्रेस संसदीय दलले विशेष अधिवेशनको माग गर्नेछ। 

तर, कांग्रेसलाई आफैंले मात्रै विशेष अधिवेशन माग गर्नका लागि आफ्ना सांसदहरुको संख्याले पुग्दैन। विशेष अधिवेशन माग गर्नका लागि संसदको एकचौथाइ सदस्यहरुले राष्ट्रपतिलाई लिखित अनुरोध गर्न सक्ने व्यवस्था छ।

कांग्रेसले संसदको  विशेष अधिवेशन आव्हानको लागि जनता समाजवादी पार्टी  नेपाल (जसपा) सँग सहयोग माग्ने तयारी गरेको छ। नेपालको संविधानको धारा ९३ (३) मा विशेष अधिवेशनमा माग गर्न सक्ने व्यवस्था उल्लेख छ। बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा संसद अधिवेशन बोलाउने निर्णय भएको थियो। 

‘राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधि सभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्‍ने मिति र समय तोक्नेछ,’  धारा ९३ (३) मा उल्लेख छ।

कांग्रेसमा आठ सांसद कम, अन्य दलको साथ खोजिँदै

संविधानमा व्यवस्था भएअनुसार संसदको विशेष अधिवेशन बोलाउन माग गर्नका लागि प्रतिनिधिसभामा ६९ जना सांसद चाहिन्छ। अहिले काँग्रेससँग जम्मा ६३ जना सांसद छन्। कांग्रेसले अधिवेशन आह्वान गर्नका लागि संसदमा प्रतिनिधित्व गर्ने दलसँग छलफलको तयारी गरेको छ। 

‘मुलुकका जल्दाबल्दा समस्याहरु र आम नागरिकको जीवन रक्षाको लागि विशेष अधिवेशन बोलाएर त्यसमा छलफल गर्ने र सरकारले कमिकमजोरी गरेका ठाउँमा जवाफदेही बनाएर जनताको जीवन रक्षाका लागि उत्तरदायी बनाउन दवाव दिने तयारी कांग्रेसले गरेको हो’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले थाहाखबरसँग बताए ।

खाँणका अनुसार ‘कांग्रेसले अधिवेशन बोलाउन पहल गर्छ। यसका लागि सदनमा रहेका पार्टीसँग र सदनमा रहेका जनप्रतिनिधिहरूसँग छलफल हुनेछ। राप्रपा, जसपा, राष्ट्रिय जनमोर्चा लगायतसँग छलफल सबैसँग छलफल अन्तरक्रिया हुन्छ। जो जो सहमत हुनुहुन्छ उहाँहरुले विशेष अधिवेशन बोलाउन सहयोग गर्नुहुन्छ।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.