|

मनाङ : झन्डै ५ वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोला माथि पुल बनाउने ठेक्का पायो। एक वर्षभित्रै सक्ने गरी मृत संजीवनी, खड्का कृष्ण र क्याराभानले संयुक्त रुपमा पाएको योजना अहिलेसम्म अलपत्र छ।

मनाङको पुरानो सदरमुकाम थोंचेदेखि पल्लो गाउँ तिल्चे हुँदै उत्तरी छिमेकी देश चीन जोड्ने सडकमा पर्ने यो पुल २०७३ सालको असारमा ठेक्का लगाइएको थियो। 

२०७४ साउन २३ मा सक्नुपर्ने सुरुको सम्झौता भए पनि हालसम्म तीन पटकसम्म म्याद थप भएको छ। तर कामको प्रगति छैन। भ्याटबाहेक ३ करोड ५५ लाखमा दिइएको ठेक्काको काम अलपत्र पारे पनि ठेकेदारले करिब १ करोड ३२ लाख रुपैयाँ निकासा गरिसकेका छन्। 

पूर्वाधार कार्यालय मनाङका अनुसार हालसम्म दूधखोला पुलको काम ४० प्रतिशत सकिएको छ। फिल्डमा त्यति काम देखिँदैन। दुईतिर वाल उठाएर मात्रै छोडिएको छ। पुल बन्ला भनेर वारिपारि सडक खनिसक्यौं।

वर्षौं बितिसक्दा पुल बनेन,’ नासों गाउँपालिका अध्यक्ष चन्द्र घले भन्छन्, ठेकेदारलाई कारबाही गर्नुको सट्टा म्याद थपेर झन् समस्या भयो।’ यो पुल नबन्दा मनास्लु पदमार्गमा जाने पर्यटकलाई हिँड्न समस्या भएको छ भने चर्को ढुवानी तिरेर सामान ओसार्न बाध्य छन्, स्थानीय। 

मर्स्याङ्दी नदी माथि हुम्डेमा पुल बनाउनका लागि जिल्ला विकास समितिले २०७३ कै असारमा अर्को टेण्डर निकाल्यो। श्री गाल्वा र क्याराभान कम्पनीले नै यसको ठेक्का पायो। भ्याटसहित ४ करोड ५७ लाख रुपैयाँमा ठेक्का दिइएको यो पुल २०७४ माघमा सक्नुपर्ने हो। समयमा काम नसकिएपछि २०७७ असारसम्म सक्ने गरी म्याद थपिएको थियो।

पछिल्लो म्यादसम्म ४० प्रतिशतभन्दा काम हुन सकेन। तत्कालीन जिल्ला विकास समितिले विभिन्न मितिमा ६ वटा पुलको ठेक्का दिइएको थियो। यी दुई वटा मात्रै होइन, मनाङका ६ वटै पुल निर्माणको जिम्मा क्याराभानले लिएको थियो। 

त्यसमध्ये लमजुङ र मनाङ जोड्ने म्यार्दी खोलाको पुल ढिलो गरी सकिएर गाडी गुड्न थालेको छ भने अरु सबैजसो पुल अलपत्र अवस्थामा छन्। तिमाङ खोलाको पुल अन्तिम चरणमा पुगेको बेंसीसहर चामे सडक आयोजनाका प्रमुख सुमन अधिकारीले बताए।

‘म्यार्दीमा केही सोलिङ बाँकी छ। तिमाङको सकिन लाग्यो, ’उनले भने, ‘तिमाङमा त डिजाइन नै फेर्नुपर्ने भयो। त्यसैले केही ढिलो हुन गएको हो।’ २०७४ असार ८ मा २ करोड २६ लाख लागतमा तिमाङ खोला पुलको सम्झौता भएको थियो। २०७५ पुस ८ मा सक्नुपर्ने म्याद भए पनि हालसम्म यसको म्यादसमेत थपिएको छैन। म्यार्दीको पुल निर्माण करिब सकिएपछि बाढीले बगाएको थियो। 

सडक डिभिजन कार्यालय दमौलीले मनाङमा दुई वटा पुल निर्माण गर्दै छ। पिसाङ र मुङजीमा निर्माणाधीन पुल अहिलेसम्म सकिएको छैन। ३ करोड ६९ लाख लागत अनुमानसहित डेढ वर्षमा सक्नुपर्ने पिसाङ पुल २०७४ जेठमा सम्झौता भएको थियो।

२ पटकसम्म यसको म्याद थप भइसकेको छ। यद्यपि काम अझै बाँकी छ। ‘पुस १४ सम्म म्याद छ। यसपालि सकिन्छ होला, ’डिभिजन सडक दमौलीका इन्जिनियर नारायण पौडेलले भने, ‘मुङजीको म्याद पुस १० सम्म छ।

यही म्याद भित्र सक्न दबाब दिएका छौं।’ मुङजीपुल निर्माणका लागि २०७४ पुस २६ मा सम्झौता भएको हो। यसको २ वर्ष म्याद थियो। पुल निर्माणका लागि ९ करोड लागत अनुमान गरिएको छ। 

जिल्लाका सबै योजनाको अनुगमन गर्ने अधिकार पाएको जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले कम्पनीले ठेक्का मात्रै ओगटेर काम नगरेको बताए। ‘धेरै पटक भनिसक्यौं। अनुगमनमा जाँदा कम्पनीका मान्छे भेटिँदैनन्। कहिलेकाहीँ सामान ल्याए जस्तो मात्रै गर्छन्,’उनले भने, ‘बाढी पहिरो झर्ने बेला काम गरेजस्तो देखाउने अनि बगाएर लैजान्छ। काम नगर्नेलाई सरकारले कारबाही गर्नुपर्छ।’ 

ठेकेदारले समयमा काम नगरिदिँदा मुख्य सडकमा कतै काठे पुल तर्नुपरेको छ भने कतै खोलामै गाडी छिराउनुपरेको छ। ‘ठेकेदार अटेरी छ। धेरै पटक ताकेता गर्दा नि सुन्दैन,’ मनाङकै एक उच्च कर्मचारी भन्छन्, ‘कारबाही गर्न सम्बन्धित निकाय डराउँछ।

साह्रै शक्तिशाली रहेछ।’ पुरानै ठेक्का अल्झाइराखेको क्याराभान कम्पनीलाई नै अहिले घोप्टे खोलाको बेलिव्रिज निर्माणको जिम्मा दिइएको छ। बेसीसहर चामे सडक आयोजनाले ३२ लाख लागतमा पुल बनाउने ठेक्का क्याराभानलाई सुम्पेको हो।

अहिले थपिएको समयमा पनि काम नसके नियमानुसार कारबाही अघि बढाउने पूर्वाधार कार्यालय मनाङका प्रमुख नवीनचन्द्र अधिकारीले बताए। ‘धेरै पटक म्याद थप भैसक्यो। यो सिजनमा जसरी पनि सक्नुपर्छ,’ उनले भने, ‘सकिएन भने नियमानुसार कारबाही अघि बढाउने हो। अब म्याद थप्ने ठाउँ छैन।’ 

ठेकेदार कम्पनीले समयमा काम नगरेपछि मनाङबासीले पटक पटक अख्तियारका प्रतिनिधिलाई खबरसमेत गरेका थिए। तर कुनै सुनुवाइ नभएको उनीहरु बताउँछन्। निर्माण कम्पनी क्याराभानका फिल्ड इन्जिनियर प्रशान्त तामाङले मौसम र बाटोका कारण समयमा काम गर्न नसकेको बताए।

‘हिउँद लागेपछि हिउँ पर्छ। बर्खामा बाढी पहिरो छ। भनेको बेला सामान ल्याउन सकिँदैन,’उनले भने, ‘कति पुल बनाउँदा बनाउँदै बगाएको छ। मौसमकै कारण तोकिएको समयमा काम गर्न नसकिएको हो।’ निर्माण सामग्रीको ढुवानीमा समस्या भएको उनले बताए। भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले ठेक्का ओगट्ने र काम नगर्ने ठेकेदारलाई आँखा चिम्लेर कारबाही गर्ने बताए।

‘अहिलेसम्मका योजना संघ सरकारको थियो। केही योजना हाम्रोमातहत आएको छ,’ उनले भने, ‘अहिले थपिएको म्यादभित्र काम नभए कारबाही हुन्छ। कुनै पनि बाहनामा उम्किन मिल्दैन।’मनाङका अधिकांश ठेक्का क्याराभानले नै पाएको छ। अहिले यही कम्पनीले १० करोड लागतको जिल्ला कारागारको भवन निर्माण गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.