|

ओखलढुंगा : ठेकेदारले काम अलपत्र छोड्दा सदरमुका ओखलढुंगादेखि रामपुर सम्मको सडकको अवस्था दयनीय भएको छ। कालोपत्रेका लागि चौडा बनाइएको सडक लगातारको वर्षाका कारण हिलाम्मे भएपछि आवतजावतमा समस्या आएको छ। 

अत्याधिक हिलोका कारण १६ किलोमिटर सडक पार गर्न जिप र मोटरसाइकलमा २ घण्टासम्म लाग्ने गरेको स्थानीय बताउँछन्। हिलोका कारण पाइलैपिच्छे सवारी साधन फस्ने गरेको छ। सदरमुकामबाट पश्चिम चल्ने मुख्य सडक नै पार गर्न सकिने अवस्था छैन। 

मोटरसाइकलमा यात्रा गर्दा रोपाइँमा गएर आएजस्तो हिलाम्मे भइने गरेको गोपाल नेपालको भनाइ छ। हिलोका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ। हिलो र चिप्लो सडकले दुर्घटनाको जोखिम बढाइरहेको छ। 

ठेकेदारले सडक चौडा बनाएर छाडेपछि गएको पहिरोका कारण बाटो पटकपटक अवरुद्ध भएको थियो। पानी कटाउने र सफा गर्ने काम नगर्दा आवतजावतमा समस्या भएको छ। 

घाम लागेको समयमा पनि सडक चौडा बनाएर नाली नकटाएकाले सडक धान रोप्न हिल्याएजस्तो हुने स्थानीय माधव कार्कीले बताए । ठेकेदारको लापरवाहीले सदरमुकाम आउन र गाउँपालिका केन्द्र जान जोखिम मोलेर हिड्नुपर्ने बाध्यता रहेको उनले बताए।

नेपाल सरकार, भूकम्प आपतकालीन परियोजनाअन्तर्गत उक्त सडक कालोपत्रेको काम सुरु भएको थियो। सडक कालोपत्रेका लागि गौरा पार्वती निर्माण सेवाले जिम्मा पाएको छ। परियोजनाअन्तर्गत सिद्धिचरण नगरपालिकाबाट मोलुङ गाउँपालिका–२ रामपुरसम्म कालोपत्रे र रामपुरदेखि हर्कपुरको लप्सेसम्म ग्राभेलिङ गर्नेगरी गत वर्ष नै ठेक्का लागेर काम सुरु भएको थियो। 

चाडबाड नजिकिएको र कोरोना संक्रमणकै बीचमा यातायात खुलेकाले आवतजावत र ढुवानीका साधनको चाप बढे पनि सडक मर्मत गर्नेतर्फ कार्यालय र ठेकेदारले चासो दिएका छैनन्। 

पहिलो चरणमा सडक चौडा पार्ने काम सकिएको अहिले वर्षाका कारण कामसमेत रोकिएकाले समस्या आएको इन्जिनियर सरोज केसीले बताए। दुई खण्डमध्ये पहिलो खण्ड ओखलढुंगा–रामपुर १६ किलोमिटरमा ३.७५ मिटर चौडा डिबिएस्टी र दायाँबायाँको १.५ मिटर सोल्जर गर्ने गरी ठेक्का लगेको हो।

अर्को खण्ड रामपुर लप्सेखोलासम्म ७.६२ किलोमिटर ग्राभेल गरिनेछ। ०७५ असारमा सम्झौता भएको उक्त सडक सम्पन्न गर्ने अवधि ५ सय ४०  दिन अर्थात् १८ महिना हो।

भ्याटसहित सम्झौता रकम २९ करोड ९९ लाख ६० हजार छ। तोकिएको समयमा काम नगरेर म्याद थपिएको छ। थपिएको म्यादसमेत मंसिरमा सकिँदैछ। उक्त आयोजना हेर्ने कार्यालयको म्याद नै पुसभरि मात्रै रहेकाले सडक कालोपत्रे हुनेमा स्थानीय विश्वस्त छैनन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.