|

धनगढी : दुई दशकभन्दा बढी समयदेखि बन्द रहेका सुदूरपश्चिमका पाँच पहाडी जिल्लाका विमानस्थल कालोपत्रे भएका छन्। विमानस्थलहरु कालोपत्रे भएसँगै जनस्तरबाट प्रदेशको राजधानी धनगढीबाट नियमित उडान सञ्चालन गर्न आवाज उठिरहेको छ। 

प्रदेशदेखि केन्द्रस्तरका सासंद र नेताहरुले नियमित उडान सञ्चालन गर्ने बताइरहेका छन्। कतिपय सासंद र नेताहरुको चुनावी एजेन्डा नै विमानस्थल कालोपत्रे गर्ने र नियमित उडान सञ्चालन गराउने थिए। 

अहिले बझाङ विमानस्थान, बाजुराको कोल्टी, बैतडीको पाटन, डोटीको दिपायल र अछामको साँफेबगर विमानस्थल कालोपत्रे सम्पन्न भएका छन्। विमानस्थलहरु कालोपत्रे भए पनि नियमित उडानको सम्भावना तत्काल देखिएको छैन।  

‘पहाडी जिल्लाहरुमा नियमित उडानका लागि साना जहाजको आवश्यकता पर्छ, तर अहिले नेपाल एयरलायन्ससँग साना जहाज जम्मा दुई वटा मात्रै छन्, त्यसैले पूर्व उडाउने कि पश्चिम उडाउने जस्तो छ, त्यसैले सुदूर पहाडमा नियमित उडान सम्भव छैन’, नागरिक उड्डयन प्राधिकरणका पूर्वइन्जिनियर योगेन्द्र शर्माले भने। 

‘नेपाल एयरलायन्ससँग पहिले १०÷१२ ओटा विमान थियो, त्यतिबेला सजिलैसँग जनताले सेवा पाउँथे, अहिले निजी क्षेत्रका एयरलाइन्ससँग मात्रै साना जहाज छन्, निजी क्षेत्र भनेका नाफामुखी हुन्छन्, उनीहरु सेवाभन्दा नाफा बढी खोज्छन्, उनीहरु जहाँजहाँ आफूलाई फाइदा हुन्छ, त्यहाँ मात्रै उडान भर्छन्,’ शर्माले थपे, 'नेपाल एयरलायन्सका धेरै साना जहाज दुर्घटना भएर सक्किए, नयाँ बनाउन सक्ने अवस्था पनि छैन, पहाडमा नियमित उडान भर्न नसक्नुको मुख्य कारण जहाज अभाव नै हो।’

‘अहिले सबै जिल्लामा सडक सञ्जाल जोडिएका छन्, जहाजलाई पर्खिराख्नुपर्ने अवस्था छैन, धेरै मानिसहरु एयरपोर्टभन्दा सडकबाटै यात्रा गर्छन्’, नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीमा प्रमुख तेज बुढथापाले भने। जहाजमा यात्रा गर्ने मानिस अभावले पनि नियमित उडान हुन सक्दैन। 

नेपाल वायु सेवा निगमको अन्तर्राष्ट्रिय उडानबाट फाइदा लिने र आन्तरिक उडानबाट घाटा भए पनि सेवा दिने भन्ने नीति हुन्छ। डोटीको दिपायल विमानस्थल आयोजना प्रमुख रत्न बहादुर श्रेष्ठले भने, ‘अहिले पहाडमा निर्माण भएका विमानस्थल बढीमा आठ सय मिटर लम्बाइका छन्, यी विमानस्थलमा ठूला विमान उडाउन मिल्दैन, ठूला विमान पहाडमा उडाउने हो भने विमानस्थलहरुको लम्बाइ बढाउनु पर्ने हुन्छ।’

सुदूरपश्चिमको सबैभन्दा सानो विमानस्थल दिपायलको रहेको छ। जसको लम्बाइ जम्मा ४ सय ९० मिटर मात्रै छ। ‘एउटा सानो जहाजले पूरा क्षमता अनुसार यात्रु बोकेर जाने हो भने ६ सय ५० मिटर लम्बाई आवश्यक पर्छ, श्रेष्ठले भने जग्गा अभावको कारण लम्बाइ बढाउन सकिएन्, विमानस्थलको लम्बाइले पनि  नियमित उडाउनमा प्रभाव पर्छ।’ 

दुई वर्षअघि सरकारले भ्रमण वर्ष २०२० लाई लक्षितगर्दै सुदूर पहाडका जिल्लामा विमानस्थलहरु कालोपत्रेको काम थालेको थियो। कोरोना महामारीले भ्रमण वर्ष स्थगित भए पनि विमानस्थल कालोपत्रेको काम भने सम्पन्न भएका छन्। 

६ विमानस्थल कालोपत्रे

२०५६ सालमा तत्कालीन माओवादीले ध्वस्त पारेको साँफेबगर विमानस्थल २०७५ जेठ ११ गते कालोपत्रे सम्पन्न भएको थियो। अमर कन्स्ट्रक्सनले ११ करोडमा ठेक्का पाएको थियो। ५ सय ५० मिटर विमानस्थल पक्की बनेको छ। सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड जाने सबैभन्दा नजिकको विमानस्थल साँफेबगर हो। 

डोटीको दिपायल विमानस्थल पनि २०७६ कार्तिकमा कालोपत्रेको काम सम्पन्न भएको छ। सपना गल्वा जेभीले पाँच करोड ८४ लाख रुपैयाँमा विमानस्थल कालोपत्रेको ठेक्का पाएको थियो। दिपालय विमानस्थलको झन्डै ४ सय ९० मिटर कालोपत्रे गरिएको छ। 

यस्तै पाँच सय ८० मिटर लम्बाइ रहेको बैतडीको पाटन विमानस्थल पनि झण्डै ९ महिनाअघि कालोपत्रे सम्पन्न भएको छ। गलवा सांग्रिला जगदम्बा जेभीले विमानस्थल कालोपत्रे गर्ने पाएको थियो। पाटनको रिपिटर टावर पनि माओवादीले बम हानेर भत्काएको थियो। 

बझाङको चैनपुरस्थित बझाङ विमानस्थल कालोपत्रेको काम पनि भर्खरै सम्पन्न भएको छ। प्राधिकरणले विमानस्थल कालोपत्रेका लागि झण्डै चार करोड रुपैयाँ विनियोजन गरेको थियो। 

बाजुराको कोल्टी विमानस्थल भने २०६९ सालमा कालोपत्रे भएको थियो उक्त विमानस्थलबाट चार्टर उडान सञ्चालन भइरहेका छन्। यस्तै हालसालै धनगढी विमानस्थलसमेत स्तरोन्नति गरिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.