ड्राइभरकै कुकृत्य, तीन अभियुक्तमध्ये दुईजना पक्राउ

|

काठमाडौं : सिन्धुपाल्चोककी एकजना बेसहारा १४ वर्षीया किशोरी काठमाडौंमा मजदुरी गरेर गुजारा चलाउँदै आएकी थिइन्। आर्थिक अवस्था कमजोर भएको परिवारकी उनी अन्य व्यक्तिको सहारामा काम गर्दै काठमाडौंमा बस्थिन्। 

उनी जस्ता बेसहाराका लागि काठमाडौं सहर कुनै ठूलो संकटको पहाड भन्दा कम छैन। तिनै किशोरीमाथि शुक्रबार जीवनकै ठूलो बज्रपात आइ लाग्यो। हुर्किँदै गरेकी उनीमाथि मान्छेरुपी दानवहरूको नजर लाग्यो।

शुक्रवारदेखि शनिवार मध्यान्हसम्म नरपिशाचहरुले बसभित्रै उनको इज्जत लुटिरहे। रोकिराखेको बसभित्रै उनीमाथि पटकपटक बलात्कार गरियो। उनीमाथिको बलात्कारको श्रृङ्खला शुक्रबार दिउँसोबाट सुरु भएको थियो। 

भक्तपुरका प्रहरी निरीक्षक राजकुमार थापाका अनुसार रत्नपार्कबाट नम्बर खुल्न नसकेको गाडीका सहचालक दीपेश राई भन्‍ने ती किशोरीलाई शुक्रबार दिउँसो नसालु पदार्थ र पानी खुवाएर सूर्यविनायकसम्म पुर्‍याए।

शुक्रबार राति किशोरीमाथि जवरजस्ती करणी गरी दीपेशले ती किशोरीलाई राति नै सूर्यविनायकमा पार्किङ गरी राखेको बा ३ ख २६१२ नम्बरको गाडीमा राखेर भागेका थिए।

एकजनाले इज्जत लुटिसकेपछि बसमै लडेकी उनीमाथि अन्य दुईले पनि बलात्कार गरेका थापाले बताए। उनका अनुसार किशोरीमाथि फेरि अर्का दुई युवाले पटकपटक बलात्कार गरेको खुलेको छ।

बा ३ ख २६१२ नम्बरको बस चालक भक्तपुरको सूर्यविनायक बस्‍ने सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-१० घर भएका २२ वर्षीय निरकुमार खड्का र अर्को बसका कर्मचारी जुगल गाउँपालिका-४ घर भएका सूर्य श्रेष्ठले किशोरीको इज्जत लुटेका थिए।

उनीहरुले शनिबार बिहान सूर्यविनायकबाट गाडीमा राखेर चाँगुनारायण नगरपालिका-८ स्थित हनुमन्ते खोलाको तीरमा पुर्‍याई उनलाई पटक पटक बलात्कार गरेका थिए। त्यसपछि किशोरीलाई सूर्यविनायकमा ल्याई गाडीभित्रै छाडिदिएका खुलेको प्रहरी निरीक्षक थापाले बताए। 

पालैपालो अत्याचार

दुई दिनदेखि एकपछि अर्को बसमा राखेर तीन युवकले पटक पटक बलात्कार गरेपछि उनलाई सूर्यविनायकस्थित पार्किङको बसभित्रै छाडेका थिए। स्थानीयले बसभित्र किशोरी देखेपछि प्रहरीलाई जानकारी गराउँदा घटना बाहिर आएको हो।

घटनाबारे थाहा पाउनेबित्तिकै  महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीको टोली शनिवार राति ९ बजेतिर बस पार्किङ गरिराखेको ठाउँबाट युवतीको उद्धार गरेको हो। प्रहरीले बलात्कारमा संलग्‍न भनिएका तीन आरोपीमध्ये खड्का र श्रेष्ठलाई पक्राउ गर्न सफल भएको छ। 

तर सुरुमा बलात्कार गर्ने दिपेश अझै फरार छन्। बलात्कृत किशोरी सिन्धुपाल्चोककै रहेको खुलेको छ। आर्थिक अवस्था कमजोर भएको परिवारकी उनी अन्य व्यक्तिको सहारामा काम गरी काठमाडौंमा बस्दै आएकी थिइन्।

परिवार र आफन्तको सहारा नभएका कारण अहिले उनलाई मानव कल्याण समाज (सेवा घर) भक्तपुरले संरक्षण दिएको छ। ती किशोरी यसअघि पनि आफ्नै दाजु पर्ने व्यक्तिबाट बलात्कृत भएको खुलेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.