वडामै जान बेनी नगरपालिकाको निर्देशन, अभिभावक पनि हर्षित

|

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रकाश माविले विद्यार्थीलाई पायक पर्ने ठाउँमै पुगेर घुम्ती कक्षा सञ्चालन गरेको छ। लामो समयसम्म विद्यालयमा नियमित पठनपाठन सञ्चालन हुन नसके पनि वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरिरहेको विद्यालयले विद्यार्थीका नजिक पुगेरै पठनपठानलाई निरन्तरता दिन थालेको हो। 

कोभिड–१९ संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि भन्दै सरकारले विद्यालय बन्द गरेपछि वार्षिक परीक्षा सकेर विद्यालय बन्द भएपछि घरमै बसेका विद्यार्थीलाई अनुकूल हुने स्थानमै कक्षागत शिक्षक पुगेर पढाइ सुरु गरिएको प्रधानाध्यापक हरिकृष्ण सुवेदीले बताए। 

‘लकडाउनकै अवधिमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गरिरहेका थियौं, ‘यो अभियानले निरन्तरता पाउँछ’ प्रअ सुवेदीले भने। अभिभावक र विद्यार्थीलाई कोरोनाबाट जोगिने सुरक्षाका उपायका साथै कक्षा सञ्चालन अगाडि सेनिटाइजरको समेत प्रयोग गर्ने गरिएको छ। 

इन्टरनेट, टेलिभिजनको पहुँचमा नभएका विद्यार्थीलाई लक्ष्य गरी पहिलो चरणमा मिलनचोक, लामाखेत, पर्वतबेनी, बौर क्षेत्रका साथै म्याग्दीको बेनी नगरपालिकाको डम्बरा, चुत्रेनी, खवरा लगायत सेवा क्षेत्र भित्र आलोपालो पुगेर कक्षा लिने गरेको विद्यालयका शिक्षक सन्तोष सुबेदीले बताए।

उनका अनुसार इन्टरनेटको सुविधा भएका विद्यार्थीलाई गएको वैशाख महिनादेखि नै जुम, भाइबर र फेसबुकको म्यासेन्जरबाट कक्षा सञ्चालन गरिएको छ। विद्यालयका शिक्षकले साम्रगीसमेत तयार गरी विद्यार्थीलाई दिने गरेका छन्। 

त्यस्तै बेनीबजार भित्रका बालबालिकाहरु विद्यालयमै पुगेर समेत कक्षा लिने गरेको विद्यालयले जनाएको छ। बेनी नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई कोरोना शिक्षा दिएर वडास्तरमै जान निर्देशन दिएको छ।

जिल्लाका अन्य सामुदायिक विद्यालयले समेत विद्यालय बन्द भएपछि विभिन्न माध्यमबाट अभियान सञ्चालन गरिरहेका छन्। विद्यालयका शिक्षक घरदैलोमै पुग्न थालेपछि अभिभावकसमेत उत्साहित भएका छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.