कञ्चनपुर : नेपाल नागरिक उड्डयन प्राधिकरणले बन्द अवस्थामा रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि कार्य अगाडी बढाउने भएको छ। विमानस्थल निर्माणका लागि फागुन देखि प्राधिकरणले संरचना निर्माण कार्य अघि बढाउने भएको छ।
सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउँदै दुई दशकदेखि बन्द विमानस्थल सञ्चालनका लागि गत वर्ष सम्भाव्यता अध्ययन गरिएपछि रनवे, टर्मीनल लगायतका संरचना बनाउने प्रक्रिया थालनी गर्न लागिएको हो।
गत वर्ष इन्जिनियर गुरुदत्त अधिकारी नेतृत्वको प्राविधिक समितिले एक हजार पाँच सय २५ मिटरको रनवेमा जहाज उडाउन सकिने सुझाव दिएपछि प्राधिकरणले त्यसैअनुसार तयारी अघि बढाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्भाव्यता अध्ययन गराएको हो।
‘सरकारले यस वर्षका लागि बजेट छुट्याएको छ, त्यसबाट रनवे पीच, ग्राउण्ड फिलिङ्ग लगायतका कार्य गर्न फागुनभित्रै ठेक्का गरी निर्माण अघि बढ्छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले भने, ‘अहिले भएकै बजेटबाट ठेक्का गरी अघि बढ्छौ, त्यसमा स्रोत जुटाउन पहल गरिनु आवश्यक छ।’
प्राधिकरणले विमानस्थल सञ्चालनका लागि रनवे, टर्मिनल निर्माण लगायतका संरचना बनाउन मात्रै बनाउन ३७ करोड रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरेको छ। गत वर्ष प्राविधिक समितिले ती सबै संरचनासहित विमानस्थल सञ्चालनका लागि ६४ करोड रुपैयाँ बजेट चाहिने अनुमान गरेको थियो।
‘फागुनभित्र काम शुरू गरी संरचना बनाउन तत्काललाई ३४ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ, अहिले त्यसै बजेटलाई जुटाउन आवश्यक छ,’ इन्जिनियर श्रेष्ठले भने, ‘त्यसका लागि यहाँका स्थानीय, संघ र प्रदेश तहबाट सहयोग पाए बजेट सहज हुन्छ।’ इन्जिनियर श्रेष्ठसहितको टीमले विमानस्थल निरीक्षण गरी सञ्चालनका लागि तिनै तहका सरकारका प्रतिनिधिको प्रतिवद्धता समेत मागेका छन।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विमानस्थल सञ्चालन सबैको माग भएकाले सबै क्षेत्रबाट सहयोग हुने बताए। ‘सञ्चालनको सम्भाव्यता अध्ययन गरिएको छ, त्यसका लागि मोडालिटी आएका छन, त्यसमध्ये कुनमा उपयुक्त हुन्छ, त्यसका आधारमा छलफल गरी अघि बढ्न सकिन्छ,’ उनले भने, ‘सबैबाट सहयोग हुन्छ।’
विमानस्थल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भएपछि गत वर्ष भीमदत्त नगरपालिका सहित संघ र प्रदेश सरकारको बजेटबाट तारबार गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तारबार शिलान्यास गरेका थिए। मन्त्री भट्टराईले विमानस्थल सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएका थिए।
भीमदत्त नगरपालिका-१६, मझगाउँस्थित विमानस्थल २०५४ मा बन्द भएको थियो। त्यसपछि बन्द विमानस्थल सञ्चालनका लागि २०७४ को निर्वाचनपछि पहल गरिएको थियो।
पूर्व वन अधिकृत रमेशचन्द ठकुरीको नेतृत्वमा स्थानीयले समिति गठन गरी विमानस्थल सञ्चालनका लागि सरकारलाई दबाव दिएका थिए। चन्द नेतृत्वको समितिले काठमाडौंमा गएर विमानस्थल सञ्चालनका लागि दबाव दिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।