समन्वय गर्न मन्त्रालयले नै कर्मचारी खटायो

|

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रण गर्न उपत्यकाका काठमाडौं र ललितपुर महानगरपालिकाको व्यवस्थापन पक्ष कमजोर भएपछि स्वाथ्य तथा जनसंख्या मन्त्रालयले समन्वय गर्नको लागि दुई सहसचिव खटाएको छ।

उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं र ललितपुर उपमहानगरपालिका तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच समन्वय गर्न सह-सचिव (११ औं तह)लाई खटाइएको हो।

मन्त्रालयले काठमाडौं महानगरपालिकामा समन्वय गर्न मन्त्रालयका सह-सचिव डा. मदन उपाध्याय र ललितपुर महानगरपालिकासँग समन्वय गर्न सह-सचिव रीता जोशीलाई खटाएको छ। मन्त्रालयले आइतबार उनीहरूलाई सो जिम्मेवारी दिएको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङ तथा होम आइसोलेसनमा रहेका संक्रमितको निगरानी र धेरै गाह्रो भएका संक्रमितलाई स्थानीयतहले नै अस्पताल व्यवस्थापन गर्नुपर्नेमा त्यसो नभएपछि मन्त्रालयसँग समन्वय गर्न दुई सहसचिवलाई खटाइएको हो।

महानगरपालिकाभित्र भएका संक्रमितको केस इन्भेस्टीगेसन, कन्ट्रयाक ट्रेसिङ, होम आइसोलेसनमा रहेकाहरूको डिस्चार्ज व्यवस्थापन र बेड नपाएका बिरामीहरूलाई अस्पताल भर्ना र एक अर्को अस्पताल सार्नका लागि समन्वय गर्ने गरी जिम्मेवारी तोकिएको प्रवक्ता गौतमले बताए।

मन्त्रालयले कोभिड-१९ को व्यवस्थापनमा उपत्यकाका महानगरपालिकाको व्यवस्थापन पक्ष कमजोर रहेको निष्कर्ष निकालेको छ। महानगरपालिकाले बाहिरबाट आएका मानिसलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न नसक्दा उपत्यकामा महामारीले प्रकोप लिएको मन्त्रालयको ठहर छ।

साथै, होम आइसोलेसनमा बसेकाहरूलाई नियमित फलोअप पनि नभएको गुनासो बढ्दै गएको छ। काठमाडौं महानगरपालिकासँग समन्वय गर्ने जिम्मा पाएका डा. उपाध्यायले प्रदेश-२ मा पनि जारी महामारी नियन्त्रण तथा व्यवस्थापनको काम गरेका थिए।

मंगलबार काठमाडौँ उपत्यकामा थप एक हजार १७ जनामा कोरोना संक्रमण देखिएको छ। यो संख्या गत सातायताकै कम भएपनि देशभर मंगलबार पहिचान भएका संक्रमितको ६५.५७ प्रतिशत हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.