|

काठमाडौं : चिनजानकी दिदीसँग गार्मेन्टमा काम गरेर घर फर्कंदै थिइन् उनी। बेलुकी भइसकेको  थियो। दिदी ‘पानी किनेर आउँछु, एकछिन यहाँ बस्दै गर’ भन्दै उनलाई रत्नपार्कमा छाडेर गएको पाँच मिनेट पनि भएको थिएन, मौका हेरिरहेका यौनपिपाशुहरूले उनलाई झम्टिए।

मुखमा जबरजस्ती ट्याबलेट (नशालु औषधि) कोचिदिए। प्रतिकार गर्दै ‘के गरेको यस्तो?’ भन्‍न भ्याएकी मात्र थिइन् कराए मारिदिने धम्की दिँदै पानीको बोतल कोचिदिए र अनि सुरु भयो उनको बेहोसीपूर्ण दुर्दशा।

उनी तिनै किशोरी जो, गत शुक्रबार रातिदेखि शनिबार मध्यान्हसम्म ३ युवकहरूको पिँजडामा छट्पटाइन्। सिन्धुपाल्चोक घर भएकी उनी करिब ९ वर्षअघि नै आमासँग आएर काठमाडौंको सामाखुशीमा बस्दै आएकी थिइन्। सौतेनी बाबु वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन्।

बुबा बितेपछि आमाले अर्को विवाह गरिन्। तर, उनलाई साथमै राखेर आमाले जसोतसो ८ कक्षासम्म पढाइन्। दुई वर्षअघि आमाले उनलाई गाउँकै चिनजानको एउटी नाताले दिदी पर्ने कहाँ लगेर राखिदिइन्। उनै महिला (दिदी)सँग उनले गार्मेन्टमा काम गर्न थालिन्। 

कक्षा ८ पास गरेपछि उनको नौ कक्षा पढ्ने रहर पूरा हुन सकेन। त्यसमा पनि कोरोना महामारी उनका लागि थप अभीशाप बनेर आयो। मुलुकमा लकडाउन, निषेधाज्ञा भयो। आमाले यहाँ गुजारा चलाउन नसकिने भयो भनेर उनलाई तिनै महिलाकोमा छाडेर गाउँ फर्किइन्। 

गार्मेन्टमा काम गरेर उनी गत शुक्रबार पनि दिदीसँगै घर फर्कंदै थिइन्। तर, उनलाई जबरजस्ती बेहोसीको औषधि खुवाएर गाडीमा राखी भक्तपुर पुर्‍याइयो र पटक-पटक बसभित्रै बलात्कार गरियो। उनले अर्धचेत अवस्थामा रहँदा अपराधीहरूको अनुहारसम्म च‍िन्‍न भ्याएको प्रहरीमा बयान दिएकी छन्। 

‘शुक्रबार रात परिसकेको थियो, दुई तिनजना केटाहरूले मुखमा औषधि कोच्याइदिए, मैले के गरेको यस्तो भन्दा कराइस् भने मारिदिन्छौँ भन्दै धम्क्याए र पानी कोच्याइदिए, त्यसपछि मलाई केही थाहा छैन, बिउँझिदा ठाउँ थाहा छैन, एउटा बसभित्र थिएँ। होस आउनेबित्तिकै एकजनाले ममाथि कुकर्म गर्‍यो। त्यसको धेरै बेरपछि दुई जना केटा मान्छे आएर पालैपालो मेरो इज्जत लुटे’ सोधपुछ गर्ने क्रममा निकै गाह्रो भयो उनलाई यो सबै पीडा सुनाउन’, मानव कल्याण समाज सेवा घर भक्तपुरकी संस्थापक सदस्य एवं शाखा प्रमुख सशीला चौलागाईले भनिन्। 

‘आजसम्म हामीले धेरै पीडितहरूको सेवा गर्‍यौँ, तर उनको पीडा निकै दर्दनाक छ, जसबारे उनले सुनाइरहँदा मैले पनि आँसु थाम्‍न सकेकी थिइनँ’ चौलागाईंले अगाडि भनिन्। किशोरीलाई अहिले धुलिखेल २८ किलोमा रहेको सेवाघरको शाखामा राखिएको छ। तर, उनी मानसिक रूपमा विक्षिप्त अवस्थामा छिन्। ‘अहिले पनि उनीसँग कुराकानी गर्ने अवस्था छैन, जहाँ बस्यो, त्यहीँ निदाइदिने, राम्रोसँग धेरैबेर कुरा गर्न पनि सकिरहेकी छैनन्।’  

मानव कल्याण समाज सेवा घरकी संस्थापक अध्यक्ष सुमित्रा चौलागाईं भन्छिन्, 'उनलाई रिफ्रेस हुन दिएका छौँ, त्यसपछि काउन्सिलिङ गरेर उनको परिवार खोज्छौं। परिवारमा बुझेर सुरक्षित भए जिम्मा लगाएर पठाउँछौं, नभए अरूलाई जस्तै यहीँ राखेर संरक्षण गर्छौं।’ तीन जना युवाले बलात्कार गरेको घटना सम्बन्धमा प्रहरीमा जाहेरी दिने क्रममा ती किशोरीले यसअघि आफ्नै दाइबाट समेत बलात्कृत भएको खुलाएकी थिइन्।

सेवाघर भक्तपुरकी शाखा प्रमुख चौलागाईंले उनी परिवारमै पनि सुरक्षित नभएको हुनसक्ने भन्दै परिवारसँग सम्पर्क गरी किशोरीलाई घटना हुनुअघि रत्नपार्कसम्म ल्याउने दिदी भन्ने महिलाका सम्बन्धमा पनि थप अनुसन्धानको माग गरिएको बताइन्। 

पाँच दिन म्याद थप

बलात्कारमा संलग्‍न भक्तपुरको सूर्यविनायक बस्ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-१० घर भएका २२ वर्षीय नीरकुमार खड्का र जुगल गाउँपालिका-४ घर भएका सूर्य श्रेष्ठलाई प्रहरीले शनिबार राति नै पक्राउ गरिसकेको छ भने अर्का दीपेश राई भन्ने युवक फरार छन्। 

भक्तपुर प्रहरीले पक्राउ परेका दुई अभियुक्तमाथि अदालतबाट पाँच दिनको म्याद लिएर जबरजस्ती करणी, बलात्कारको मुद्‍दामा उनीहरू माथिको अनुसन्धान अघि बढाएको छ। 

‘उनीहरूको बयान लिने क्रम चलिरहेको छ, फरार एकजनाको पनि ठेगाना खुलेको छ, उसलाई पक्राउको नजिक पुगेका छौं, महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार थापाले भने, 'बलात्कारको अभियोगमा मुद्धा चलाएका छौँ। पीडित युवतीलाई घर पठाउने अवस्था छैन। आफ्नो बुबाको मृत्यु भइसकेको, आमाले छाडेर गएको र आफ्नै दाइबाट समेत बलात्कृत भएको अवस्था छ, यस्तो अवस्थामा कसरी घर पठाउने? त्यसैले सेवाघरमै संरक्षणमा छिन्।' ​

यसरी भएको थियो अत्याचार

प्रहरी निरीक्षक राजकुमार थापाका अनुसार किशोरीलाई शुक्रबार दिउँसो नखुलेको नम्बरको एउटा गाडीका सहचालक दीपेश राई भन्ने युवकले रत्नपार्कदेखि सूर्यविनायकसम्म लगी जबरजस्ती करणी गरेका थिए। 

त्यसपछि उनले किशोरीलाई सूर्यविनायकमा पार्किङ गरी राखेको बा३ख २६१२ नम्बरको गाडीभित्र छाडी गएका थिए। बसभित्र रहेकी किशोरीलाई फेरि सोही बसका चालक नीरकुमार खड्का र अर्को बसका स्टाफ सूर्य श्रेष्ठले शनिबार बिहान १० बजेतिर चाँगुनारायण नगरपालिका-८ स्थित हनुमन्ते खोलाको तिरमा लगि १ घण्टासम्म दुई-दुईपटक करणी गरी पुनः सूर्यविनायकमा ल्याई गाडीभित्र छाडिदिएको पाइएको प्रहरी निरीक्षक थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.