अब निर्माणको महाभारत चल्नेछ : मन्त्री फुयाँल

|

काभ्रे : काभ्रेको महाभारत गाउँपालिकाको तीनखुट्टे–खोलाघारी–देवीटार सडक खण्डमा कालोपत्रे हुने भएको छ। गाउँपालिकाको पिन्थली–रजाबास–चारकिल्ला–तीनखुट्टे–देवीटार–घर्तिछाप–गोकुले सडक आयोजनाको दोस्रो खण्ड अन्तर्गत पर्ने तीनखुट्टे–खोलाघारी–देवीटार सडक खण्डको सडकको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले शिलान्यास गरेको हो।

सडक शिलान्यास गर्न काभ्रेको महाभारतस्थित् खोलाघारीमा पुगेका मन्त्री फुयाँलले सडक पहुँचसँगै पर्यटन लगायतका विकासको प्रचुर सम्भवना बोकेको महाभारतमा अब निर्माणको महाभारत चल्ने बताए।

‘पिन्थली, देवीटार हुदै गोकुले सडक अयोजनामा पर्ने दुई खोलाको लागि पक्की पुलको लागि थप वजेटको व्यवस्था गर्नेछु’ मन्त्री फुयाँलले भने, ‘४९ करोडमा करिब २६ करोड मात्रै ठेक्का सम्झौता भएकोमा बाँकी रकमको पनि यही क्षेत्रमा नै छिट्टै बोलपत्र आह्वान गर्नेछु।’

कार्यक्रमा महाभारत जाने धेरै इच्छा भए पनि पहिलो पटक आइपुगेको बताउँदै मन्त्री फुयाँलले महाभारतमा शिलान्यास र उद्घाटनको श्रङ्खाल निरन्तर चल्ने बताए। त्यस्तै उनले महाभारत र खानीखोलालाई विशेष लक्षित गरी प्राविधिक शिक्षा र टेलिकमको टावर (मोबाइट टावर)को लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

भौतिक पूर्वधार मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाहरुमा निर्माण गर्न लागिएको प्रादेशिक सडकमध्ये पिन्थली, देवीटार हुदै गोकुलेसम्मको सडक आयोजना पनि एक रहेको मन्त्री फुयाँलले बताए।

‘यो सडकको बाँकी रहेको दुई सडक खण्डको अधुरो कामलाई अर्को चरण प्रदेश सरकारले गर्ने योजना समेत रहेको छ’, उनले भने, ‘सिमित स्रोत साधनको प्रयोग गरेर बहुवर्षीय रुपमा प्रादेशिक सडकहरु निर्माण गर्दै जाने योजना रहेको छ।’

मन्त्रालयसँग रहेको बजेट अनुसार अहिले सडकको काम अगाडी बढाइएको र अधुरो रहने सडकको निर्माण कार्यलाई पुरा गर्न पुनः बजेटको व्यवस्था गरिएको दाबी उनले गरे।

त्यस्तै पूर्व-ऊर्जामन्त्री सूर्यमान दोङ ‘लालध्वज’ले महाभारत गापामा राजनीतिक, आर्थिक विकासका आभारभूत कुरा पुरा भएको बताए। उनले स्थानीय सरकारले अभि बढाएको विकासका अभियानलाई साथ दिन महाभारतबासीलाई अग्रहसमेत गरे।

त्यसैगरी, कार्यक्रमका सभापति तथा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले तीनखुट्टे–खोलाघारी–देवीटार सडक खण्डसँगै तीन सडक खण्डको काम सम्पन्न भएपछि सडक सहज भएसँगै महाभारतको बाटो हुँदै दोलाख, रामेछाप लगायतदेखि प्रदेश राजधानी हेटौँटा जाने आन्तरिक पर्यटक तथा धरान–विराटनगरसम्म निस्कने पर्यटकको लागि पनि सहज हुने बताए।

त्यस्तै महाभारत गाउँपालिकाका स्थानीय ६९ वर्षीयका बृद्ध वीरध्वज तामाङले यसरी गाउँमा कालोपत्रे हुन्छ भन्ने जीवनमा कहिले नसोचेको बताए। ‘हामी सदरमुकाम जाँदा साथमा रासन पानीसमेत बोकेर नाङ्गो खुट्टाले हिढ्दै जाने गथ्र्यौ, तर अहिले गाउँमा गाडी आएको छ’, उनले भने ‘त्यति मात्र होइन, अहिले त घर आगाडिकै बाटो कालोपत्रे हुने कुरा सुन्दा सपना झै लागेको छ, यो सपना नभई वास्ताविकता हो।’ 

करिब २६ करोडमा ठेक्का सम्झौता

जिल्लाको विकट क्षेत्रलाई सदरमुकाम र प्रदेश राजधानी जोड्ने महत्व बोकेको उक्त सडक निर्माण भएको करिब एक दशकपछि ८.७ किलोमिटर सडक कालोपत्रे हुन लागेको छ।

सडकका लागि २०७९ साल असार ३० गते सम्ममा सडक स्तरोन्नति लगायतका संरचनाहरु तथा सडक कालोपत्रे सक्ने गरी श्रेष्ठ÷साक्षम जे.भी. सामाखुसी, काठमाडौँसँग ठेक्का सम्झौता भएको छ। करिब २६ करोड अर्थात् २५ करोड ८२ लाख १० हजार ३ सय १६ रुपैँया ७८ पैसामा कालोपत्रेका लागि सम्झौता गरेको (बागमती प्रदेश) पुर्वाधार विकास कार्यालय, धुलिखेलले जनाएका छन्।

 बागमती प्रदेश पुर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मीले निर्माण गरिने सडकको ५.७ मिटर चौडाई रहने सडकमा ढलान, नाली, तारजाली लगायत कालोपत्रेसमेत निर्माण गरिने बताए।

सडकले महाभारतका तीनखुट्टे, खोलाघारी, घ्याब्रिङ, देवीटार क्षेत्रलाई समेट्छ। उक्त सडकको पहिलो खण्ड पिन्थली–रजाबास–चारकिल्ला र दोस्रो खण्ड देवीटार–घर्तिछाप–गोकुले रहेका छन्। उक्त दुई सडक खण्डको कामपछि गर्ने गरी तत्काल गाउँपालिकाको केन्द्र अर्थात् कार्यालयसँग जोडिएको क्षेत्रमा पर्ने दोस्रो खण्डको सकड कालो पत्रे गर्ने लागेका हुन्।

नेपाल सुरुङमार्गमा प्रवेश

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले नेपाल सुरुङ मार्गमा प्रवेश गरेको बताए। उनले नेपाल सुरुङमार्ग प्रवेश गरेकोले अब विकास द्रुत गतिमा हुने दाबी गरे।

त्यस्तै मन्त्री फुयाँलले अबको विकास भनेको जनयुद्धमा दुश्मनसँग छल्दै अघि बढेझैँ कोरोनासँग पनि छल्दै–छल्दै अगाडि बढाउनु पर्ने र सोही अनुसार नै निर्माणको काम भइरहेको जानकारी दिए। उनले भने ‘कोरोनाले हामीलाई होइन, हामीले कोरोनालाई जित्नुपर्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.