'आइसियु, स्वास्थ्यकर्मी थपौँ, आइसोलेसन बनाऊँ'

|
फाइल फोटो

काठमाडौं : नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ। बुधबार ३४ सय ३९ जना नयाँ संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या २५ हजार सात पुगेको हो। 

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा लकडाउन गर्नुपर्ने सिफारिस सिसिएमसी र मन्त्रिपरिषदमा गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर तीव्र गतिमा बढेको निचोडसहित फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न पनि सिफारिस गरेको थियो।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बसेको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरे पनि अब त्यस अनुसार अघि नबढ्ने रणनीति सरकारले बनाएको छ।

अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न बेड उपलब्ध हुन्जेल लकडाउन नगरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले बताए। अहिले सबैभन्दा धेरै काठमाडौंमा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ।

सरकारले पनि कोरोना नियन्त्रणको मुख्य चुनौती काठमाडौंमै देखेको छ। काठमाडौं उपत्यकामा समस्या भए पनि देशका अन्य अस्पतालमा उपचारका लागि बेड अभाव नहुने भएकोले तत्काल लकडाउन गर्ने योजना नरहेको उनले बताएका छन्। 

'अहिले उपचार गरिरहेका केही सरकारी अस्पताललाई कोरोना उपचार केन्द्र बनाइन्छ। जनस्वास्थ्यको मापदण्ड पालना गरेमा अहिले पनि नियन्त्रणमा आउँछ,' प्रवक्ता गौतमले भने,' कोरोना नियन्त्रणको लागि सबै जिम्मेवार हुनुपर्छ। नागरिक देखि सरकार सबैले दायित्वबोध गर्नुपर्छ।'

'सक्रिय संक्रमितको अध्ययन गरिनुपर्छ'

अहिले बढेका सक्रिय संक्रमितको संख्याबारे अध्ययन गरी उपचार प्रक्रिया बढाउनुपर्ने स्वास्थ्य मन्त्रालयका सल्लाहकार जनस्वास्थ्यविद् डा.सुरेश तिवारी बताउँछन्। सक्रिय संक्रमितको संख्या बढिरहँदा अहिले उपचारमा कस्ता-कस्ता बिरामी छन्? त्यसको अनुगमन गरिनुपर्ने उनले बताएका छन्। 

कोरोनाबाट निको भएर जानेको संख्याको अध्ययन गरी उनीहरुले अपनाएको विधिलाई अनुशरण गर्नुपर्ने तिवारीले बताए। उनले भने,'संक्रमण दर बढिरहेको अवस्थामा स्वास्थ्यकर्मी र आइसियुको संख्या बढाउनुपर्छ। अक्सिजनसहितको आइसोलेसन बेड बनाउनुपर्छ।' आइसोलेसनमा २४ घण्टा स्वास्थ्यकर्मीसहितको व्यवस्था सरकारले तत्काल गर्नुपर्ने उनले प्रस्ट पारे।

लक्षण भएमा मात्र परीक्षणका लागि आममानिसलाई उनले आग्रह गरे। यदि घरमा कसैलाई लक्षण देखिएमा आइसोलेट गरिहाल्न उनले सुझाव दिए। घरमा रहेका वृद्ध तथा बालबालिकालाई बढी कोरोनाबाट बचाउनु पर्ने पनि तिवारीले बताएका छन्। 

लकडाउन कोरोना नियन्त्रणका लागि भरपर्दो माध्यम उनको ठहर छ। 'लकडाउन गर्दा पनि स्वास्थ्य संरचना निर्माण गर्न सकिन्छ भने लकडाउन ठीक छ, नत्र लकडाउन गरे पनि केही हुँदैन,' तिवारी भन्छन, 'काठमाडौंबाट गाउँमा गएका मानिसलाई क्वारेन्टाइनमा राख्न निश्चित मापदण्ड बनाइ काम गर्नुपर्छ।'

काठमाडौं हटस्पट भएको ठाउँबाट जाँदा अझ बढी संक्रमण दर बढने सम्भावना रहने उनले जानकारी दिए। क्वारेन्टाइनमा राखी काठमाडौंबाट गएका मानिसलाई व्यवस्थापन गर्न स्थानीय तह र नागरिक समाज बढी सक्रिय हुनुपर्ने उनले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.