भनेजस्तो मोबाइल नपाउँदा अभिभावक हैरान

|

धनगढी : धनगढी बसपार्क छेउको सञ्जीवनी मोबाइल पसलमा बुधबार बिहानैदेखि बाक्लो भीड थियो। त्यही भीडमा मोबाइल खोजिरहेका धनगढी–१४ का टीकाराम चौधरी नपाएपछि निरास देखिन्थे। 

छोराले अनलाइन कक्षा लिन मोबाइल खोजेपछि एन्ड्रोइड मोबाइल किन्न निस्किएका टीकारामले खोजेजस्तो मोबाइल पाएनन्। १० देखि १५ हजार बराबरको एन्ड्रोइड मोबाइल खोजिरहेका उनले मोबाइल नपाएपछि रित्तै हात घर फर्किए। 

टीकाराम जस्तै धनगढी उपमहानगरपालिका–१२ जुगेडाका विमल सिंह पनि छोराछोरीका लागि मोबाइल किन्न बिहानै धनगढी बजार पुगे। विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको झण्डै एक महिनापछि पैसाको जोहो गरेर मोबाइल किन्न निस्किएका उनी खाजेजस्तो मोबाइल नपाएर हैरानीमा धनगढी बजार चहार्दै थिए। 

उनका तीन जना छोराछोरी अनलाइनमार्फत पढ्छन्। एन्ड्रोइड मोबाइल किन्ने सोच बनाएका विमलले छुट्याएको बजेटअनुसारको मोबाइल नपाएपछि घर फर्किने तयारीमा थिए। 

विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेपछि बजारमा अहिले एन्ड्रोइड मोबाइलको माग ह्वात्तै बढेको छ। धनगढी बजारमा एन्ड्रोइड मोबाइल, ल्यापटप र ट्याबको यतिबेला अभाव छ।

अनलाइन कक्षा सञ्चालन हुन थालेपछि मानिसहरुले मोबाइल, प्याड वा ल्यापटप खरिद गरिरहेका छन्। जसका कारण माग बढेपछि बजारमा यस्ता सामानको अभाव हुन थालेको हो। 

पछिल्लो समय चीनबाट सामान नआउनु तथा भएको सामान बिक्री भइसकेकाले अभाव बढ्न थालेको व्यापारीहरु बताउँछन्। ‘बाहिरबाट सामान आइरहेको छैन, विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेपछि माग पनि दोब्बरले बढेको छ,’ उग्रतारा कम्प्युटरका सञ्चालन चेतन पाण्डेले भने, ‘लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपालमा ल्यापटप, प्याड र मोबाइल आयात गर्न सकिएको छैन, त्यसले गर्दा अभाव बढेको हो।’  

‘पहिले दसैंमा हुने मोबाइलको व्यापार यस वर्ष अनलाइन कक्षाले बनायो,’ सञ्जीवनी मोबाइल पसल सञ्चालक मुस्कान बमले भने, पहिले पहिले दसैंको बेला मात्रै मोबाइल खरिद बढी हुन्थ्यो, अहिले त्यो भीडभाड अनलाइन कक्षाले बढाएको छ।’ 

विद्यार्थीहरुको सजिलो माध्यम भएकाले एन्ड्रोइड मोबाइलको माग अत्यधिक बढेको उनको भनाइ छ। ‘सबैले हातहातमा चलाउन सकिने, डाटा लिएर चलाउन सकिने भएकाले माग बढेको हो।’

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष धनगढीमा ल्यापटप, मोबाइलको माग दोब्बरले बढेको छ।’ग्राहकहरुले राम्रो क्यामेरा भएको १५ देखि २० हजारको मोबाइल बढी किन्ने गरेका बमले बताए। 

‘अहिले बजारमा मोबाइलको उपलब्धता शून्य भने पनि भयो, कुनै पनि कम्पनीको मोबाइल बजारमा छैन, सबै ठाउँमा माग बढेको कारण बजारमा अभाव देखिएको हो,’ उनले अभावबारे यसरी बताए।  

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) कैलालीका अध्यक्ष नरेश धामीका अनुसार आजकाल बजारमा ल्यापटप, मोबाइलजस्ता ग्याजेटको माग सामान्य अवस्थाको दाँजोमा ६० प्रतिशतले बढेको छ।

विद्यालयहरु खुल्ने अवस्था नदेखिएपछि विद्यालयले अनलाइन कक्षाबाटै पढाइरहेका छन्। जसले गर्दा मोबाइल र ल्यापटप किन्ने क्रम अत्याधिक बढेको उनले बताए। धनगढी बजारमा मात्रै नभएर देशभरनै ल्यापटप र मोबाइलको अभाव रहेको उनको भनाइ छ। 

बजारमा पर्याप्त सामान नहुँदा ग्राहकले रोजेको ल्यापटप र मोबाइल पाइन छाडेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.