कोरोनाविरुद्ध सबै जुट्‍नु आवश्यक

|
फाइल फोटो

काठमाडौ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसी निःस्वार्थ सत्याग्रहमा बसेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो कुरा बताएका हुन्। 

गोविन्द केसीको अनसनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको समेत उनले बताएका छन्। तर, डा. केसीले अहिले बसेको अनसनको समय सान्दर्भिक नभएको उनले बताएका छन्। 

कोरोनासँग लड्नुपर्ने बेलामा डाक्टर केसीले अनसनको समयबारे सोच्नुपर्ने उनले बताएका छन्। 'डा. गोविन्द केसी १९ औं अनसनको २५ औं दिनमा हुनुहुन्छ। डा.केसीसँग कयौँ विषयमा असहमति हुन सक्ला र छन् पनि', उनले भनेका छन्, 'सबै मिलेर कोरोनाविरुद्ध जुझ्नु पर्ने बेलामा यसपटक अनसनको समयबारे सोच्नु पर्थ्यो भन्‍ने पनि धेरैलाई लागेकै छ।'

'तर के  कुरामा शंका छैन भने उहाँ निःस्वार्थ सत्याग्रही हुनुहुन्छ। उहाँको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन् र त्यो सबै नेपालीका लागि खुसीको कुरा हो', उनले लेखेका छन्। 

१९ औँ अनसनको २५ दिन भइसक्दा उहाँको जीवन रक्षामा सरकारले ध्यान दिनुपर्ने उनको तर्क छ। सरकारले वार्ता टोली गठन गरेर सकारात्मक पहल गरेको उनले बताए।  

'उहाँको जीवन महत्वपूर्ण छ र यतिबेला सरकार,उहाँ स्वयम् र हामी सबैले उहाँको जीवन रक्षामा ध्यान दिनु पर्दछ। यस सन्दर्भमा सरकारले हिजो डा. केसीसँग वार्ताका लागि वार्ता टोली गठन गरेर सकारात्मक पहल गरेको छ,' उनले लेखेका छन्, 'आशा गरौं, छिट्टै सकारात्मक निष्कर्षमा पुगिनेछ। समाधान हुनेछ।'

नेकपाले यसअघि नै डा. केसीको अनसनको समय उपयुक्त नभएको बताइसकेको छ। सरकारले यसअघिको माग पुरा गरिसकेको हुनाले वार्ताबाट समाधान हुनुपर्ने बताइसकेको छ। सरकार र डा. गोविन्द केसीको वार्ता टोलीको छलफल भइरहेको छ। बुधबार सरकार र डा. केसीको तर्फबाट वार्ता टोली गठन गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.