|

सल्यान : छत्रेश्वरी गाउँपालिका-२ बुराँसेका चित्रबहादुर केसी भास्कर सल्यानका एक कुशल राजनीतिकर्मी हुन्। विगत २५ वर्षदेखि राजनीतिममा सक्रिय केसी पार्टीको विभिन्न जिम्मेवारी पूरा गर्दै आइरहेका छन्। उनी अहिले राजनीतिक परिचयसँगै सफल कृषकको रुपमा पनि चिनिने गर्दछन्।

आफ्नो उर्वर जोवनदेखि हालसम्मको सम्पूर्ण समय राजनीतिमा खर्चिएता पनि आफ्नो जन्मभूमि कृषि निर्भर भएको भन्दै पछिल्लो समय केही बचेको समय राजनीतिसँगै कृषिमा खर्चिंदै आएका छन् चित्रबहादुर केसी भास्कर।

२५ वर्षदेखि सक्रिय रूपमा राजनीति गर्दै आएका भास्कर राजनीतिले मात्र जीविकोपार्जन गर्न नसकिने बताउँछन्। उनले भने, ‘राजनीतिलाई व्यवसाय बनाउन सकिँदैन बरु राजनीतिसँगै अरू नै व्यवसाय गर्न सकिन्छ। राजनीति मात्र सेवा हो।’ राजनीतिसँगै आय आर्जनको लागि विभिन्न खेती व्यवसाय गर्न आवश्यक रहेको उनको बुझाइ छ।

विस २०५२ देखि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ( माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा लागेर राजनीतिक जीवन सुरु गरेका उनी  नेकपा माओवादीको प्रदेश सदस्य, केन्द्रीय महाधिवेशन समिति सदस्य हुँदै सल्यान जिल्ला कमिटीका सदस्य हुन्।

हाल नेकपाका जिल्ला सदस्य रहेका उनले पछिल्लो समयमा राजनीतिक गतिविधिसँगै अर्थोपाजर्नका लागि कृषि पेशालाई अंगालेको बताए। उनले भने, ‘विगतमा जस्तो पूर्णकालीन भएर राजनीति गर्ने अवस्था छैन, त्यसैले जीविकोपार्जनका लागि कृषि पेशामा आवद्ध भएर काम गरिरहेको छु।’

वार्षिक ७ लाख आम्दानी

वि.स. २०६५ सालदेखि राजनीतिसँगै स्याउ र किवि खेती सुरु गरेपछि उनले सफल व्यवसायीको पनि पहिचान बनाएका छन्। स्याउ खेतीबाट उनको वार्षिक ५ लाख र किविबाट २ लाख रुपैयाँसँम्म आम्दानी हुन्छ।  प्राविधिकहरुले नै बुराँसेमा स्याउ र किवि खेतीका लागि उपयुक्त हावापानी रहेको बताएपछि यहि व्यवसाय रोजेको उनले बताए।

उनले भने, ‘अहिले म  सबै खर्च कटाएर वर्षमा ६ देखि ७ लाखसम्म आम्दानी गर्छु, बजारको कुनै समस्या नै छैन।’ १५ रोपनी क्षेत्रफलमा स्याउ र झण्डै १० रोपनी क्षेत्रफलमा किवि खेती गर्दै आइरहेका छन्।

अर्को वर्षदेखि किवि र स्याउको उत्पादन बढ्ने उनको भनाइ छ। उनले भने, ‘५ सय स्याउका बोटमध्ये अहिले एक सय जति मात्र बोटले फल दिई रहेका छन्। अर्को वर्षदेखि झण्डै आधाभन्दा बढी बोटले उत्पादन दिन्छन्।’

यस्तै, ३ सय किविका बोटमध्ये अहिले आधाले मात्र उत्पादन दिइ रहेको उनको भनाइ छ।

भाषण होइन काम गरेर देखाउन जरुरी

 युवालाई आफ्नै ठाउँमा व्यवसाय गर्नु पर्छ भनेर भाषण गर्नु भन्दा पनि काम गरेर देखाउँदा अरुलाई पनि प्रोत्साहन मिल्ने उनको भनाई छ। युवाहरुलाई विदेश नजाउँ भनेर मात्र नहुँने बताउँदै नेता भास्करले समाजका अगुवाहरुले नै कृषिलाई प्रमुख व्यवसाय बनाउनुपर्ने बताए।

उनले भने, ‘पार्टीका नेता कार्यकर्ताहरुले भाषण धेरै गर्ने तर काम केही नगर्ने भएकाले युवाले खासै विस्वाश गदैनन्। युवाहरुको विश्वास जित्न पनि आफूहरुले कुनै न कुनै पेशा व्यवसाय अंगाल्न जरुरी छ।’

पार्टीले पनि उत्पादनमा जोड दिने कार्यदिशा अगाडि सारेको र सरकारले पनि आर्थिक समृद्धिको नारार्ला अघि सारेको अवस्थामा आफैँ पनि त्यसमा सहभागी हुनुपर्छ भन्ने लागेर कृषि पेशालाई निरन्तरता दिएको उनको भनाई छ।

सिजनमा ६ जनालाई रोजगारी

२५ रोपनीमा व्यावसायिक फलफूल खेती गर्दै आइरहेका नेता भास्करले सिजनमा ६ जना  भन्दा बढीलाई रोजगारी दिने गरेका छन्। स्याउ र किवि गोडमेल गर्ने, काँटछाँट गर्ने र टिप्ने समयमा ६ जना भन्दा बढीलाई रोजगारी दिने गरेको उनको भनाई छ। उनले भने ‘सिजनमा सबै काम एक्लै गरेर भ्याइँदैन। काममा मानिस लगाउनुपर्छ।’  जसले गर्दा गाउँका बेरोजगार युवालाई केही हदसम्म भए पनि रोजगारी मिलेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.