पर्साबाट ८ केजी अफिम, १३१ केजी गाँजा र ४६ थान कोरेक्ससहित ३ पक्राउ

|

पर्सा :  खुल्ला सीमानाको फाइदा उठाउँदै लागुऔषध कारोबार गर्न तम्सिएका ३ अभियुक्तलाई प्रहरीले अलग-अलग ठाउँबाट पक्राउ गरेको छ।

अफिम ८ केजी, १३१ केजी गाँजा र ४६ थान कोरेक्ससहित फरक–फरक ठाउँबाट अभियुक्तहरुलाई पर्सा प्रहरी मातहतको प्रहरीले पक्राउ गरेको हो।

सीमा पार गराउन आफ्नै घरमा लुकाई छिपाई राखिएको अवस्थामा पर्साको कालिमाई गाउँपालिका वडा नम्बर १ तीनडुवियाबाट ८ केजी अफिमसहित स्थानीय २९ बर्षीय खोवारी प्रसाद राउत कुर्मीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

त्यसैगरी, रातको समयमा सीमा कटाउने दाउमा आफ्नै घरमा लुकाई छिपाई राखेको १३१ केजी गाँजा सहित पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ देउरिया टोलका ४० बर्षीय राज ओझैया थारुलाई पनि पर्सा प्रहरी मातहतको प्रहरीले बिहीबार पक्राउ गरेको पर्साका प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले बताए। 

प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा २ अभियुक्तहरुको घरमा नै प्रहरी टोली पुगेर लागुऔषधसहित पक्राउ गर्न सफल भएको उनको भनाइ छ। त्यसैगरी, अर्का एक अभियुक्त भने भारतको रक्सौल पुगी सील बोर्डर उपारबाट तयारी अवस्थाको लागु औषध कोरेक्स ४६ थान लिएर आउँदै गर्दा पर्साबाट पक्राउ परेका छन्। 

निशेधाज्ञा खुकुलो भएसँगै सीमानाको मुख्य नाका छली चोर बाटोबाट लागुऔषध ओसारपसार गर्ने ती युवक मकवानपुर उपमहानगरपालिका एचआइडी बस्ने २० बर्षीय अशोक थापा रहेको पर्सा प्रहरीले जनाएको छ।

थापाले प्रदेश नम्बर ३–०३–००१ प. ६५०९ नम्बरको मोटरसाइकल पर्साको अलौबाट नेपाल प्रवेश गर्नासाथ त्यहाँको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक कुँवरले बताए। अभियुक्त थापाले भारतको रक्सौलबाट झोलामा उक्त परिणामको कोरेक्स ल्याउँदै थिए उनले भने।

माथि उल्लेखित नाम भएका अभियुक्तहरु उदाहरण मात्र भएको पर्सा प्रहरीको दावी छ। यी मात्र नभई हरेक दिन नेपाली युवा तथा विपन्नहरु लागु औषध कारोवारका क्रममा पक्राउ पर्ने क्रम बढिरहेका पर्सा प्रहरीले जनाएको छ। कुनै लतमा लागेका र केही बन्दीको समयमा पनि आर्थिक हानी पुर्ताल गर्ने गरी एकै पटक बढि पैसा कमाउने ध्याउन्नमा लाग्दा लागु औषधमा धेरै मानिस परिरहेको पर्साका प्रहरी प्रवक्ता कुँवरले तर्क गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.