|

काठमाडौं : नेपालमा पछिल्लो समय दिनप्रतिदिन कोरोना संक्रमित बढिरहेका छन्‌। लामो समयसम्म लकडाउन र निषेधाज्ञा लगाएपनि सरकारले कोरोना संक्रमण नियन्त्रणमा लिन सकेन।

स्थानीय सरकारले पनि कोरोना रोकथाम गर्न नसकेको गुनासो आम सर्वसाधारणले गरिरहेका छन्‌। लकडाउन र निषेधाज्ञा हटाएसँगै देशैभर मानवीय आवतजावत बढिरहेको छ। यसो हुँदा संक्रमण झन्‌ फैलँदो छ। 

उपत्यकाका केही स्थानीय तहले कोरोना नियन्त्रणमा कसरी काम गरेका छन्‌ भनी हामीले बुझ्ने प्रयास गरेका छौं। 

गोकर्णेश्वर नगरपालिका

गोकर्णेश्वर नगरपालिका, स्वास्थ्य तथा वातावरण शाखाका प्रमुख हरिप्रसाद उपाध्यायले जति कोरोना संक्रमित बढिरहेका छन्‌, त्यति नै तीव्र गतिमा कन्ट्याक्ट ट्रेसिङका गरिरहेको बताउँछन्‌। ​उनका अनुसार कन्ट्याक्ट ट्रेसिङका लागि तीन– तीन जनाको दुईवटा सिआइसिटी टीम बनाइएको छ।

नगर क्षेत्रभित्रका नागरिकको स्वाब संकलन गरेपछि केन्द्रीय स्वास्थ्य प्रयोगशालामा पढाइन्छ। केन्द्रीय प्रयोगशालाले पोजेटिभ भनेर एसएमएस पठाएपछि कम्प्युटरमा पनि भेरिफाइ गरिन्छ। उनले भने, ‘सम्बन्धित व्यक्तिको नम्बर हुन्छ, फोन गरेपछि सबै लक्षण छ कि छैन भनेर सबै हामी विवरण लिन्छौं, कोठा के–कस्तो छ भनी बुझ्छौं।’

लक्षण नभएमा सरकारको योजनाअनुसार होम आइसोलेसनमै राख्ने गरेको उनले बताए। ‘प्रत्येक वडाले फोनबाटै वा त्यहीँ गएर स्वास्थ्य मापदण्ड अपनाएर होम आइसोलनमा बस्ने संक्रमितको अवस्था बेलाबेलामा बुझ्छौं,’ उनले भने, ‘लक्षण देखिएमा कोभिड संक्रमित बोक्ने छुट्टै एम्बुलेन्स पठाउँछौं। त्यसपछि अस्पताल लगेर उपचार गराउँछौं।’ 

कोरोना संक्रमित भएका घरका परिवारलाई सामाजिक दूरी कायम गराउँदै छुट्टाछुट्टै कोठामा राख्ने गरेको उनले बताए। उनले भने, ‘कुनै व्यक्ति संक्रमित भइसकेपछि त्यो व्यक्ति कोकोसँग सम्पर्कमा रहेको भनी हामी नाम संकलन गर्छौं।'

संक्रमित व्यक्तिको सम्पर्कमा आएकालाई पाँच दिनभित्रमा बोलाएर गोकर्ण प्राथमिक अस्पतालमा निःशुल्क स्वाब संकलन गर्ने गरिएको उनले जानकारी दिए। उनका अनुसार नगरपालिकाभित्र ६ सय भन्दा बढी कोरोना संक्रमित व्यक्ति भेटिएका छन्‌। १७ सय २५ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ।

काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिका कोभिड फोकल पर्सन ज्ञानु वलीले व्यवस्थित ढंगले नै कन्ट्याक्ट ट्रेसिङ गरेको बताए। उनले भने, ‘अहिले कोरोना संक्रमण दर बढिरहेको छ। हामीले पनि संक्रमितसँगको सम्पर्कमा रहेका सबैको व्यवस्थित ढंगले कन्ट्याक्ट ट्रेसिङ गर्दै आएका छौं।’

संक्रमितको सम्पर्कमा आएका मानिसलाई पहिलो प्राथमिकतामा राख्दै सबै वडाका जनप्रतिनिधि सक्रिय रहेर काम गरिरहेको उनको भनाई छ। लकडाउन खुलेकाले बढी चहलपहल हुँदा महानगरपालिका भित्र संक्रमित संख्या बढ्दै गएको तर्क उनको छ। महानगरले पछिल्लोपटक गरेको कोरोना अपडेटको विवरण अनुसार १२ हजार चार सय २४ जना कोरोना पुष्टि भएको छ।

चार सय ११ कोरोना संक्रमित सम्पर्क बाहिर छन्। होम आइसोलेसनमा चार हजार दुई सय ५७, अस्पतालमा ६ सय ५७, संस्थागत आइसोलेसनमा पाँच सय ३३ छन्। सक्रिय संक्रमित पाँच हजार चार सय ४७ जना छन्‌। कोरोनामुक्त ६ हजार सात सय ५३ जना भएका छन्‌। महानगरभित्र अहिलेसम्म ८७ जनाको मृत्यु भएको छ। अहिलेसम्म १७ हजार चार सय ९३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ। 

भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्रका प्रमुख रत्नसुन्दर रासिवाले कन्ट्याक्ट ट्रेसिङबाट कोरोना संक्रमण तथा रोकथाममा पहल गरिरहेको बताए। उनी भन्छन्‌, ‘कुनै व्यक्तिमा कोरोना लागे वा बाहिरबाट आएमा सूचना आउँछ। त्यसपछि हामी वडाहरुलाई जानकारी गराउँछौं। ती व्यक्तिको व्यक्तिगत विवरणदेखी लक्षण छ की छैन भनेर सबै हेर्छौं। लक्षण देखिएर धेरै समस्या देखापरे तत्कालै अस्पतालमा लैजान्छौं।’

उनका अनुसार हालसम्म नगरपालिकाभित्र आठ सय तीन जना कोरोना संक्रमित व्यक्ति भेटिएका छन्‌। दुई सय ८९ जना होम आइसोलेसनमा छन भने  एक सय ४८ जना अस्पतालको आइसोलेसनमा छन्‌। अरु डिस्चार्ज भएका छन्‌। सर्वसाधारणले अटेर गरेकै कारण पछिल्लो समय संक्रमित बढिरहेको उनको भनाई छ।

‘भक्तपुर भनेको धेरै घनाबस्ती र जनसंख्या भएको ठाउँ हो,’ उनले भने, ‘हामीले अनिवार्य मास्क लगाउनु भनेर जनचेतना फैलाइरहेका छौं। तर, लगाउँदैनन्। सामाजिक दुरी कायम पनि गर्दैनन्। त्यसैले संक्रमण फैलिएको हो। हामीले सक्दो पहल त गरिरहेका छौं।’

उनका अनुसार नगरपालिकामा ७५ बेडको आइसोलेन वार्ड बनाइएको छ। अहिले २३ जना मात्रै सो वार्डमा छन्‌। निजी ल्याबहरूले तत्कालै जनप्रतिनिधिहरूलाई जानकारी नगराएकाले पनि बेलैमा ट्रेसिङ गर्न नसक्दा संक्रमण फैलिएको उनको तर्क छ। 

ललितपुर महानगरपालिका 

ललितपुर महानगरपालिका कोभिड फोकल पर्सन देवी गुरुङ कोरोना संक्रमण रोकथाम गर्नका लागि पहल गर्दैगर्दा सर्वसाधारणको बेवास्ताका कारण संक्रमण फैलिएको बताउँछिन्। उनका अनुसार महानगरपालिकाले सचेतना दिएपनि आम सर्वसाधारणले स्वास्थ्य मापदण्ड पूरा गरिरहेका छैनन्।

उनले भनिन्‌, ‘कोरोना संक्रमण रोकथामका लागि हामीले टीम नै गठन गरी तीव्र गतिमा ट्रेसिङ गरिरहेका छौं। संक्रमित व्यक्तिको सम्पर्कमा रहेकालाई हामी आफैँ खोजेर सम्पर्कमा ल्याउँछौं। स्वाब संकलन गर्छौं। तर, सर्वसाधारणले मास्क बिनै हिँडिदिन्छन्‌।’

उनका अनुसार ललितपुर महानगरपालिका भित्र अहिलेसम्म २२ सय आठ जना संक्रमित भएका छन्‌। अहिले नो सय ६२ जना सक्रिय संक्रमित छन्‌।

चन्द्रागिरी नगरपालिका

चन्द्रागिरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुधा महर्जनले स्थानीयको सहयोगमा कन्ट्याक्ट ट्रेसिङ गरिरहेको बताइन। उनले भनिन्‌, ‘हामीले कन्ट्याक्ट ट्रेसिङका लागि टिम गठन गरेका छौं। त्यही टिमले कन्ट्याक्ट ट्रेसिङ गर्छ। कसैलाई शंकास्पद भएमा स्थानीयले पनि जानकारी गराउँछन्। विभिन्न सचेतना पनि दिइरहेका छौं।’

अहिले पनि संक्रमितसँग सम्पर्कमा रहेकाहरुको खोजीकार्य गरिरहेको जानकारी दिइन। लकडाउन खुलेकाले पछिल्लो समय नगरपालिकाभित्र पनि संक्रमित बढिरहेको उनको भनाई छ। उनका अनुसार बिहिबारसम्ममा नगरपालिकाभित्र पाँच सय ६१ जनामा संक्रमण देखिएको छ। होम आइसोलेसनमा शुक्रबारसम्ममा एक सय ६५ जना रहेका छन्‌।

उनले भनिन, ‘हामीसँग तीन सय भन्दा बढीको आइसोलेसन कक्षा छ। अझै ५० बेड भन्दा बढी खाली नै छ। आवश्यकता भएमा केन्द्र र प्रदेश सरकारको समन्वयमा थप्दै जाने छौं।’ 

शङ्खरापुर नगरपालिका 

इमेल,चिट्ठी जस्ता सूचनाका आधारमा ट्रेसिङ गरिरहेको शङ्खरापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक विष्णु प्रसाद चापागाईं बताउँछन्। ‘हाम्रो नगरपालिका अहिले सम्म खासै धेरै संक्रमित भेटिएका छैनन,’ उनले भने, ‘हामीले फोकल पर्सन टीम बनाएका छौं। यदी संक्रमित भेटिएमा संक्रमित व्यक्तिको चिठ्ठी, इमेल, फोन सम्पर्कबाट कन्ट्याक्ट ट्रेसिङ गर्छौं। व्यवस्थित ढंगले कोरोना रोकथाम गरिरहेका छौं।’

उनका अनुसार अहिलेसम्म नगरपालिकामा ४८ जना कोरोना संक्रमित भेटिएका छन्। जसमध्ये ३० जना डिस्चार्ज भैसकेका छन्। होम आइसोलेसनमा सात जना रहेका छन भने अस्पतालमा नौ जना उपचाररत छन्‌। उनले भने, ‘तीन वटा अस्पतालमा ३९ वटा आइसोलेसन बेड छन्‌, सबै खाली नै छन्।’ 

कागेश्वरी मनोहरा नगरपालिका

कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा भन्छन, ‘लकडाउन र निषेधाज्ञा नभएका कारण पछिल्लो समय नगरपालिकाभित्र कोरोना संक्रमित संख्या बढ्दै गएको छ। समुदायमै कोरोना संक्रमण फैलिएपछि हामी नियमित रोकथामका लागि ट्रेसिङ गरिरहेका छौं।’

उनका अनुसार हप्ताको सोमबार र मंगलबार कोरोनाको चेकअप गर्ने गरिएको छ। तर, पनि सर्वसाधारणले गरेको भीडभाडका कारण संक्रमण बढिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.