|

हेटौंडा : पोष्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी कुलेखानी) आयोजनाको कार्यालय उद्घाटन भएको छ। बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत रहने गरी शुक्रबार प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयालले उद्घाटन गरेका हुन्।  

उद्घाटन गर्दै मन्त्री फुयाँलले बागमती प्रदेशको गौरवको आयोजना मात्रै नभई देशकै गौरवको रुपमा सुरुङ मार्गको काम बढाउने बताए। उनले नेपाल सुरुङ मार्गमा प्रवेश गरिसकेको काम बढिसकेको दाबी गरे। 

फागुनको पहिलो हप्ता टेन्डर, जेठमा सम्झौता  

आयोजनाको टेन्डर आह्वान हुने गरी काम भइरहेको आयोजना कार्यालयले जनाएको छ। कार्यालयको उद्घाटनमा सुरुङ मार्गको जानकारी दिँदै आयोजना प्रमुख नवीन कुमार सिंहले यही आर्थिक वर्षको पुसको दोस्रो हप्ता वातावरणीय प्रभाव मूल्यांकन(इआइए) सकिए फागुनको पहिलो हप्ता टेन्डर आह्वान हुने बताए।

अहिलेकै गतिमा काम गर्न सके आर्थिक वर्षको अन्तिमतिर अर्थात् जेठको तस्रो हप्ता सम्झौता हुनेसमेत उनले दाबी गरेका छन्।  कार्यालय प्रमुख सिंहका अनुसार मकवानपुरको भीमफेदी बजारबाट करिब २ किलोमिटर उत्तरपूर्वबाट ७ दशमलव ५ मिटर व्यास भएको दुई वटा सुरुङ्गमार्ग निर्माण हुनेछ।

प्रमुख सिंहले भने, ‘भीमफेदीबाट कुलेखानीसम्मको करिब १६ किलोमिटर जटिल भूबनावट, उच्च जोखिम, साँघुरो, घुमाउरो तथा अप्ठ्यारो सडकखण्डलाई ३ किलोमिटरमा घटाएर काठमाडौसँग हेटौंडा तथा तराई मधेशको दूरी अझ छोट्याउने यस आयोजनाको प्रमुख लक्ष्य छ।’

सिंहले दिएको जानकारीअनुसार आयोजनाको प्रमुख संरचनाको रुपमा दुई वटा सुरुङ्ग आपसमा ४० मिटरको फरकमा समानान्तर रुपमा साढे दुई किलोमिटर दुई लेनको सडक, ७५ मिटर र ३५ मिटर लम्बाइको दुई वटा पक्की पुल बन्ने छन्। 

बाँकी सडक खण्डमा स्तरवृद्धि 

आयोजनाअन्तर्गत नै सुरुङ भित्रबाहेक अन्य सुरुङसँग जोडिएको बागमती प्रदेशको राजधानीतर्फ संघको राजधानी तर्फको सडकको स्तर वृद्धि हुने भएको छ। जसअन्तर्गत भैंसे–भीमफेदी सडक खण्ड तथा कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक खण्ड पनि दुई लेनको बनाइने छ।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तगर्तबाट कुलेखानी–फाखेल–फर्पिङ्ग सडक सुधार एवम् स्तरोन्नति गर्ने कार्य भइरहेको मन्त्रालयका सचिव सन्जिव बरालले जानकारी दिए। 

बागमती प्रदेश सरकारले  आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमबाट प्रदेश गौरवको आयोजनाको रुपमा घोषणा गरी आयोजनाको सम्भाव्यता अध्ययन तथा निर्माणका लागि तयारी कार्य हुँदै आएको सचिव बरालले बताए।

आयोजना निर्माण गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयबाट श्रोत सुनिश्चितता पश्चात् १९ अर्ब ३२ करोड ५ लाख ७६ हजार ५ सय रुपैयाँ लागतको बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गरिसकेको छ।

सुरुङमार्गको परामर्शदाताको रुपमा काम गर्न दक्षिण कोरिया, चीन,अष्ट्रेलिया, टर्कीसहित विभिन्न देशबाट १२ संस्था इच्छुक रहेका सचिव बरालले जनाए। यस्तै नेपाल सरकारले २०७७/०७८ को बजेटमा सुरुङमार्गको आयोजनालाई प्रदेश सरकारसँगको सहकार्यमा कार्यान्वयन गर्ने गरी बजेट व्यवस्था गरेको बागमती मन्त्री फुयाँलले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.