१८ वटा घटनामा एक करोड बढी लुटे

|

भक्तपुर : भक्तपुरमा विगत केही समयदेखि श्रृंखलाबद्धरुपमा डलर देखाइ लुटपाट गर्दै आएका समूह एउटै परिवारभित्रका सदस्य र प्रायः सबै एउटै स्थानका बस्ने रहेको खुल्न आएको छ।

प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान गर्नेक्रममा डलर देखाई लुटपाट गर्ने समूह काठमाण्डौं उपत्यकामा विभिन्न पेशा व्यवसाय गरी बस्ने एउटै परिवारका सदस्य र एकै स्थानमा बसोबास गर्ने छिमेकीहरु भएको खुल्न आएको हो।

प्रहरीका अनुसार जग्गा व्यवसाय, ट्रक चालक, ट्याक्सी चालक र मजदुरका रुपमा कार्यरत एउटै परिवारभित्रका सदस्यहरुले  व्यापारी, व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तिहरूलाई सस्तोमा डलर साट्ने बहानामा लोभमा पारी लुटपाट गर्दै आएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक केशवकुमार थेवेले जानकारी दिए।

लुटपाटमा संलग्न समूहले पैसा भएका व्यवसायी, व्यापारीको परिचान गरी उनीहरुको सम्पर्क नम्बर पत्ता लगाउने, फोन गरेर भेट्न बोलाउने, भेटिसकेपछि विभिन्न बहानामा आफूसँग डलर भएको र समस्यामा परेकोले सस्तो दरमा बेच्न लागेको भन्दै लोभमा पारी डलर साट्न बोलाई लुटपाट गर्ने गरेको प्रनाउ थेवेले बताए।

लुटपाटका क्रममा शुरुमा सक्कली डलर देखाउने, डलर साथमा छ भनिएको व्यक्ति एकदमै सोझो भूमिकामा देखिने, पैसा लिएपछि डलर भनिएको कागजको बिटोलाई रुमालमा राखी तत्काल खोल्न नसक्ने किसिमको गाँठो पारी दिने, घटनास्थलबाट रकम लुटेर पैदल नै जाने र केही पर पुगेपछि ट्याक्सी वा मोटरसाइकलमा फरार हुने गरेको प्रनाउ थेवेले जानकारी दिए।

एक करोड १५ लाख लुटपाट

अनुसन्धानको क्रममा यो समूहको विभिन्न १८ वटा लुटपाटका घटनामा संलग्नता देखिएको छ। ती १८ वटा घटनामा हालसम्म १ करोड १५ लाख भन्दा बढी रकम लुटिएको खुल्न आएको छ। पिडितहरु सम्पर्कमा आउने क्रम जारी रहेकाले पीडित र रकम बढ्न सक्ने प्रनाउ थेवेले बताए।

प्रहरीले डलर देखाई लुटपाट गर्ने समूहका १२ जनालाई शुक्रवार सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेका १२ जनामध्ये ५ जनालाई प्रहरीले मध्यपुर थिमि ९ बोडेबाट गत असोज ९ गते पक्राउ गरेको थियो।

तिनीहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाण्डौं गोकर्णेश्वर–१ बस्ने ३६ वर्षिय खेल बहादुर तामाङ, ३३ वर्षिय रेल बहादुर तामाङ,  सिन्धुपाल्चोक बाह्रबिसे–६ घर भई हाल भक्तपुर मध्यपुर थिमि–९ बस्ने ५६ वर्षीय श्याम बहादुर तामाङ,  २५ वर्षिय रामकृष्ण तामाङ, ३२ वर्षीया कान्छी तामाङ छन्।

त्यस्तै, सिन्धुपाल्चोक बाह्रबिसे–३ घर भई हाल भक्तपुर चारदोबाटोमा कोठा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र २१ वर्षिय निर्मल भण्डारीलाई प्रहरीले असोज १३ गते चाँगुनारायण नगरपालिका ८ रातोपाटीबाट पक्राउ गरेको हो।

यसैगरी सिन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल भक्तपुर सुडाल बस्ने २८ वर्षिय, कमल भण्डारी,  बाह्रबिसे–४ घर भई हाल भक्तपुर कालोपाटी बस्ने २७ वर्षिय राकेश भण्डारी र बाह्रबिसे–३ घर भई हाल काठमाण्डौ बालाजु बस्ने बर्ष ३९ को सन्च बहादुर योञ्जनलाई भक्तपुर कालोपाटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिक गरेका बाह्रविसे–२ घर भई हाल काठमाण्डौं जोरपाटी बस्ने ३३ वर्षीय राज कुमार तामाङलाई काठमाण्डौं जोरपाटी, बाह्रविसे–४ घर भई हाल भक्तपुर लोकन्थलीबस्ने ३१ वर्षिय धन बहादुर भण्डारीलाई असोज २० गते मध्यपुर थिमि–२ दिव्यश्वरी टाउन प्लानिङबाट पक्राउ गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक केशवकुमार थेवेले जानकारी दिए।

अनुसन्धानको क्रममा लुटिएको पैसाले खेलबहादुर तामाङले काठमाण्डौ जर्सिङपौवामा ३६ आना जग्गा खरिद गरी श्रीमतिको नाम राखेको, रेल बहादुर तामाङले बाह्रविसेमा कुखुरा फर्म र होटलमा लगानी गरेको, मोटरसाइकल खरिद गरेको खुल्न आएको छ। प्रहरीका अनुसार गत असोज २० गते दिव्यश्वरी टाउन प्लानिङबाट कमल भण्डारी लगायतकाले लुटेको ४ लाख मध्येबाट भोली पल्ट नै ३ लाख २६ हजार ९ सयमा २२० सि.सी. को पल्सर मोटरसाइकल खरिद गरेको देखिएको छ।

प्रहरीले उनीहरुको साथबाट ५ लाख ९४ हजार ४७५ रुपैंयाँ नगद, बिभिन्न कम्पनीका मोबाईल १२ थान, बा २७ प २७९९, लु. ६४ प ३४०१, बा. ४० प. ९६०१, प्र. ३–०२–०१० प. ९४३८, प्र. ३–०२–०१४ प. ०३४० नम्बरको ५ थान मोटरसाइकल, डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो – ५ बण्डलर अमेरिकन डलर ४६० बरामद गरेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.