कोभिड अस्पतालमा खचाखच संक्रमित

|

काठमाडौं : दिनदिनै कोरोना (कोभिड-१९) संक्रमित संख्या उकालो लागेपछि अप्ठ्यारो परिस्थिति आएको सरकारले जनाएको छ।

नियमित प्रेस ब्रिफिङ गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले नेपालमा अफ्ठ्यारो परिस्थिति आएको बताएका हुन्। 'डिस्चार्ज हुने दरभन्दा संक्रमित हुने बिरामी संख्या बढेको छ', उनले भने, 'यसले देशमा अप्ठ्यारो परिस्थिति निम्त्याएको छ।'

संक्रमितहरु संख्या धेरै बढेकाले अस्पताल र आइसोलेसन सेन्टरहरूमा खचाखच बिरामी भरिएको उनले बताए। 'यसले हामीलाई धेरै अप्ठ्यारो परिस्थितिमा पुर्‍याउँदैछ भन्ने आकलन गर्न सकिन्छ', उनले भने। 

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप पाँच हजार आठ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या एक लाख पाँच हजार ६८४ पुगेको छ। हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३० हजार ८१८ छ। सरकारले पछिल्लो २४ घण्टामा देशका ५८ वटा ल्याबबाट १९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गरेको छ। 

पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेहरूको संख्या १२ सय २९ छ। संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ जना रहेका छन्। डरलाग्दो तथ्य भनेको पछिल्लो केही सातायता निको हुनेको संख्या घट्दै जानु पनि हो। सोमबार पाँच हजार संक्रमित थपिँदा त्यसको चार गुणा कम अर्थात १२ सय मात्रै निको भएर डिस्चार्ज भएका छन्। 

कहाँ कति संक्रमित?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा एक हजार चार सय ७७, प्रदेश २ मा पाँच सय नौ जना, बागमती प्रदेशमा नौ हजार एक सय तीन जना, गण्डकी प्रदेशमा ६ सय २५ जना, लुम्बिनी प्रदेशमा एक हजार दुई सय ७२ जना, कर्णाली प्रदेशमा पाँच सय ५४ जना र सुदूरपश्चिम प्रदेशमा एक सय १४ जना संक्रमित छन्।

त्यस्तै, होम आइसोलेसनमा रहेका संक्रमितको संख्या १७ हजार एक सय ६४ जना रहेको छ। जसमध्ये प्रदेश १ मा दुई हजार एक सय ६४ जना, प्रदेश दुईमा पाँच सय ७९ जना, बागमती प्रदेशमा ११ हजार दुई सय ६ जना, गण्डकी प्रदेशमा पाँच सय ८० जना, लुम्बिनी प्रदेशमा एक हजार पाँच सय ८४ जना, कर्णाली प्रदेशमा चार सय ११ जना र सुदूरपश्चिम प्रदेशमा ६ सय ४० जना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.