'मैले जे गरे नि हुन्छ भन्‍ने प्रधानमन्त्रीको स्वभावले संसदको भूमिका संकटमा'

|

काठमाडौं :  ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७/३/१८ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन संवत् २०७७ असार १८ गते बिहीबारका दिन अपरान्ह ५ बजेदेखि अन्त्य गरेको छ,’ राष्ट्रपति विद्यादेवी भण्डारीले असार १८ मै संसद् भवनलाई पठाएको पत्रमा भनिएको छ। 

बजेट ल्याएसँगै अन्त्य भएको अधिवेशन अहिलेसम्म सुरु हुने कुनै छाँटकाँट छैन। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन र संवैधानिक निकायमा नियुक्तिसम्बन्धी अध्यादेश ल्याउन लागेपछि दलहरूको विरोधले रोकिएको थियो।

कोरोना महामारी नियन्त्रणबाहिर जानै लाग्दा सांसदहरूले संसद बैठक आह्वान गरिरहेका छन्। सरकारलाई थप जवाफदेही बनाउन पनि संसद् डाक्नुपर्ने तर्क सांसदहरुको छ। 

यता, संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डे भने संसद् बैठक नबसे पनि समितिको बैठकहरू निरन्तर बसेर आवश्यक कामहरु भइरहेको बताउँछन्। ‘संसद बैठक बसेको भए राम्रो त पक्कै हुने थियो,’ उनी भन्छन्, ‘कोरोनाले जोखिम र चुनौती दुवै थपिदिएको छ। समितिको बैठक सानो संख्यामा बस्दा पनि कोरोनाको जोखिम बढिरहेकै छ। संसद बैठक त यस्तो बेलामा बस्न झन जोखिम छ।’ 

कांग्रेसले बोलाउला विशेष अधिवेशन

प्रमुख प्रतिपक्ष कांग्रेसको आगामी केन्द्रीय समितिको बैठकले संसदको विशेष अधिवेशन बोलाउने निर्णय अनुमोदन गर्नेछ। यसअघि देउवा निवासमा बसेको पदाधिकारी बैठकले विशेष अधिवेशन बोलाउने निर्णय गरेको थियो।  तर, कांग्रेसलाई आफैंले मात्रै विशेष अधिवेशन माग गर्नका लागि आफ्ना सांसदहरुको संख्याले पुग्दैन।

विशेष अधिवेशन माग गर्नका लागि संसदको एकचौथाइ सदस्यहरुले राष्ट्रपतिलाई लिखित अनुरोध गर्न सक्ने व्यवस्था छ। कांग्रेसले संसदको  विशेष अधिवेशन आह्‍वानका लागि संसदका अन्य दलसँग सहयोग माग्ने तयारी गरेको छ। नेपालको संविधानको धारा ९३ (३) मा विशेष अधिवेशनमा माग गर्न सक्ने व्यवस्था उल्लेख छ।

‘राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ,’  धारा ९३ (३) मा उल्लेख छ।
कांग्रेसले संविधान संशोधनको निरन्तर माग उठाइरहने जनता समाजवादी पार्टी र राप्रपालाई विशेष अधिवेशन माग गर्न गणपूरक संख्या पुर्‍याउने गरी छलफल गर्ने तयारी गरेको छ। 

संविधानमा व्यवस्था भएअनुसार संसदको विशेष अधिवेशन बोलाउन माग गर्नका लागि प्रतिनिधिसभामा ६९ जना सांसद चाहिन्छ। अहिले कांग्रेससँग जम्मा ६३ जना सांसद छन्। कांग्रेसले अधिवेशन आह्वान गर्नका लागि संसदमा प्रतिनिधित्व गर्ने दलसँग छलफलको तयारी गरेको छ।  
‘मुलुकका जल्दाबल्दा समस्याहरू र आम नागरिकको जीवन रक्षाको लागि विशेष अधिवेशन बोलाएर त्यसमा छलफल गर्ने र सरकारले कमीकमजोरी गरेका ठाउँमा जवाफदेही बनाएर जनताको जीवन रक्षाका लागि उत्तरदायी बनाउन दबाब दिने तयारी कांग्रेसले गरेको हो’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले थाहाखबरसँग बताए ।

यता, नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री डाक्टर मीनेन्द्र रिजाल मबाहेक कोही पनि छैन र हैन भन्ने प्रधानमन्त्रीको स्वभावले संसद सुरु हुन नसकेको बताउँछन्।

‘प्रधानमन्त्रीभित्र आफू निर्वाचित भइसकेपछि अरु कसैको महत्व छैन। मैले जितेँ मैले जे गरेँ त्यही कानुन हो भन्ने मानसिकता विकास भएको छ,’ रिजालले थाहाखबरसँग भने, ‘उनी अधिनायकवादी नेता हुन्। ओलीजीलाई संविधान छ भन्ने नै लाग्दैन। संसदप्रति प्रधानमन्त्रीको कति भूमिका छ भन्ने उहाँलाई थाहै छैन। उहाँलाई के लाग्छ भने मैले चुनाव जितेँ मलाई जे मन लाग्छ त्यही गर्छु। प्रधानमन्त्रीका कारण लोकतन्त्र दुर्घटनामा पर्ने खतरा छ।’ 

उनले माथिल्लो तहका नेताहरूलाई स्वार्थको व्यवस्थापन गर्ने फुर्सद नभएको र तल्लो तहका नेताको ल्याकत नै नभएकोले देशमा समस्या उत्पन्न भइरहेको बताए।  

के भन्छन् नेकपाकै सांसद

सत्तारूढ दल नेकपाकै सांसद तथा पूर्वमन्त्री मातृका यादव प्रधानमन्त्री केपी ओलीकै कारण संसद बन्धक भएको बताउँछन्। ‘संसद चल्नुपर्ने हो तर, हाम्रो पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री जीले संसदलाई बन्धक बनाउनुभएको छ,’ यादवले थाहाखबरसँगको कुराकानीमा भने, ‘यस्तो संकटको बेला छ ठोस निर्णयहरू गर्न संसदको भूमिका महत्वपूर्ण हुन्छ। प्रधानमन्त्रीले कसैसँग सल्लाह नै नगरी संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्नुभएको हो। त्यसले अहिले कति असर पुगेको छ भन्ने हेक्का उहाँले गर्नुभएको छैन होला र त अझै संसद खुलाउने विषयमा केही बोल्नु हुँदैन।’ 

संसद् अधिवेशन बोलाउन तपाईँहरुले प्रधानमन्त्रीलाई कुनै दबाब दिनुभएको छ? भन्ने प्रश्नमा उनले भने, ‘मैले कुनै दबाब दिएको छैन। हाम्रो दवाबले केही हुनेवाला पनि छैन। प्रधानमन्त्री कसैको कुरा सुन्नेवाला नै छैनन् यसरी कहाँ हुन्छ।’

उनले प्रधानमन्त्री विधि र विचारअनुसार नचलेकोले पार्टी र संसदको भूमिका संकटमा नदेखिएको बताए। ‘प्रधानमन्त्री विधि र विचारअनुसार चल्नुपर्‍यो,’ उनले भने, ‘विधि र विचारअनुसार नचलेकै कारण अहिलेको अवस्था आएको छ। संसद चल्दा उहाँलाई के आपत् आइलाग्छ थाहा छैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.