|

काठमाडौंः साँघुरा कोठा। कोठाभित्र छरपष्ट लुगाफाटा। एक कुनामा साना–साना दुई खाट। सिमेन्टको ढलानमाथि छैन कुनै म्याट। त्यहीँ छटपटाएर बसिरहेका छन् बिरामी नरजित शाही। गोकर्णेश्वर नगरपालिका वडा २ स्थित ढोका भञ्ज्याङमा देखिएको उनको यो दृश्यले जो कोहीको मन पग्लिन्छ। उनको कम्मरमुनिको भाग चल्न छोडेपछि घरभित्रै दयनीय जीन्दगी बिताउनबाहेक ४२ वर्षीय नरजितमा अरू केही विकल्प छैन अहिले।   

बाजुराको जगन्नाथ गाउँपालिका- ५ का नरजित चिनजानका व्यक्तिले काठमाडौंमै काम मिलाईदिने भनेपछि डेढ वर्षअघि सहर छिरेका थिए। गाइफर्ममा काम पाएकाले खाना बसेर पनि मासिक १५ हजार कमाउँथे। त्यही कमाइले जसोतसो परिवार धानिरहेका थिए। तर, उनमा सोच्दै नसोचेको बज्रपात पर्‍यो। पुरानो घर भएकाले गत वैशाखमा उनको घर भत्कियो।

घरभत्केपछि गाउँमा भएका परिवार विचल्लीमा परे। उनी गत वैशाखमा गाउँ गए। गाउँमा केही बस्ने आधार नभएपछि वैशाख २५ गते सबै परिवारसहित काठमाडौं आएसँगै बिरामी पर्दै गए। उनी भन्छन्,‘म गाउँ जाँदा नै थोरैथोरै ढाड र कम्मर दुखिरहेको थियो। काठमाडौं आएपछि उपचारका लागि अस्पताल चहार्दा चहार्दै वैशाख अन्तिमबाट कम्मरमुनिको भाग चल्नै छोड्यो।’ 

घर त भत्कियो भत्कियो  घरको मूलखम्बा मानिने नरजितको शरीर नै भत्किँदै गयो। रोगले झनै च्याप्दै गएपछि गाईको दूध दुहुन नसक्ने भए उनी। काम नसकेपछि गाईफार्मका सञ्चालकले उनलाई कामबाट निकाले। त्यसपछि झनै उनको जीवनमा पहाड आइलाग्यो। मानौँ अब उनले कहिलै पहाड फोड्न नसक्ने भए।

गाईफार्मबाट बस्नकै लागि टहरामा ओत लाग्न बाध्य भए उनी। ‘सबै परिवार विचल्लीमा परेपछि केही सहयोगीहरूले कोठा खोजिदिएर अहिले सबै मेरो परिवार यहाँ बस्दै आएका छौँ,’कोठाका दृश्य देखाउँदै उनी भन्छन्,‘यी हेर्नुस् चामल पनि सकिन लागेको छ। ग्यास पनि धेरै छैन। सहयोगीले यहाँसम्म त ल्याए अब कसरी आफू परिवार बचाउने थाहा छैन।’ 

नरजितको कम्मरमुनिको भाग चल्न नसकेपछि  उनी उपचारका लागि धेरै अस्पतालमा धाइसकेका छन। तर, अहिलेसम्म ठिक हुन सकेको छैन। ‘वीर अस्पतालमा १४ हजार खर्च गरेर एक्सरेलगायत सबै गर्दा डाक्टरले नशा च्यापिएको छ भन्नुभएको छ,’निराश हुँदै भन्छन्,‘अपरेसनको लागि खर्च दुई लाख लाग्ने भनेको छ। यति धेरै पैसा कहाँबाट ल्याउनु? यहाँ दुई रुपैयाँको कमाई छैन।’

उनका अनुसार डाक्टरले साउन महिनामै अपरेसन गर्नुपर्ने बताएका थिए। तर, अहिलेसम्म खर्चकै अभावले उपचार हुन सकेको छैन। उनको परिवार अहिलेसम्म समाजसेवीको भरमा छ। सहयोग गर्दै आएकी परोपकार समाजका कोषाध्यक्ष निरा केसी भन्छिन्,‘मैले सक्ने जति सहयोग गरिसकेकी छु। हामी पनि सहयोगी दाताले राहतहरू दिए त सहयोग गर्ने हो। कसैले दिएमा हामी खाद्यान्नहरू उपलब्ध गराउने छौँ।’ 

‘अब हाम्रो जिन्दगी यस्तै रहेछ’ 

अभाग्गी खप्पर जहाँ गए पनि ठक्करै ठक्कर भने जस्तै नरजितको काम खोसिएसँगै उनकी श्रीमती धौलादेवी शाहीको पनि काम खोसियो। उनी त्यही नजिकै तरकारी फार्ममा गरिहेका थिए। तर, दमको बिरामी भएकाले काम गर्न नसक्ने भन्दै फर्म सञ्चालकले उनलाई पनि कामबाट निकालिदियो। धौलीदेवी दमको औषधी तान्दै भन्छिन्,‘जसलाई समस्या पर्छ। उसैलाई सबैले हेप्दा रहेछन्। भाग्यले पनि उसैलाई ठग्दा रहेछ। अब बूढाबूढीको हाम्रो जिन्दगी यस्तै रहेछ।’

उपचारमा भन्दा पनि पहिलो समस्या पेट भर्नमै समस्या छ। दोस्रो कोठा भाडालाई लिन्छन् उनीहरू। भन्छिन्,‘रासन पानी किन्ने पैसा छैन। लुगाफाटा पनि अरूले दिएको लगाउँदै आएका छौँ। दशैँमा छोराछोरी नयाँ लुगा लगाउने भन्छन्, खै कसरी किन्ने? सहयोगको लागि ९८४६६६०४४३ मा फोन गरेर सहयोग गरिदिए हामीलाई सहजता मिल्ने थियो।’

नरजितको उपचारका लागि सहयोगीहरूले ‘नरजित शाही बचाउँ अभियान’ पनि चलाएका छन्। अभियानका अध्यक्ष मनोज ठकुरीले कोभिड–१९ का कारण अहिले सहयोग अभियान पनि रोकिएको बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.