|

बारा : फर्जी कागजपत्र प्रयोग गर्दै सिमरास्थित मसानघाटको ६ बिघा ८ कठ्ठा जग्गा किर्ते गर्ने र गराउने दुवैलाई तत्काल कारबाही गर्न पीडितहरूले माग गरेका छन्। 

काठमाडौं धर्मस्थली स्थायी ठेगाना भएका रामचन्द्र गौतमले २०४७ साल साउन ३० गते फदहवा गुठीको माध्यमबाट फर्जी कागजपत्र प्रयोग गरी आफ्नो नाममा मसानघाटको किर्ते पुर्जा बनाएका थिए।

फर्जी कागज बनाएर व्यक्तिको नाममा पुगेको मसानघाटको जग्गा सरकारी बन्यो

सिमरा मालपोतले स्थानीय प्रशासनको निर्देशन, वडा कार्यालयको सरजमिन मुचुल्का, मालपोत ऐन २०३४ र देवानी संहिता २०७४ दफा ३०५ को उपदफा १ र २ का आधारमा शुक्रबार सो जग्गा सरकारको नाममा दर्ता गर्ने निर्णय भएको छ।

नेपाल सरकारको नाममा दर्ता गर्ने निर्णयसँगै गौतमसँग जग्गा खरिद गरेका पीडितहरूले क्षतिपुर्तिको मागसहित गौतम, तत्कालीन मालपोत प्रमुख र जनप्रतिनिधिमाथि कारबाही माग गरेका छन्।

जितपुरसिमरा वडा नम्बर ४ की ७३ वर्षीया देवकुमारी रिमालले २०४७ साल फागुन २३ गते गौतमसँग कित्ता नम्बर ७९८ को १० कठ्ठाजग्गा खरिद गरेकी थिइन्। गौतमले किर्ते पुर्जा बनाएको ६ बिगाहा ८ कठ्ठामध्ये देवकुमारी रिमालले १० कठ्ठा किनेकी थिइन्‌ भने बाँकी सम्पूर्ण जग्गा होटल व्यवसायी तथा जग्गा कारोबारी इच्छाबहादुर वाग्लले प्लटिङ्ग गरेर बेचविखन गरेका छन्।

बारामा मसानघाटकै जग्गा कित्ताकाट गरी बेचबिखन

‘हामीले २०४७ सालमा खसी, गाई बाख्रा बेचेको पैसाले १५ जनाको परिवारलाई भात खान रामचन्द्र गौतमसँग खेत किन्यौं, त्यतिबेला ५० हजार रुपैयाँ तिरेपनि गौतमले कम जग्गा दिएर हामीलाई असाध्यै दु:ख दियो, अड्डा अदालत धाउनुपर्‍यो,’ रिमालले भनिन्, ‘आज ३० वर्षपछि सो जग्गा मसानघाटमा पर्ने थाहा भयो, हामीमाथि ठूलो धोका भयो, सरकारले हामीलाई न्याय दिनुपर्‍यो।’

२०५१ सालका बाढी पीडित ​रिमाल परिवारले गौतमसँग किनेको १० कठ्ठा जग्गामा खेती गर्दै १५ जना परिवारको पेट पाल्दै आएका थिए। शुक्रबार सो जग्गा पुनः मसानघाट नै रहने र कित्ता नम्बर ५९ बाट कित्ताकाट भएका अन्य दर्जनौं कित्ताहरू स्वत: बदर हुने निर्णय भएपछि मात्रै रिमाल परिवारलाई आफू ठगिएको जानकारी दिइन्‌।

​आफूले विश्‍वासका आधारमा गौतमसँग किनेको जग्गा सार्वजनिक गर्ने घोषणा भएपछि रिमाल परिवारले जग्गा किर्ते गर्ने गौतम, कर्मचारी र जग्गा दर्ता प्रक्रियामा संलग्न तत्कालिन स्थानीय जनप्रतिनिधिलाई तत्काल कारबाही गरेर आफूहरूलाई क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन्।

‘हामी त्यही खेतको धान खाएर बाँचेका छौं, मसानघाटको जग्गा थियो भने हामीसँग सरकारी दस्तुर के आधारमा लिइयो?’ उनले प्रश्न गर्दै भनिन्, ‘किर्ते गर्ने र गराउने कहाँ छन् ? सरकारले तत्काल खोजी र कारबाही गनुपर्‍यो’।

रिमाल जस्तै होटल व्यवसायी इच्छाबहादुर वाग्लेसँग विश्वासका आधारमा कागजपत्र अध्ययन नगरी मसानघाटको जग्गा खरिद गरेका दर्जनौं व्यक्ति अहिले पीडित भएका छन्। जसमध्ये विरगञ्ज महानगर मेयर बिजय सरावगी, उद्योगी अशोक वैद्यका छोरा हेमन्त वैद्यसहित करिडोरका केही व्यवसायी तथा सर्वसाधारण समेत ठगिएका छन्।

वाग्लेले मसानघाटको प्लटिङ गरी बेचबिखन गर्न सिभिल बैंक काठमाडौंबाट १५ करोड रुपैयाँ निकालेका थिए भने एभरग्रिन तराई अस्पतालले सिद्धार्थ बैंक सिमरा शाखाबाट डेढ करोड रुपैयाँ रकम निकालेको भेटिएको छ। अन्य बैंकले पनि करोडौं रुपैयाँ लगानी गरेको हुनसक्ने अनुमान छ।

मसानघाटको सो जग्गाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात महिनादेखि अनुसन्धान गरिरहेको छ। सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले पनि आफ्नो प्रतिवेदन प्रधानमन्त्री कार्यालयलाई बुझाइसकेको छ। 

गौतम २०३४ सालमा सडक कार्यालय पथलैया र २०४७ सालमा जिल्ला वन कार्यालय बारामा कर्मचारीका रुपमा कार्यरत थिए। काठमाडौं धर्मस्थली स्थायी ठेगाना भएका गौतमले २०२१ सालदेखि बाराको मसानघाटको जग्गा भोगचलन गरेको दावी गरेका छन्। तर उनको नागरिकतालाई आधार मान्दा २०२१ सालमा गौतम १४ वर्षको नाबालक थिए। काठमाडौंकै एक विद्यालयमा अध्ययनरत १४ वर्षका नाबालकले २०२१ सालदेखि बाराको मसानघाट भोगचलन गरेका भन्ने पुष्टि कुनै कागजपत्रले नगरेपछि मालपोत कार्यालयले सो जग्गा राज्यको नाममा दर्ता गर्ने र पुन: सार्वजनिक मसानघाट नै रहने निर्णय गरेको हो। 

सरकारी कर्मचारी र जनप्रतिनिधिलाई कारबाही हुनुपर्छ : महानगर प्रमुख 

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले मसानघाटको जग्गा व्यक्तिको नाममा कायम गराउने तत्कालिन मालपोत, नापीका कर्मचारी र जनप्रतिनिधिलाई कारबाही हुनुपर्ने माग राखेका छन्।

‘यहाँ धेरै बदमासी भएको छ, जग्गा पास गर्ने सरकारी कर्मचारी र जनप्रतिनिधिलाई तत्काल कारबाही हुनुपर्छ, मुख्य अपराधी उनीहरू हुन्,’ सरावगीले भने, ‘मसानघाट भनिएको जग्गा ४/५ चरणमा बेचबिखन भइसकेको छ, कर्मचारीले के आधारमा जग्गा पास गरे, हामीले आजसम्म त्यो जग्गाको राजस्व बुझाएका छौं, राज्यले हामीसँग के आधारमा राजस्व लियो? सम्पुर्ण विषय अनुसन्धान हुनुपर्छ।’

सो जग्गा हाल कित्ताकाट गरेर तीन दर्जनभन्दा बढी नयाँ कित्ता बनाइएको छ। जग्गा किर्ते गर्ने मुख्य व्यक्तिमार्फत अधिकांश जग्गा होटल व्यवसायी वाग्लेले किनेर उनको प्रोपटी म्यानेजमेन्ट नामक संस्थाबाट दर्जनौं व्यक्तिलाई बेचविखन गरेका थिए।

नगरप्रमुख सरावगीले वाग्लेसँग २ बिगाहा २ कठ्ठा जग्गा खरिद गरेका थिए। सो जग्गा सरावगी सहित चार जनाको नाममा संयुक्त पुर्जा कायम भएको छ। ‘हामीले जोसँग जग्गा किनेका हौं, उसैसँग क्षतिपुर्ति भराउने हो, हामी अड्डा अदालत धाउन भ्याउँदैनौं र सक्दैनौं पनि,’ उनले भने।

सरावगी जस्तै वाग्लेसँग मसानघाटको जग्गा किनेका दर्जनौंले सो जग्गाको क्षतिपुर्ति माग्न थालेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.