स्थानीय सरकारको गुनासो : केन्द्र सरकारले अधिकारै दिएन

|

काठमाडौं : उपत्यकामा कोरोना संक्रमण (कोभिड-१९) महामारी तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो पटकको अपडेटअनुसार तीनै जिल्ला गरेर संक्रमित संख्या ४१ हजार ७ सय ८९ पुगिसकेको छ। कारण अस्पतालमा संक्रमितका लागि सामान्य बेडसमेत पाइन छाडेका छन्। 

मुलुकभर रहेका संक्रमितमध्ये ६० प्रतिशत काठमाडाैं उपत्यकामै छन्। जसले थप चुनौती पनि बढदै गएको छ। संघीय राजधानीमा प्रतिदिन १५ सयभन्दा बढी संक्रमित थपिँदै गएका छन्। करिब-करिब काठमाडौं उपत्यका कोरोना महामारीको 'हटस्पट' जस्तै बनेको छ।

संक्रमित संख्या न्यून रहँदा लकडाउन र निषेधाज्ञा लगाएको सरकारले उपत्यका प्रवेश गर्ने नाकामा पूरै कडाइ गरेको थियो। पिसिआर परीक्षण गरेर आउनेदेखि नाकाबाट पास नभएका सवारी साधनलाई फिर्ता पठाउने आदेश दिएको थियो।

तर पछिल्ला केही दिनयता संक्रमण दर ह्वात्तै बढ्न थालेका छन्। उपत्यकामा दुई ठूला महानगरपालिका र केन्द्र सरकारको प्रत्यक्ष उपस्थिति हुँदा पनि काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर घट्न सकेको छैन। 

उपत्यका बाहिरका जिल्लाले कोरोना नियन्त्रणमा हात पारेको सफलता केन्द्र सरकार र यहाँका स्थानीय तहले सिक्नुपर्ने देखिएको छ। तर स्थानीय सरकार भने केन्द्र सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी रणनीति भूमिका निभाउन नसक्दा काठमाडौंमा कोरोना बढेको बताइरहेका छन्। 

'उपत्यकाबाहिर गरिएका असल अभ्यास यहाँ लागू गरौ'

मुलुकभर संक्रमण दर तीव्र गतिमा फैलिरहेको छ। तर उपत्यकाबाहिरका कतिपय जिल्ला र स्थानीय तहले भने संक्रमण नियन्त्रण गर्न सफल भइरहेका सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नै बताएका छन्।

केही महिनाअघि बाँके, पर्सा र उदयपुरजस्ता हटस्पट बनेका जिल्लाले कोरोना जोखिमलाई बसमा पार्न सफल भएका उनले बताएका छन्। 

'काठमाडौंमा बसेका मानिसभन्दा अन्य जिल्लाका मानिसमा चेतनाको कमी छ,' प्रवक्ता ज्ञवालीले भने,' तर उपत्यकामा संक्रमण दर फैलनुमा केही सोच्नुपर्ने अवस्था आएको छ। केही राम्रा काम अरुले गरेको बाट पनि सिक्न सकिन्छ।'

उपत्यका बाहिरका स्थानीय तहले बाहिरबाट गएका मानिसलाई क्वारेन्टाइन र आइसोलेसनमा राखेका र काठमाडौं उपत्यकाका स्थानीय तहले भने सुरुदेखि नै क्वारेन्टाइन बनाएर बाहिरबाट आएका मानिसलाई राख्दा यस्तो समस्या आएको गुनासो गरे।

देशभरका अस्पतालमा आइसियु र भेन्टिलेटरको अभाव भएकोले आवश्यक उपकरणको व्यवस्था गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

उपत्यकामा कोरोना फैलनुमा केन्द्र सरकार बढी जिम्मेवार

काठमाडौं उपत्यकामा कोरोना तीव्र रुपमा फैलनुमा केन्द्र सरकार बढी जिम्मा रहेको मध्यपुर थिमी नगरपालिकाका प्रमुख तथा उपत्यका नगरपालिका फोरमका सचिव मदन सुन्दर श्रेष्ठ बताउँछन्। पछिल्लो समय उपत्यकामा निषेधाज्ञा खुकुलो गरेसँगै संक्रमण तीव्र रुपमा फैलिएको उनको दाबी छ।

'उपत्यकामा कोरोना नियन्त्रण गर्नको लागि केन्द्र सरकारले स्पष्ट कार्ययोजना तय गर्न नसक्दा संक्रमण फैलिरहेको उनले तर्क गरे। थोरै संख्यामा कोरोना देखिँदा स्थानीय तहलाई नियन्त्रण गर्न अधिकार नदिइएको र अहिले स्थानीय तहले नियन्त्रण गर्न नसकेको भनेर आरोप लगाउनु भनेको मुलुकभर कोरोना नियन्त्रण गर्न केन्द्र सरकार कमजोर भएको उनले बताए।

'उपत्यकाको स्थानीय तहका नगर प्रमुख सबै मिलेर पुनः निषेधाज्ञा गर्न आग्रह गरेका थियाैं,' श्रेष्ठले भने, 'निषेधाज्ञा खुकुलो बनाए पनि सार्वजनिक यातायात सञ्चालन निर्बाध गर्नु हुँदैन थियो। सामाजिक र भौतिक दूरी कतै पनि पालना गरिएको थिएन।'

स्थानीय तहमा देखिएका संक्रमितलाई व्यवस्थापन गर्न धमाधम प्रत्येक स्थानीय तहले ५० बेडभन्दा माथिको आइसोलेसन सेन्टर बनाउन थालिएको उनले जनाए। ​

'सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ'

उपत्यकामा कोरोना समुदायमा भित्रभित्र फैलिइसकेकोले अधिक मात्रामा परीक्षण दर बढाउनुपर्ने भेन्टिलेटर बैंकका सहसंस्थापक सदस्य डा. विशाल ढकाल बताउँछन्। दैनिकजसो २० हजार हाराहारीमा परीक्षण गरिनुपर्ने उनको भनाइ छ। परीक्षण गरी संक्रमितको पहिचान गरी सबैलाई आइसोलेसनमा राख्न उनले सुझाव दिए।

यहाँ सबैभन्दा बढी जनसंख्या छ। यस ठाउँमा कोरोना परीक्षण दर बढाउनुपर्छ,' डा. ढकालले भने, धेरै परीक्षण गर्दा संक्रमित भएको जानकारी भएर आइसोलेसनमा बस्छन्। अन्य मानिसलाई सार्न पाउँदैनन्।'

यो समयमा केन्द्र र स्थानीय दुवै सरकारले मिलेर कोरोना नियन्त्रणका लागि कार्ययोजना बनाउन पनि उनले सुझाव दिए। सरकारसँग आवश्यक पूर्वाधार नभए निजी क्षेत्रलाई पूर्वाधार व्यवस्थापन गर्न तथा समन्वयकारी भूमिका निर्वाह गर्न ढकालले आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.