प्रहरीविरुद्ध पीडितले जिल्ला प्रशासनमा उजुरी दिए

|

धनगढी : एक महिनामै जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतभित्र दुई जनाको मृत्यु भएको घटनाले विवादित बनेको कैलाली प्रहरीले अझै आफ्नो आचरण सुधार्न सकेको छैन। 

गत साउन २८ गते कैलाली प्रहरीको हिरासतमै रहेका धनगढी उपमहानगरपालिका–१४ फूलबारी (सी) गाउँका अमरबहादुर चन्दको मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय फूलबारीको हिरासतमा रहेका चन्द प्रहरी कार्यालयको शौचालयमा घाइते अवस्थामा भेटिएका थिए। उनको उपचारका लागि सेती अस्पताल पुगाएपछि मृत्यु भएको थियो।

यस्तै भदौ २२ गते मोबाइल चोरीको आरोपमा पक्राउ परेका धनगढी–५ का १९ वर्षीय रोशन विकको भदौ २६ गते (बिहीबार) जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत्यु भएको थियो। उनी हिरासतको थुनुवा कक्षको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए। उक्त घटना अनुसन्धान क्रममा छ र पीडित परिवारले न्यायका लागि आन्दोलन गरिरहेका छन्। 

प्रहरीको सुरक्षा निगरानी रहेका व्यक्तिको मृत्यु हुनुले विवादित बनेको कैलाली प्रहरी पुनः विवादमा तानिएको छ। दुवै घटना सेलाउन नपाउँदै कैलाली प्रहरीको अर्को कर्तुत बाहिरिएको छ। 

प्रहरी हिरासतभित्रै मरणासन्न र अंगभंग हुनेगरी कुटपिट गरेको भन्दै दुई प्रहरीविरुद्ध जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी परेको छ। धनगढी उपमहानगरपालिका–१९ का सुरेन्द्र बोहोरालाई मरणासन्न हुने गरी कुटपिट गरेको भन्दै पीडित परिवारले प्रहरीविरुद्ध प्रशासनमा उजुरी दिएका हुन्। 

सीमा प्रहरी चौकी बहुलियाका प्रहरी प्रमुख गोपाल कार्की र प्रहरी हवल्दार डम्मर अधिकारीले स्थानीय रुद्रप्रसाद रानाभाट र सीता ओझाको संलग्नतामा बोहरालाई मरणासन्न हुने गरी कुटपिट गरिएको पीडित परिवारको आरोप छ।  

‘मेरो छोरा भर्खरै भारतबाट मजदुरी गरेर घर फर्किएको थियो,' पीडित बोहराकी आमा जमुनादेवीले भनिन्, 'बुहारी एक वर्षदेखि नातिनी लिएर माइतमै बस्थिन्, भारतबाट फर्किएको छोरो नातिनी भेट्न जाँदा माइती पक्षले प्रहरी लगाएर मरणासन्न हुने गरी कुटपिट गरे।’ 

उनले आँसु झार्दै भनिन्, ‘उल्टै गल्ती नै नगरेको छोरालाई रातभर चौकीमा राखेर कुटेछन्, त्यसपछि हतकडी लगाएर जिप्रका ल्याए, यहाँ पनि अंगभंग हुनेगरी कुटपिट गरेपछि अहिले छोरा हिरासतबाट बाहिर आउनै नसक्ने अवस्था छ।’

पारिवारिक स्थिति कमजोर भएकै कारण छोराले स्कुल छोडेर भारतमा मजदुरी गर्न गएपछि बुहारी माइत बस्न थालेकी र अहिले छोरा आफ्नी छोरी भेट्न् जाँदा स्थानीय र प्रहरी मिलेर मरणाशन्न हुनेगरी कुटपिट गरेको उनको आरोप छ।  

प्रहरीविरुद्ध उजुरी

सीमा प्रहरी चौकी बहुलियाका प्रहरी प्रमुख गोपाल कार्की, प्रहरी हवल्दार डम्मर अधिकारी, स्थानीय रुद्रप्रसाद रानाभाट र सीता ओझाविरुद्ध पीडित परिवारले सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छन्। 

कुटपिट गरिएका सुरेन्द्र अहिले पनि प्रहरी हिरासतमै छन्। उनलाई प्रहरीले झुटो मुद्दा लगाएर फसाउन खोजेको पीडित परिवारको आरोप छ। यस विषयमा बुझ्न कैलाली प्रहरी प्रवक्ता डिएसपी प्रतीक विष्ट सम्पर्कमै आउन चाहेनन्। सोमबार बिहानैदेखि उनको फोन उठेको छैन।

डिएसपी बिष्टलाई कार्यालयमै भेट्न जाँदा पत्रकारलाई सुरक्षाकर्मीले एक घण्टा गेटमा कुर्न लगाएका थिए। त्यसपछि पनि न डिएसपी फोन सम्पर्कमा आए, न भेट्न भित्र प्रवेश गर्ने अनुमति नै दिइयो। 

 

 


 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.