|

लमजुङ : भारतीय सेनाबाट सेवा निवृत्त बेसीशहरका खेमजंग गुरुङले आफ्नै घरको कौसीमा बट्टाई चराको व्यावसायिक पालन शुरु गरेका छन्। कोरोना भाइरस संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनको समयलाई सदुपयोग गर्दै उनले व्यावसायिक बट्टाईपालन थालेका हुन्।

गुरुङले बेसीशहर नगरपालिका–७ शान्ति टोलमा रहेको आफ्नै घरमा व्यावसायिक बट्टाई पालन गरेका छन्। पछिल्लो समय बट्टाई चराको माग बढ्दै गएको बजार अवस्थालाई ध्यानमा राखी व्यावसायिक पालन गर्न थालेको गुरुङले बताउँछन्।

गुरुङले कौसीमा ७०० वटा बट्टाई अट्ने गरी खोर बनाएका छन्। पहिलो चरणमा २०० चल्ला राखेर व्यवसाय शुरु गरेका गुरुङले विस्तारै बढाउँदै लाने  बताए। शुरुमै करिव ५० लाख रुपैयाँभन्दा बढी लगानी गरेका गुरुङले काठमाडौं र पोखराबाट चल्ला खरिद गरेको बताए।

अहिले चल्ला ठूलो भई अण्डा उत्पादन गर्न थालेको र बिक्री वितरण समेत शुरु गरेको गुरुङले बताए। दैनिक एक हजार वटा अण्डा उत्पादन हुने र अण्डासँगै माउ पनि बिक्री गर्न थालेको गुरुङले बताए। अहिले बट्टाईको अण्डा प्रतिगोटाको १० रुपैयाँदेखि १५ रुपैयाँ र एक जोडी माउको ५०० रुपैयाँ भाउ रहेको छ। वट्टाईको अण्डा तथा मासु स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले पछिल्लो समय यसको माग पनि बढेको छ। बजार मागअनुसार अझै उत्पादन गर्न नसकेको गुरुङको भनाइ छ।

छोटो समयमै उत्पादन लिन सकिने भएकाले पनि पछिल्ला दिनहरुमा बट्टाईको व्यावसायिक पालनतर्फ किसानहरु आकर्षित भएका छन्। सामान्यतय बट्टाईले ४० दिनदेखि ४४ दिनभित्र अण्डा दिने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.