स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्‍नती गरिने

|
मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र ।

बैतडी : संघीय  सरकारको सहयोगमा बैतडीका नौ वटा स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाइने भएको छ। साथै, ६ वटा स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गरिँदैछ।  

कोरोना भाइरसको बढ्दो जोखिमलाई ध्यानमा राख्दै अस्थायी कोभिड अस्पताल निर्माण गर्न लागिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्‌।  

सरकारले अस्पताल नभएका स्थानीय तहहरूमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि बजेट पठाइसकेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। जिल्लाका नौ स्थानीय तहमा पाँच शय्याको अस्थायी कोभिड अस्पताल निर्माण गरिने भएको उनले बताए। 

स्थानीय तहहरूमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि १० लाख रुपैयाँका दरले बजेट पठाइएको छ। बैतडीमा दशरथचन्द नगरपालिका बाहेकका सबै स्थानीय तहमा पाँच शय्याका अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ।

‘कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्थानीय नागरिकलाई सजिलो होस्‌ भनेर अस्थायी कोभिड अस्पताल बनाउन लागिएको हो, स्थानीय तहहरूले यी अस्पतालको व्यवस्थापन गर्नेछन्, ’स्वास्थ्य प्रमुख भट्टले भने, 'तीन महिनाका लागि मात्रै अस्थायी कोभिड अस्पताल सञ्चालनमा आउने भएका हुन्।' 

कोरोना महामारी जोखिम बढ्दै गएकाले संक्रमितको उपचारका लागि अस्थायी कोभिड अस्पताल निर्माणको अवधारणा ल्याइएको हो। जिल्लाको दोगडाकेदार गाउँपालिका, पुर्चौंडी नगरपालिका र सिगास गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति समेत माग गरिसकेका छन्।

ती अस्पतालमा एकजना चिकित्सक, दुई जना स्टाफ नर्स र एक जना कार्यालयको सहयोगीको तीन महिनाका लागि दरबन्दी रहेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए। १० लाख रुपैयाँ बजेटमध्ये स्थानीय तहहरूले पाँच लाख रुपैयाँमा शय्या लगायतका सामग्री खरीदमा खर्च गर्नुपर्नेछ। ५० हजार रुपैयाँ बराबरको औषधि खरीद गर्नुपर्नेछ।

यस्तै, चार लाख ५० हजार रुपैयाँ जनशक्ति जनशक्ति परिचालनमा खर्च गर्नुपर्नेछ। स्थानीय तहमै भएका स्वास्थ्य संस्थाहरूमा यी अस्पतालहरू सञ्चालन गर्नुपर्ने बताइएको छ।

जिल्लाको पाटन नगरपालिकाले पनि केही दिनभित्रै जनशक्ति माग गर्ने तयारी गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। केही स्थानीय तहहरूले भने अझै पनि अस्पताल सञ्चालनको तयारी गर्न सकेका छैनन्। कोरोना भाइरसका जटिल बिरामीहरूलाई अस्थायी कोभिड अस्पतालमा उपचार गरिने बताइएको छ।

बैतडीमा हालसम्म ४३५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये २८ जना सक्रिय संक्रमित रहेका छन् भने एक जनाको मृत्यु भइसकेको छ। 

६ वटा स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नती

बैतडीका ६ वटा स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गरिने भएको छ। संघीय सरकारले जिल्लाका ६ ओटा स्वास्थ्य चौकीलाई १५ शय्या र १० शय्याको अस्पतालमा स्तरोन्नती गर्नका लागि बजेट विनियोजन गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

पुचौंडी नगरपालिका वडा नं ३ स्थित न्वाउदेउ स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नती गरिने भएको छ। यसका लागि संघीय सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेर पुर्चौंडी नगरपालिकाको खातामा पठाएको छ।

यस्तै सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्य चौकी, डिलाशैनी गाउँपालिकाको डिलाशैनी स्वास्थ्य चौकी, दोगडाकेदार गाउँपालिकाको सित्तड स्वास्थ्य चौकी, शिवनाथ गाउँपालिकाको सुल्लेखान स्वास्थ्य चौकी र पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्य चौकीलाई १० शय्याको अस्पतालमा स्तरोन्नती गरिने भएको छ। यसका लागि सम्बन्धित स्थानीय तहमा ८५ लाख रुपैयाँका दरले बजेट पठाइएको जनाइएको छ।

स्थानीय स्तरमै स्वास्थ्य सेवा प्रवाह सहज बनाउन स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य चौकीहरूलाई अस्पतालमा स्तरोन्नती गर्ने कार्य यसै वर्षबाट शुरु हुने जनाइएको छ।

सम्बन्धित स्थानीय तहहरूले स्वास्थ्य चौकीहरूलाई अस्पतालमा स्तरोन्नती गर्ने कार्य अगाडि बढाउनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.