संक्रमितले परीक्षा दिन नपाउने, केन्द्र दोब्बर

|
फाइल फोटो

काठमाडौं : कोभिड–१९ महामारीका कारण चैतदेखि विद्यालय, विश्वविद्यालय, लोकसेवा आयोग लगायतका परीक्षाका कार्यक्रम स्थगित भएका छन्। लामो समयको बन्दाबन्दीपछि सरकारले असोज २१ गते लकडाउनमा रोकिएका सबै परीक्षा सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको थियो।

परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरेर २५ जनाभन्दा परीक्षा हलमा कम हुनुपर्ने छ। सरकारले परिक्षा सञ्चालन गर्ने सैद्धान्तिक स्वीकृति दिएसँगै सम्बन्धित निकायहरुले परीक्षा मिति धमाधम तोकेका छन्‌। तर, अहिले पनि कोरोना जोखिम कायमै छ।

यस्तो बेलामा परीक्षा सञ्चालन गर्नु चुनौतीपूर्ण नै देखिन्छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले लकडाउनमा रोकिएका सबै परीक्षा मंसिर पहिलो, दोस्रो र तेस्रो हप्ताबाट सञ्चालन गर्ने गरी सूचना जारी गरेको छ।

स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै परीक्षा लिइने

त्रिविका रजिस्ट्रार पेशल दाहालले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुने बताए। उनले भने, ‘अहिले सबैखाले सवारी साधन सञ्चालनमा छन्। त्यसैले गाउँमा भएका सबै विद्यार्थी परीक्षा केन्द्र र कलेजमा जान सक्छन्। त्यसैले मंसिरबाट विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ।’

उनका अनुसार परीक्षामा भौतिक दूरी कायम गराइने छ। मास्क र सेनिटाइजर अनिवार्य लगाउनुपर्ने छ। पहिलेभन्दा दोब्बर परीक्षा केन्द्र  केन्द्र तोकिने छन्। ‘सबै खालका यातायात सञ्चालनमा आएकाले विद्यार्थीलाई समस्या नहोला भन्ने हामीले सोचेका छौँ,’ उनले भने, ‘परीक्षार्थीमा परीक्षा केन्द्रसम्म जानै नसक्नेजस्ता समस्या आइपरे त्यही अनुसार हामी व्यवस्थापन गर्छाैं’

लोकसेवा आयोगले पनि लकडाउनमा रोकिएका परीक्षा कात्तिकदेखि लिने निर्णय गरेको छ। आयोगका अनुसार प्राविधिक, अप्राविधिक लगायत सहसचिव तहको बाहेक सबै परीक्षा लकडाउनका कारण हाल स्थगित छ। 

एउटा कक्षामा २५ जनामात्रै राखेर परीक्षा सञ्चालन हुन्छ : आयोग

सरकारले जारी गरेको  स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरेर परीक्षा सञ्चालन गर्ने लोकसेवा आयोगका प्रवक्ता गीता कुमारी होमेगाईले बताइन्। ‘लामो समयदेखिको लकडाउनले परीक्षा रोकिँदा धेरै परीक्षार्थी चिन्तित र अन्योलग्रस्त भए,’ उनले भनिन्, ‘सरकारले पनि परीक्षा सञ्चालन गर्ने स्वीकृति दिइसकेकोले कात्तिकबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेका छौँ। हामीले परीक्षासम्बन्धी मापदण्ड बनाएका छौँ।’

उनका अनुसार मापदण्डमा एउटा परीक्षा केन्द्रमा एक सय जना परीक्षार्थी हुनेछन्। एक कोठामा २५ जनामात्रै परीक्षार्थी राखिनेछ। कोरोना संक्रमित भएका व्यक्तिले भने परीक्षा दिन नपाउने निर्णय गरेको उनले बताइन्। 

उनले भनिन्, ‘कोरोना लागेका व्यक्ति आइसोलेसनमा बस्नुपर्छ। त्यसैले उसले परीक्षा दिन पाउने छैन। पछि ठीक भएपछि पनि परीक्षा दिन पाउँदैन।’ राष्ट्रिय परीक्षा बोर्डले पनि अवस्था सामान्य बन्दै गएमा कक्षा १२ को परीक्षा ​छठ लगत्तै सञ्चालन गर्ने तयारी थालेको छ। 

‘स्वास्थ्य मापदण्ड अपनाइन्छ’

सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर कक्षा १२ को परीक्षा सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल बताउँछन्। ​

उनले भने, ‘सरकारले परीक्षा सञ्चालन गर्ने बाटो खुलाएको छ। तर कुन मोडल अपनाएर परीक्षा सञ्चालन गर्ने भन्नेबारे शिक्षा मन्त्रालयले केही भनेको छैन। मन्त्रालयले मोडलबारे स्वीकृति दिए छठ लगत्तै परीक्षा हुन सक्छ, आधिकारिक निर्णय भने अहिलेसम्म भएको छैन।’ 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले पनि सरकारले तोकेको भौतिक दूरी र स्वास्थ्यसम्बन्धी स'रक्षा मापदण्ड पालना गर्दै आगामी कात्तिक तेस्रो साताबाट लकडाउनले रोकेको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

परीक्षा सञ्चालन गर्दा कोरोना फैलिन्छ? 

अहिले परीक्षासम्बन्धी समय, तालिका सार्वजनिक हुँदै गर्दा परीक्षा सञ्चालन भएमा कोरोना संक्रमण फैलिन्छ भन्दै सर्वसाधारण र सरोकारवाला पदाधिकारीले चिन्ता व्यक्त गर्न थालेका छन्। सामाजिक सञ्जालमा परीक्षा सञ्चालनलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्। 

विद्यालय र परीक्षा सञ्चालन गर्दा कत्तिको कोरोना संक्रमण फैलिन्छ भन्ने जिज्ञासामा सरुवा रोगका विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्,‘विद्यालय, शैक्षिक संस्थाले सबै स्वास्थ्य मापदण्ड पूरा गरेर पठनपाठन र परीक्षा सञ्चालन गरे त्यति संक्रमण फैलिँदैन। यसलाई बेवास्ता गरियो भने स्थिति भयावह हुनेछ।’

पुनका अनुसार अनिवार्य सामाजिक दूरी कायम गर्नुपर्छ। सेनिटाइजर प्रयोग, साबुनपानीले हात धुने, ज्वरो चेकजाँच, मास्क प्रयोग, फेससिल जस्ता विधि अपनाए संक्रमण फैलिन सम्भावना निकै कम हुन्छ। सकेसम्म परीक्षा दिने विद्यार्थीको पिसिआर परीक्षण पनि गरिनुपर्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.