|

काठमाडौं : लामो समयको अलमलबीच सरकारले अन्तत: कात्तिक ७ गतेदेखि नेपालमा विदेशी टेलिभिजन च्यानल बिना विज्ञापन बज्ने भएका छन्। सरकारले कात्तिक ७ गतेदेखि नेपालमा बिना विज्ञापनका विदेशी टेलिभिजन च्यानललाई मात्रै प्रसारण अनुमति दिने निर्णय लिएको हो। 

कात्तिक ७ गतेदेखि क्लिन फिड नीति लागू गर्ने निर्णय गर्दै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा बज्ने विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रसारण गरिए बन्द नै गर्ने जनाएको हो। 

नेपालमा विज्ञापनरहित विदेशी च्यानल बजाउन यसअघि नै संसदीय समितिले नै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकेको थियो।  मन्त्रालयले जारी गरेको सूचनामा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार  कात्तिक ७ गतेदेखि क्लिन-फिड लागू हुने उल्लेख गरिएको छ। 

तत्कालीन सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले क्लिन फिड लागू गर्ने कोसिस गरेका थिए। तर उनी प्रिन्टिङ प्रेसको कमिसन प्रकरणमा मुछिएपछि बाँस्कोटा बाहिरिएसँगै क्लिन फिड लागु गर्ने योजना अलपत्र परेको थियो।

करिब एक वर्षको तानातानपछि मन्त्रालयले सूचना निकालेर अब क्लिन फिड लागु गर्ने मिति पर सार्न नसकिने जनाएको छ। ऐनले तयारीका लागि भन्दै एक वर्ष समय दिइसकेकाले अब समय थप गर्न नसकिने जानकारी मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गोकर्णमणि दवाडीले जानकारी दिएका छन्। 

नेपालमा क्लिन फिड लागू नगराउन विशेष गरी भारतीय व्यवसायीहरुले दबाब दिँदै आएका थिए। नेपालमा सबैभन्दा धेरै भारतीय टेलिभिजनमा त्यहाँका विज्ञापन बज्छन्। नेपाली उपभोक्तासमेत भारतीय सामानका उपभोक्ता हुन्। यस्तोमा भारतीय टेलिभिजनले नेपालमा पनि विज्ञापन बजाएर सित्तैमा फाइदा लिइरहेका थिए।

सरकारले क्लिन-फिड लागू गर्ने तयारी गरेपछि भारतीय प्रसारक मञ्‍च, टेलिभिजन नेटवर्क र नेपालका केवल टेलिभिजन संघहरूले यसलाई अझै पर सार्न दबाब दिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.