|

दार्चुला : सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपति नरेन्द्र बम र नेपाल रेडक्रम सोसाइटी दार्चुला शाखाका सभापति गोपालसिंह महरसहित ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ।

डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा गणपति नरेन्द्र बमसहित सशस्त्र प्रहरीका १४ जना जवानलाई कोरोना पोजेटिभ देखिएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहनसिंह महरले जानकारी दिए।

त्यसैगरी, नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाका सभापति गोपालसिंह महरलाई पनि कोरोना पोजेटिभ देखिएको छ। उनीसँगै शाखाका दुई जना कर्मचारीलाई पनि कोरोना पोजेटिभ देखिएको हो।

रेडक्रस जिल्ला शाखाका मन्त्री दीपक प्रसाद अवस्थीलाई असोज २४ गते कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा रहेका व्यक्तिहरुको परीक्षण गरिएपछि सभापति र कर्मचारीमा समेत कोरोना देखिएको हो।

सरुवा भई आएका सशस्त्र प्रहरीमा कोरोना देखिएपछि ४४ नम्बर गणमा सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण गरिएको थियो।

बिहीबार सार्वजनिक गरिएको कोरोना परीक्षणको नतिजामा दुई जना कैदीमा समेत कोरोना देखिएको स्वास्थ्य शाखाका प्रमुख महरले जानकारी दिएका छन्। दीपकप्रसाद अवस्थीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने सभापति र कर्मचारीमा भने कोरोनाको लक्षण देखिएको छैन।

सशस्त्र प्रहरीको गणमा संक्रमित देखिएपछि गण नै सिल गरिएको छ। आवश्यक खाद्यान्न र गैर खाद्यान्न सामग्री आपूर्तिकर्ताले ब्यारेक गेटमा पुर्‍याउने गरी व्यवस्था मिलाइएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

बिहीबारको नतिजामा महाकाली नगरपालिका वडा नम्बर ४ का २० जना स्थानीयमा पनि कोरोना पोजेटिभ देखिएका छ।

संक्रमण देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका अन्य व्यक्तिको स्वाब परीक्षण गर्ने कार्य तिब्रताका साथ अगाडि बढाइएकोले धेरै संख्यामा कोरोना संक्रमित देखिएको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोहन महर बताउँछन्। वडा नै सिल गर्ने र अहिले संक्रमण देखिएका व्यक्तिहरुका सम्पर्कमा आएका सबैको स्वाब परीक्षण गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.