गाउँमा पिङ लगाउँदा उत्सव नै हुन्थ्यो

|

काठमाडौं : करिब १ हजार ४ सय ट्राफिक प्रहरीको कमाण्ड सम्हालिरहेका भीम प्रसाद ढकालले प्रहरी सेवामा लागेयता २५ वर्षको अवधिमा दुई पटक मात्रै  जन्मघरमा दशैं मनाए। अन्य बेला समय अनुकुल हुँदा कार्यालयमा नै बुबाआमाको हातबाट टीका थापे।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख ढकालको व्यस्तताकै कारण घरले उनलाई समेत बिरानो सोच्ने बेला भइसकेको छ।  उनी आफ्नो घरलाई माइतीघरका रूपमा अर्थ्याउछँन। 'एउटी महिला उमेर पुगेपछि जसरी जन्मघर छोडेर कर्मघर जान्छिन। त्यस्तै म पनि वर्षौंअघि जन्म घर छोडेर कर्मघर (प्रहरी प्रशासन) तर्फ लागें। अहिले प्रहरी कार्यालय नै मेरो घर हो। जन्मघर मेरो माइतीघर जस्तो बनेको छ', उनी भन्छन्, 'अब कर्मघरमा पनि दशैं माइतघरको जस्तै हर्षउत्सवहित बित्ने गरेको छ।'

सुरक्षा निकायका कर्मचारीलाई कुनै चाडबाडले हत्तपत्त छुँदैन। देश र जनताको सेवामा खटिनु उनीहरुको पहिलो जिम्मेवारी हो। यो जिम्मेवारीले गर्दा उनीहरु चाडबाडमा घर जानै पाउँदैनन्। यद्यपि उनीहरुले चाडबाड नै नमनाउने भन्ने चाहिँ होइन।

ढकाल भन्छन्, 'म लगायत हामी प्रहरी प्रशासनका सदस्यहरु चाडमा घर जान नपाए पनि आफ्नै कार्यालयमा हर्षोल्लासका साथ खुसी साटासाट गरेर मनाउँछौँ।'

जतिसुकै रमाइलो गरे पनि घर त आखिर घर नै हो। घरको सम्झना पनि त आउँदो हो? 'घरको सम्झना नआउने भन्ने हुँदैन। पहिले पहिले दशैं नजिँकिदा गाउँका साथीहरुले फोन गरेर कहिले आउँछस् भन्थे। त्यो बेला चाहिँ घरको याद आउँथ्यो। अब उनीहरुले पनि हाम्रो काम बुझे, फोन पनि आउन छोड्यो', उनी भन्छन्, 'दशैं-तिहारको रौनक पनि उमेर चढ्दै जाँदा घट्दै गयो।'

युवा अवस्थामा उनी उच्चशिक्षा पढ्न भोजपुरबाट काठमाडौं छिरेका थिए। काठमाडौंबाट घर जान दशैँमा मात्रै सम्भव हुन्थ्यो। त्यतिबेला घर जान सडक बनिसकेको थिएन, एक मात्रै विकल्प जहाज थियो। युवा अवस्थामा दशैँसँगै जहाज चढ्न पाउने अवसर आउँथ्यो उनका लागि। उनी सम्झन्छन्, 'अहिले जसरी मान्छेहरु बसपार्कमा टिकटका लागि जम्मा हुन्छन्। त्यसबेला म सुनधाराको वायु सेवा निगम अगाडि दुई तीनदेखि लाइन बसेर टिकट लिन्थेँ। टिकट हात परेपछि दशैं आएको भान हुन्थ्यो।'

उनी अहिले पनि बालककालको दशैँको माहोल सम्झन्छन्। दशैँको रौनक तब सुरु हुन्थ्यो, जब एक गाउँदेखि अर्को गाउँसम्म पुग्ने बाटो सफा गर्ने र मर्मतको काम हुन्थ्यो। वर्षाले लेऊ र झार उम्रिएका घरका भित्ता रातो माटो र कमेरोले पोतिन्थ्यो। ढकालले दशैं आउँदा आफ्नो बालापनमा यस्तै साना साना कुरा हुने सुनाए।

भोजपुरको अरुण गाउँपालिका-४ का उनी बालककालमा नयाँ लुगा लगाउन पाउने लोभ देखि लिएर मीठा मीठा परिकार नै दशैँको मुख्य विशेषता हो भन्ने बुझाई थियो।

'केटाकेटीलाई बाबुआमाले टीका लगाइदिने र आशीर्वाद दिने कुराले त तान्थ्यो नै त्यो भन्दा गाउँभरका केटाकेटी जम्मा भएर कमिटी गठन गर्दै पिङ बनाउने कुराले बढी खुसी मिल्थ्यो', उनले आफ्नो बालककालको दशैं अनुभव सुनाए, 'गाउँका सबै घरमा गएर नगद नभए पिङका लागि चाहिने बाँस, बाबियो र रोटे पिङको काठ पनि लिने गरिन्थ्यो। त्योभन्दा रोचक कुरा चाहिँ कसको घरको खसी सबैभन्दा ठूलो हुन्छ भन्ने उत्सुकता धेरै हुन्थ्यो।'

उनी घरमा टीका लगाएर एकदिनको पैदल भोजपुर सदरमुकाम मामाघर पुग्थे। 'त्यो बेला हामीसँग पैसा हुँदैन थियो। मावल टीका लगाउन जान पाइयो भने आशीर्वादसँगै केही पैसा पनि पाइन्थ्यो', उनी बालककालमा आफ्नो पैसा मोहबारे ठट्टा गर्छन्, 'म बुझ्ने हुँदा दशैँमा १७ रुपैयाँ कमाएको थिएँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.