|

काठमाडौं : नयाँबानेश्वरस्थित केएमसी स्कुलका विद्यार्थी अभिभावकले शुल्कको विरोधमा आन्दोलनमा उत्रिएका छन्। कोरोना संकटमा पनि स्कुलले चर्को शुल्क असुलेको भन्दै शुक्रबार स्कुल अगाडी अभिभावकले आन्दोलन प्रदर्शन गरे।

अभिभावकहरुले शुल्कको नाममा विद्यार्थीलाई मानसिक तनाब दिने काम बन्द गर, विद्यालयले बुकको व्यापार बन्द गर,गैरकानुनी वार्षिक शुल्क खारेज गर, ट्युसन फि मा ५० प्रतिशत कायम गर लगायतका  प्ले कार्ड लिएर एक घण्टा स्कुल अगाडी विरोध प्रदर्शन गरेका थिए।

कोभिड– १९ मा चर्को शुल्क उठाउने काम तत्काल बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेको अभिभावक मिश्र देवकोटाले बताइन। ‘स्कुलले धेरै शुल्क लियो, यसलाई घटाउनुपर्छ भन्दा मानेन्,’उनले आक्रोशीत हुँदै भनिन,‘त्यसैले विरोध प्रदर्शन गर्न बाध्य भयौँ।’

उनका अनुसार वार्षिक शुल्क स्कुलले लिएको छ। त्यसलाई रोक्नुपर्ने माग अभिभावकको छ। ‘शुल्क पनि बढाएको छ,’उनले भनिन,‘पहिला ५६ सय थियो।  अहिले चार सय बढाएर निमावि तहको मासिक शुल्क ६ हजार बनाइएको छ। यो घटाउनुपर्छ।’ 

केएमसी स्कुल व्यवस्थापनले कोभिडको बेलामा पनि चर्को शुल्क उठाएकाले पटक पटक घटाउन माग गर्दा पनि स्कुलले सुनुवाई नगरेकोले आन्दोलन नै गर्न बाध्य बनाएको अर्का अभिभावक देवराज अधिकारी बताउँछन्।

अभिभावक रमेश तुफान भन्छन,‘अहिले यस्तो संकटमा परेका छौँ की अभिभावक कसरी बाच्ने भन्ने चिन्तामा छौँ। तर, यही बेला स्कुलले चर्को शुल्क उठाउने काम गर्यो। लुटको व्यापार गर्यो।’ अनलाईन पढाई पनि दक्ष जनशक्तिबाट पढाउनुपर्ने  उनको माग छ। 

‘राज्यपक्षको कमजोरीले अभिभावक आन्दोलन गर्न बाध्य भयौँ’

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले तीन वटै सरकारको कमजोरीका कारण कोरोना संक्रमणको जोखिम बीच पनि अभिभावकलाई आन्दोलन गर्न बाध्य पारेको बताउँछन्।


‘तीन वटै सरकारले अहिले सम्म वैज्ञानिक आधारमा अनलाईन शुल्क निर्धारण गर्न नसक्दा यसरी अभिभावक आन्दोलन गर्न बाध्य भएका छन,’केएमसी स्कुलमा अभिभावकले गरेको आन्दोलनलाई देखाउँदै उनले भने,‘यी हेर्नुस्। विद्यालय पक्षले पनि शुल्क उठाउँदा सरकारको अनुमति लिएर उठाउनुपर्छ। तर, आफुखुसी  स्कुलले शुल्क उठाएका छन।’

‘हाम्रो माग कुनै छैन,’उनले भने,‘मात्रै सरकारले कति शुल्क तिर्नुपर्ने भन्दिनु पर्‍यो र सरकारको स्वीकृति पछि मात्रै विद्यालयले शुल्क लिओस भन्ने हो।’ स्कुलसँग वार्ता गर्न खोज्दा चासो नदिएको उनको भनाइ छ। 

साङ्केतिक रुपमा आन्दोलन गर्दा पनि स्कुलले तत्काल माग पूरा नगरे कडा आन्दोलनमा अभिभावक उत्रने उनको चेतावनी छ।  यस अघि गोकर्णेश्वर नगरपालिका–८ मा रहेको बौद्ध इन्टरनेशनल स्कुलले पनि अभिभावकसँग बढी शुल्क लिएको भन्दै अभिभावकले आक्रोशित बनेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.