|

काठमाडौं : कोरोना संक्रमण तीव्र गतिमा फैलिएर संक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मीको अभाव हुन थालेका बेला सरकारले फेरि केही नियम परिवर्तन गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट कोभिड-१९ को उपचारमा प्रत्यक्ष खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना लक्षण वा पोजिटिभ देखिए मात्रै आइसोलेसन बस्न निर्देशन दिइएको छ।

मन्त्रालयको असोज २९ गतेको सचिवस्तरीय निर्णयले कोभिड-१९ का बिरामीहरुका उपचारमा प्रत्यक्षरुपमा संलग्‍न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको व्यवस्थापनसम्बन्धी मार्गनिर्देशन, २०७७ परिमार्जन गर्दै यस्तो निर्णय गरिएको हो।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले आजको नियमित प्रेस ब्रिफिङमा फन्टलाईनमा खटिएका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई लक्षण देखिए वा पिसिआर पोजेटिभ आएमात्र आइसोलेसनमा बस्न दिने निर्णय भएको बताएका हुन्। 

मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन ईकाइले सत्रै कोभिड-१९ अस्पतालहरुलाई पत्राचार गर्दै कोभिड बिरामीको उपचारमा खटिएकालाई लक्षण देखिए वा पोजिटिभ आएमा मात्रै क्‍वारेन्टाइन र आइसोलेसन राख्‍ने व्यवस्था गर्नुपर्ने जनाएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार असोज २० गतेसम्म देशभर ३ हजार ९५४ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएको छ। हालसम्म दुईजना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.