तर, पीसीआरभन्दा कम विश्वसनीय

|
फाइल फोटो

काठमाडौं एन्टिजेन परीक्षण पीसीआरभन्दा कम विश्वसनीय रहेपनि सरकारले नेपालमा यही विधिबाट परीक्षण अगाडि बढाउने निर्णय गरिसकेको छ।

पीसीआर परीक्षणको तुलनामा एन्टीजेन परीक्षण विधि सस्तो भएपनि सबै ठाउँमा सहजै परीक्षण गर्न भने सकिँदैन। तर सरकारले बढी भीडभाड भएको ठाउँ, वृद्धाश्रम, सुरक्षाकर्मी र कारागारमा एन्टीजेन विधिबाटै कोरोना संक्रमण भए/नभएको पत्ता लगाउन खोज्दैछ।

सरकारले तत्काल काठमाडौं शहरमा मात्र यो विधिबाट परीक्षण गर्न खोजेको छ। यो सुविधा अहिले ठूला अस्पतालमा मात्र भएको, तर बाहिरी जिल्लामा पनि संक्रमण दर तीव्र रुपमा फैलिएकाले  ग्रामीण क्षेत्रमा पनि एन्टीजेन परीक्षण गरिनुपर्ने स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन्।

'पीसीआरको विकल्प होइन'

पीसीआरको विकल्पको रुपमा यसलाई लिन नमिल्ने र पीसीआरको तुलनामा केही कम मात्रामा यसले एकीन नतिजा दिनसक्ने संक्रमण रोग विशेषज्ञ जनक कोइराला बताउँछन्। पीसीआर परीक्षण प्रविधि उपलब्ध भएको ठाउँमा २४ घण्टासम्म पर्खन सक्नेले यही विधिबाटै संक्रमण भए/नभएको परीक्षण गर्दा उपयुक्त हुने उनको सुझाव छ। 

'मुलुकभर ५७-५८ ठाउँमा पीसीआर परीक्षण भइरहेको छ, बिरामीलाई आवश्यकता परेको ठाउँमा एन्टीजेनको प्रयोग गर्न सकिन्छ,' उनले भने,' एन्टीजेन विधिबाट परीक्षण गर्दा छिटो नतिजा निस्कन्‍छ, १५-२० मिनेटमै परीक्षण नतिजा थाहा लाग्छ।'

एन्टीजेन विधिअनुसार सानो प्रविधियुक्त मेसिनबाट परीक्षण गरिन्छ। नाकबाट लिएको स्वाबबाट पनि  परीक्षण गर्न मिल्छ। रिएजेन्टमा हाली परीक्षण गरिन्छ। सानो बक्स भएकोले  जहाँसुकै लगेर पनि परीक्षण गर्न सकिने कोइरालाले जानकारी दिए। उनका अनुसार नेपालजस्तो भौगोलिक विकटता भएको ठाउँमा सहजै यसलाई लगेर प्रयोग गर्न सकिन्छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने पीसीआर जस्तो विश्वसनीय नभएकोले निश्चित गाइडलाइन बनाएर एन्टीजेन विधिबाट परीक्षण गर्न भनेको छ। बढी भीडभाड हुने ठाउँ, जेल वा वृद्ध आश्रममा रहेका मानिसहरूमा संक्रमण भए/नभएको पत्ता लगाउन यो विधि प्रभावकारी हुन्छ। त्यस्ता ठाउँमा कोरोना पुष्टि भएमा पीसीआर गर्न गाह्रो हुने भएकाले पनि सरकारले एन्टीजेन विधिबाट परीक्षण गर्न लागेको हो।

भरपर्दो स्वास्थ्य सेवा प्रवाह नहुने गरेको ठाउँमा एन्टीजेन विधिबाट परीक्षण गर्न सकिन्छ। भौगोलिक विविधता भएको नेपालजस्तो मुलुकमा यो प्रविधि उपयुक्त हुने देखिन्छ‌। तर, यो विधिमार्फत परीक्षण दायरा बढाउनेबारे सरकार अझै अस्पष्ट रहेको कोइराला बताउँछन्‌।

जुन ठाउँमा पीसीआर गर्न पाइदैन वा तुरुन्त रिजल्ट चाहिन्छ, सो ठाउँमा एन्टीजेन विधि उपयोगी हुन सक्छ। पीसीआर परीक्षण सेवा उपलब्ध भएको ठाउँमा यो सस्तो छ भन्दै एन्टीजेन प्रयोग सकेसम्म नगर्न चिकित्सकहरू सुझाउँछन्‌।

एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच सय रुपैयाँ शुल्क लाग्छ। तर, प्रयोगशालाले आफ्नो ढंगले यसको मूल्य तोकिरहेका छन्‌। सरकारले नै एक हजार रुपैयाँसम्म लिन पाउने भनेर घोषणा गरिसकेको छ। चिकित्सकहरूले भने सरकारलाई एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच सय रुपैयाँ मात्रै शुल्क लिन सुझाव दिएका छन्‌। ​

एन्टीजेन र आरडीटीमा के फरक छ?

छिटो रिजल्ट प्राप्त गर्ने माध्यम आरडिटी परीक्षण हो। नेपालमा गरिएको आरडिटी एन्टिबडी परीक्षण गरिने खालको थियो। रगत निकालेर भाइरसको विरुद्ध एन्टीबडी छ कि छैन भनेर परीक्षण गरिएको थियो। त्यसको विश्वसनीयता अझ धेरै कम रहेको थियो। यसको विश्वसनीयता ५० देखि ७० प्रतिशतसम्म मात्र  थियो।

एन्टीजेन विधिलाई पोइन्ट अफ केस भन्ने गरिएको छ। निश्चित प्रयोगशालामा नगई स्वाब परीक्षण गरिने माध्यम पनि हो। अस्पतालको सानो कुनामा बसेर वा क्लिनिकमा पनि परीक्षण गर्न सकिन्छ।

एक सातामा परीक्षण शुरू

कोरोना भाइरस शरीरमा प्रवेश गरेपछि एकप्रकारको एन्टीजेन पैदा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए। एन्टीजेन लामो समयसम्म शरीरमा रहयो भने एन्टीबडी बनाउने उनको दाबी छ।

तर, एन्टीबडी बन्न धेरै समय लाग्ने गरेको गौतम बताउँछन्। 'एन्टीजेन तुरुन्त बन्छ,' उनले भने, ' भाइरसको प्रवेश हुनासाथ यसको सक्रियता बढने गर्छ।'

स्बाव र रगतबाट एन्टीजेन परीक्षण गर्न सकिने उनको भनाइ छ। धेरै मानिसहरूको उपस्थिति भएको ठाउँमा यसको परीक्षण गरिने उनले बताए। शल्यक्रिया गरिहाल्नुपर्ने बिरामीको परीक्षण गर्नलाई यसले टेवा पुर्‍याउने उनको दाबी छ।

अस्पतालहरूले एन्टीजेन परीक्षणका लागि अनुमति पाइसकेका छन्‌। तर, सामग्री ल्याएपछि यो विधिबाट परीक्षण शुरू हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.