|

काठमाडौं : नवरात्रको पहिलो दिन आज घटस्थापना। घटस्थापनाको अवशरमा नेपालीहरुको घरघरमा दशैको जमरा राखिएको छ।

दशैको पहिलो दिन घटस्थापनाका अवशरमा हरेक नेपालीको घरघरमा जमरा राख्ने गरिन्छ। यही  अवसरमा काठमाडौंको वसन्तुरमा रहेको दशैंघरमा पनि जमरा राखिएको छ। नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै आज बिहान ११: ४६ को शुभसाइतमा जमरा राखिएको हो।

कोभिडका कारण यो वर्ष केही समस्या भए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जमरा राखिएको शार्दुल जंग गुल्मका गुल्मपति सेनानी विकाश शाक्यले बताए। विश्व नै कोभिडबाट प्रभावित भए पनि पूजालाई सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर निरन्तरता दिइएको उनले बताए।

बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाइको गोबरले लिपपोत गरिएको कोठामा वा दशैंघरमा जमरा रोप्ने गरिन्छ।

घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ।

महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ। नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.