देशभर सक्रिय संक्रमित नै ३८ हजार नाघे

|

काठमाडौं : पछिल्लो समय जनजीवन खुकुलो भएसँगै देशमा ७६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्। हिमालपारिको जिल्ला मुस्ताङमा मात्रै एकजना पनि संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

चार महिना लामो लकडाउनमा कोरोना फैलावट केही थामिए पनि त्यसयता तीव्र गतिमा फैलिँदै केही सातायता दैनिक ४ देखि ५ हजार जनामा संक्रमण पुष्टि भइरहेको छ। 

मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमका अनुसार शनिबारसम्मको विवरण अनुसार मुस्ताङबाहेक ७६ जिल्लामा सक्रिय संक्रमित रहेका छन्। पछिल्लो समय संक्रमण बढ्दै जाँदा देशका १२ वटा जिल्लामा मात्रै ५ सयभन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। 

गौतमका अनुसार सहरी क्षेत्रमा कोरोनाले भयावह रुप लिएसँगै ५ सय धेरै सक्रिय संक्रमित रहेका जिल्ला पनि बढ्न थालेका हुन्। मन्त्रालयले दिएको विवरण अनुसार मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौं, कास्की, चितवन, बाँके, दाङ, भक्तपुर र रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा धेरै छ। 

सक्रिय संक्रमित बढेसँगै आइसियुमा उपचार गराउने पनि थपिँदै गएका छन्। प्रदेश १ मा ३४ जना, प्रदेश २ मा १३ जना, बागमतीमा १५२ जना, गण्डकीमा २० जना, लुम्बिनीमा ५३ जना, कर्णाली र सुदूरपश्चिममा ९-९ जनासहित २ सय ९० जनाको आइसियुमा उपचार भइरहेको छ। 

अर्कातिर भेन्टिलेटरमा पनि संक्रमित बढ्दै गएका छन्। गम्भीर बिरामी परेकाहरुलाई भेन्टिलेटरमा राख्ने गरिन्छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ९ जना, प्रदेश २ मा  १ जना, बागमतीमा ४८ जना, गण्डकीमा ४ जना, लुम्बिनीमा १ जना र सुदूरपश्चिममा ३ जनासहित जम्मा ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

मन्त्रालयका अनुसार निको हुने दर केही सातायता विस्तारै कम हुँदै गएको छ। शनिबारको विवरण अनुसार निको हुने दर ६९.४ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय २७ पुगेको छ। 

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा कुल १५ हजार ४ सय ३८ पीसीआर परीक्षण भएको बताए। हालसम्म १२ लाख ६९ हजार ६ सय ५ पीसीआर परीक्षण भएको छ। 

आज देशभर १३ हजार २ सय ९९ जना संस्थागत आइसोलेसनमा छन् भने २५ हजार ४ सय ३८ जना होम आइसोलेसनमा रहेका छन्। देशभर क्वारेन्टाइनमा रहने व्यक्तिहरुको संख्या ४ हजार ७ सय १५ रहेको छ। नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.